काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जलविद्युत बीमा सहज बनाउने कार्य सरकारले गर्नुपर्ने औँल्याएको छ।
काठमाडौं शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत पुस १६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ स्वीकृत गर्ने निर्णयको स्वागत गर्दै इप्पानले जलविद्युत बीमा सरकारले सहज बनाउनुपर्ने धारणा सार्वजनिक गरेको हो।विद्युत उत्पादनमा सरकारले तय गरेको लक्ष्य पूरा गर्न इप्पान बीमा सहजीकरणका साथै विभिन्न १७ कार्य सरकारले गर्नुपर्ने औँल्याएको छ।
मार्गचित्र कार्यान्वयनका लागि जलविद्युत बीमालाई सहज बनाउन ट्यारिफबाट डिट्यारिफमा जानुपर्ने इप्पानको भनाइ छ। ‘डिडक्टिबल रकम र समय घटाउने र दाबी भुक्तानीलाई सहज बनाउनुपर्छ’, इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
करिब ६०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीको साझा संस्था इप्पानले ऊर्जा विकासमा सरकारले लक्ष्य निर्धारण गरेर विद्यमान अवरोधहरुको पहिचान गरी सोको निराकरणका लागि आवश्यक कानुनमा संसोधन, स्रोतको सुनिश्चितताका स्रोत पहिचान गरी ल्याइएको मार्गचित्र ऊर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक रहेकोले सोका लागि प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई विशेष धन्यवाद दिएको छ। ‘यो मार्गचित्र कार्यान्वयन भएको खण्डमा आयोजना निर्माण अवधिमा सरकारले भ्याटवापत मात्रै ३ खर्ब ७५ अर्ब, रोयल्टीबापत वार्षिक २ अर्ब ५० करोड रुपैयाँ र राजस्वबापत ८८ अर्ब रुपैयाँ प्राप्त गर्नेछ भने आयोजना निर्माणमा प्रतिवर्ष ७ लाख ५० हजारले रोजगारी पाउनेछन् र आयोजना सञ्चालन अवधिभर एक लाख ५० हजारले दीर्घकालीन रोजगारी पाउनेछन्’, विज्ञप्तिमा उल्लेख छ।
ऊर्जा उत्पादन सुरु गरेको साढे दुई दशकमा नै निजी क्षेत्रबाट मात्र हालसम्म २७ सय ४० मेगावाट बराबरका १९० आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने ४ हजार ६३ मेगावाट बराबरका १४१ आयोजना निर्माणाधीन र ४३ सय ६३ मेगावाटा बराबरका १४१ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ।
यसैगरी सर्वेक्षण कार्य सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणमा पिपिएका आवेदन दिएका १० हजार मेवाका आयोजनामध्ये पनि ८ हजार मेवाभन्दा बढी निजी क्षेत्रका रहेको विज्ञप्तिमा उल्लेख छ। ‘निर्माणका अनुमतिपत्र प्राप्तका लागि विद्युत विकास विभागमा आवेदन दिएका १० हजार ७०० छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यी सबैमा आयोजनामा निजी क्षेत्रका तर्फबाट अहिलेसम्म १३ खर्ब लगानी भइसकेको छ भने आगामी १० वर्षमा ३० खर्बभन्दा बढी लगानी गर्नुपर्नेछ । यसले नेपालमा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको उत्साहबर्द्धक ढंगले अगाडि बढिरहेको स्पष्ट छ ।’
