काठमाडौं । सन्तोष दवाडी पेसाले बीमा अभिकर्ता हुन्। छोटो समयमै सन्तोषले आफ्नो मेहनत र परिश्रमका कारण बीमा क्षेत्रमा नाम कमाउन सफल भएका छन्। हाल सन्तोष सिटिजन लाइफ इन्स्योरेन्सको नारायणघाट शाखामा एजेन्सी म्यानेजर छन्। सन्तोष आफ्नो टोल–छिमेकमा मात्रै नभएर हरेक क्षेत्रमा बीमासम्बन्धी ज्ञान बाँड्ने गरेका छन्। ‘सबैले बीमा गर्नुपर्छ भन्ने छैन, बीमा ज्ञान आफूले जानेको दिन पाउँदा नै म खुसी हुन्छु’, उनले भने।
सन्तोष २०४३ सालमा गोरखाको अजिरकोट गाउँपालिकामा जन्मिएका हुन्। उनी ५ वर्षको हुँदा उनको परिवार २०५१ सालमा भरतपुर–१३ मा बसाइँ सर्यो। सन्तोषको बाल्यकाल सामान्य रुपमा नै बित्यो। ‘भरतपुरमा आएपछि बुवा पण्डित भएका कारण त्यही काम गर्नुभयो’, सन्तोषले भने, ‘बुवा पण्डितको काम गर्नुहुन्थ्यो हामी स्कुल जाने बिहान–बेलुका घरमा आमालाई सघाउने गर्दै बाल्यकाल बितायौँ।’
सन्तोषले भरतपुरबाटै प्सटुसम्मको अध्ययन पूरा गरे। विद्यार्थी जीवनमा राजनीतिक क्षेत्रमा इच्छा राख्ने सन्तोषले विद्यार्थी युनियनको नेतृत्वसमेत सम्हालेका थिए। सन्तोषले स्नातक पढ्दा–पढ्दै वैदेशिक यात्रालाई अघि बढाए। २०६२।६३ को जनआन्दोलपछि सन्तोष रोजगारका लागि मलेसिया लागे। विदेशमा रहँदा नेपालमै केही गर्नुपर्छ भन्ने भाव उनमा थियो। ४–५ वर्ष विेदेशी भूमिमा आफ्नो पसिना बेचेर सन्तोष २०६८ सालबाट नेपालमै बस्ने निर्णय गरे। अब नेपालमा नै केही गर्छु भन्ने उनमा आँट आयो।
सन्तोष अभिकर्तामात्रै होइनन् व्यवसायी पनि हुन्। त्यही व्यवसायका कारण पनि सन्तोष हाल भरतपुर १० हाकिम चोकमा बसोबास गर्दै आइरहेका छन्। विदेशबाट आएको १० दिनमै सन्तोषले न्यु दवाडी सुज सेन्टर खोले। विदेशमा बसेका सन्तोषलाई व्यवसाय गर्छु भन्ने आँट मात्रै थियो। तर, बजारमा उनी नयाँ नै थिए। तर, पनि कतै नडग्मगाई सन्तोषले आफ्नो व्यवसायलाई अगाडि बढाइरहे। व्यवसाय पनि राम्रो हुँदै गयो।
त्यसपछि सन्तोषले आफ्ना साथीभाइसँग मिलेर सूर्य पोलिमार्स (फ्याक्ट्री) खोले। जहाँ युज एन्ड थ्रो कप प्लेटहरु बन्छन्। यसरी आफ्नो व्यवसायमा रमाइरहेका सन्तोषलाई आफ्ना साथी प्रेम आछामीले ‘बीमा क्षेत्रमा पनि राम्रो भविष्य छ, तपाइँले गर्न सक्नुहुन्छ। आनुहोस् मिलेर गरौँ। पुन्यको काम पनि हो। पार्ट टाइमको रुपमा पनि गर्न सकिन्छ’ भनेपछि सन्तोषले साथीले भनेको कुरामा ‘हुन्छ, ठीकै छ नि’ भन्ने प्रतिक्रिया दिए। अन्ततः सन्तोषले २०७९ सालमा सिटिजन लाइफबाट अभिकर्ताको लाइसेन्स लिएर काम गर्न थाले।