विगतदेखि नै इप्पानले सरकारसमक्ष ऊर्जा क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानेर ऊर्जा विकासको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न, रोजगाी सिर्जना गर्न, वैदेशी मुद्रा आर्जन गर्नका लागि आगामी १० वर्ष ऊर्जा विकास दशक घोषणा गरी ऊर्जा विकासमा अवरोधक रहेका (वन, वातावरण, भूमिसम्बन्धी) कानुनहरुको निलम्बनको नेपाल सरकारसँग ऊर्जा विकास संकटकाल घोषणाका लागि पहलगर्दै आइरहेको छ। ‘वन ऐन, वातावरण ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, हिमाली राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ऐन तथा यो संग सम्बन्धित नियमावलीहरु र कार्यविधिहरु ऊर्जा मैत्री मात्र होईनन्, विकास मैत्री नै छैनन् । यिनीहरुलाई तत्काल निलम्बनको हामीले अपेक्षा गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा लगानी सम्मेलनको पूर्वार्धमा भएको संशोधन कार्यान्वयन हुन नपाउँदै सम्मानित सर्वोच्च अदालत संवैधानिक इजलासबाट अन्तरिम आदेश जारी भएर करिब १९ हजार मेगावाट क्षमताको २१७ वटा आयोजना रोकिएका छन् ।’
सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र स्वीकृत गरिसकेको सन्दर्भमा सोको सफल कार्यान्वयनका लागि तपसिलका कार्य तत्काल अघि बढाउन इप्पानले आग्रह गरेको छ।
१.विद्युत विधेयकको संसोधनः
क) विद्युत विधेयकको दाफा १९ को ठाउँमा विद्युत ऐन, २०४९ को दफा ५ को व्यवस्था कायम गर्न ।
ख) विद्युत विधेयकको दाफा २३ को ठाउँमा विद्युत ऐन, २०४९ को दफा १० को व्यवस्था कायम गर्न ।
ग) विद्युत विधेयकको दाफा ५मा निजी क्षेत्र आफैले आयोजनाको पहिचान गरेर विद्युत अनुमती पत्रको लागि आवेदन दिएका आयोजनाले प्रतिस्पर्धा गर्नुपर्ने छैन भन्ने व्यवस्था थपगर्न ।
घ) विद्युत विधेयकको दफा ६ को उपदफा १ को व्यवस्था हटाउन
ङ) विद्युत विधेयकको दफा ७ का क को ३ र ख हटाउन
च) विद्युत विधेयकको दफा ५७ मा ५०० मेगावाट भन्दा ठूला बहुउद्देशिय आयोजना भनेर उल्लेख गर्न ।
२. पीपीए खुला गर्नुपर्ने
मार्गचित्र कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण जलविद्युत आयोजनाहरुको पीपीए खुला गर्न ।
३.सरकारी जग्गा प्राप्ती र रुख कटानमा सहजीकरण
मार्गचित्र कार्यान्वयनको लागि स्वीकृत इआईए तथा आइईईमा उल्लेख भएकोको सरकारी जग्गाको उपयोग तथा सो जग्गामा रहेका रुख कटानको लागि जिल्ला वन कार्यालय वा सम्बन्धीत संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्जले लगत कायम गरी रुख कटान वा जग्गा भोगाधिकारको स्वीकृत दिन सक्ने व्यवस्था कायम गर्ने । र स्वीकृत इआईए तथा आइईईमा उल्लेख भएभन्दा २० प्रतिशतसम्म जग्गा वा रुख घटी वा बढी भएमा पुरक इआईए तथा आइईई गर्नुपर्ने व्यवस्था हटाउन ।
४. प्रसारणलाइन आयोजना निर्माण
मार्गचित्रले नै प्रसारणलाइनको अभावमा विद्युत खेर गइरहेको समस्याको पहिचान गरेकोले प्रसारणलाइन निर्माणको लागि आवश्यक बजेट व्यवस्था गर्न, प्रसारणलाइनको लागि आवश्यक स्वीकृत इआईए तथा आइईई अनुसारको जग्गाको उपयोग तथा सो जग्गामा रहेका रुख कटानको लागि राइट अफ वे को जग्गाको सतप्रतिशत मुआब्जा दिनुपर्ने प्रावधान हटाउने र जिल्ला वन कार्यालय वा सम्बन्धीत संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्जले लगत कायम गरी रुख कटान वा जग्गा भोगाधिकार दिन सक्ने व्यवस्था कायम गर्ने । र स्वीकृत इआईए तथा आइईईमा उल्लेख भएभन्दा २० प्रतिशतसम्म जग्गा वा रुख घटी वा बढी भएमा पुरक इआईए तथा आइईई गर्नुपर्ने व्यवस्था हटाउन ।
५. विद्युत व्यापार
मार्गचित्र कार्यान्वयनको लागि आन्तरिक तथा बाह्य बजारमा विद्युत व्यापारको अनुमति दिन ।
६. पूँजीबजारबाट पूँजी परिचालन
मार्गचित्र कार्यान्वयनको लागि आवश्यक ४६.५ अर्ब अमेरिकी डलरको वित्तिय स्रोतको आपूर्तिको लागि ऊर्जा आयोजनामा आइपीओ र हकप्रद शेयर निष्काशनका लागि सहज गर्ने र जलविद्युत कम्पनीलाई नेटवर्थको व्यवस्था हटाउन ।
७. क्राउड फाइनान्सीङको माध्यामबाट स्वपूँजी परिचालन
ऊर्जा आयोजनामा क्राउड फाइनान्सीङको माध्यामबाट स्वपूँजी परिचालन सहज बनाउन आधारभूत शेयरधनी र कम्पनीका सञ्चालक बाहेकको शेयर आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि लकइनको व्यवस्था हटाउन ।
८. बैंक तथा वित्तिय संस्थााबाट ऋण परिचालन
मार्गचित्र कार्यान्वयनको लागि बैंक तथा वित्तिय संस्थाले हरेक वर्ष २ प्रतिशतका दरले ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउँदै १० वर्ष भित्र २० प्रतिशत पुर्याउन ।
९. हाइड्रोलोजी पेनाल्टी खारेज
१० मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाहरुमा लाग्दै आएको हाइड्रोलोजी पेनाल्टी जलवायु परिवर्तनका कारण नदीको बहाबमा परिवर्तन भइ विद्युत उत्पादनमा कमि भएको हुँदा जलविद्युत आयोजनामा हाइड्रोलोजी पेनाल्टी हटाउन ।
१०. स्थानीय समस्याको सम्बोधन
मार्गचित्र कार्यान्वयनको लागि जलविद्युत आयोजना एवं विद्युत प्रसारण लाइन निर्माणमा स्थानीयहरुको अधिक मागका कारण असहज भएकोले सो समस्याहरु समाधानको लागि संघीय सरकारले एकीकृत कानुन बानाइ कार्यान्वयन गर्न ।
११. ऊर्जा आयोजनामा सुरक्षा व्यवस्था
मार्गचित्र कार्यान्वयनको लागि विद्युत प्रसारण लाइन तथा जलविद्युत आयोजनाहरुमा सरकारले नै सुरक्षा व्यवस्था गरिदिने । बन्द हड्ताल जस्ता क्रियाकलापलाई निरुत्साहन गर्न कडा कानुन बनाइ कार्यान्वयन गर्न ।
१२. कम्पनी रजिष्ट्रारसँग सम्बन्धित काम
मार्गचित्र कार्यान्वयनको लागि एक भन्दा बढी सूचीकृत कम्पनीहरुमा सञ्चालन रहन पाउने व्यवस्था गर्ने । र कम्पनीका शेयर लगत प्रमाणिकरणमा सहज व्यवस्था गर्न ।
१३. उद्योग सम्बन्धमा
मार्गचित्र कार्यान्वयनको लागि ऊर्जा उद्योग दर्ताको लागि विद्युत विकास विभागबाट अनुमतिपत्र लिएका आयोजनाको हकमा लगानी बोर्डको स्वीकृती आवश्यक नपर्ने र एकपटक दर्ता गरेका उद्योगकको क्षमता वृद्धिमा लाग्ने समयलाई कम गरी अनुमतिपत्रको अवधि बहाल रहेको अवधिसम्म उद्योग नविकरण गर्न नपर्ने व्यवस्था गर्न ।
१४. जग्गाको हदबन्दी छुट
मार्गचित्र कार्यान्वयनको लागि जलविद्युत आयोजना र प्रसारण लाइन विकास गर्दा स्वीकृत क्ष्भ्भ् तथा भ्क्ष्ब् अनुसार प्रयोग गर्ने जग्गाको हकमा कुनै हदबन्दी लागू नहुने व्यवस्था गर्न ।
१५. आयोजनाको इआईए तथा आइईई
मार्गचित्र कार्यान्वयनको लागि १०० मेगावाट सम्मका जलविद्युत आयोजना, २५ मेगावाटसम्मका सौर्य विद्युत आयोजना र १३२ केभी प्रसारणलाइन आयोजनामा क्ष्भ्भ् मात्र गर्नुपर्ने प्रावधान कायम गर्न ।
१६. बिष्फोटक पदार्थमा सहजिकरण
मार्गचित्र कार्यान्वयनको लागि जलविद्युत आयोजनालाई आवश्यक पर्ने बिष्फोटक पदार्थ सहजरुपमा आपूर्तिको वातावरण बनाउन ।
१७. बीमा सम्बन्धी समस्या सहजिकरण
मार्गचित्र कार्यान्वयनको लागि जलविद्युत बीमालाई सहज बनाउन ट्यारिफबाट डिट्यारिफमा जाने, डिडक्टिबल रकम र समय घटाउने र दाबी भुक्तानीलाई सहज बनाउन ।