सन्तोषले लाइसेन्स लिइसकेपछि सुरुको बीमा आफ्नै छोरीको गराए। त्यसपछि उनले राम्रो व्यापार गर्न सफल भए र बीमा क्षेत्रमा प्रवेश गरेको पहिलो वर्षमै गोल्ड क्लबअन्तर्गतको अवार्ड हात पार्न सफल भए। त्यसपछि सन्तोषलाई खुसीको सीमा नै रहेन। काम गर्ने आँट र हौसला थपियो। त्यस वर्ष उनले ३६ जनाको बीमा गर्न सफल भए।
‘नेपालमा धेरैजसो मानिस अरुको कुरा सुनेर बहकाऊ र हल्लामा दौडने भएका कारण पनि बीमा पहुँचको विस्तार सुस्त भएको हो। बीमाभित्रको गहिराइ र बीमाबारे जानकारी नै नभई यो त मरेपछि मात्रै पाइने रहेछ भन्ने भ्रम रहेको छ। तर, बीमालाई बुझेर आफू हुँदा आफूलाई र आफू नहुँदा परिवारलाई सुरक्षा गर्छ भन्ने बुझेर बीमा गरायो भने धेरै राम्रो छ’, सन्तोष भन्छन्, ‘हाम्रो नेपालमा रक्सी बेच्नभन्दा दूध बेच्न गाह्रो छ। तर, फाइदा त दूधबाटै धेरै छ। रक्सी किन्न मान्छे कोसौँ टाढा पुग्छ तर दूध बेच्ने किसानले घर–घरमै ल्याउनपर्छ। किसानलाई गाह्रो छ। हो, त्यस्तै हो राम्रो सामान बिकाउन गाह्रो छ।’
बीमा प्रस्ताव लिएर सन्तोष विभिन्न ठाउँमा जाँदा पनि सहकारीसँग तुलना गरेको पाउने गरेका छन्। ‘मैले सबैलाई पहिला बीमा के हो भनेर बुझ्नुस्, सहकारी के हो ? बीमा कम्पनी के हो ? काम र कर्तव्य के हुन् फरक छुटाउनुहोस भनेर भन्छु’, ग्राहकलाई बीमा बुझाउँदै उनी भन्छन्, ‘बीमा कम्पनी राज्यको मातहतमा चलेको हुन्छ। बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक जस्तै बीमा कम्पनी नियमन गर्ने बीमा प्राधिकरण छ। शंका गर्नुपर्दैन्। अहिलेसम्म नेपालमा बीमा कम्पनी भागेको सुन्नु भएको छ ? आज आफू हुँदै र भोलि आफ्नै जीवनमा आउने संकटबाट टाढा रहन मन छ भने बीमा सबैले गर्नुपर्छ भन्छु। तर, मैले बीमा गर्नका लागि कसैलाई पनि फोर्स गर्दिनँ। किनकि आवश्यक लाग्नेले गर्छन्। त्यसमा हामीले जबरजस्ती गर्नुहुँदैन। म फोर्सफुल्ली बीमामा कसैलाई पनि प्रेरित गर्दिनँ।’
अभिकर्ता दलाली गरेजस्तो पेसा होइन
सन्तोष भन्छन्, ‘अभिकर्ता पेसालाई कमिसन वा दलाली लिने अन्य कुनै पेसासरह दाँज्नु हुँदैन। अन्तर्राष्ट्रियस्तरमा पनि बीमा पेसा एकदमै सम्मानित र मर्यादित पेसा हो। मेरो विचारमा अभिकर्ता भने दलाल होइन, यो बुझाइ गलत हो। हरेक पेसा वा व्यवासय गरेबापत पैसा वा तलब दिइन्छ नि। जस्तो कि डक्टर, इन्जिनियर, शिक्षक, पत्रकारलगायत सबैले पेसा गर्नेले सेवा दिएबापत तलब लिन्छन्। हो, त्यस्तै अभिकर्ताले पनि बीमा गराएबापत लिने शुल्क हो। यसलाई दलाल भन्न मिल्दैन।’
बीमालाई स्कुलसँग तुलना गर्दै सन्तोषले भने, ‘तपाइँले स्कुलमा बच्चा पढाउनु भएको हुन्छ। बच्चा पढाएबापत तपाइँले शुल्क तिर्नुहुन्छ। अनि त्यो आफूले तिरेको शुल्क शिक्षकले खायो भनेर माग्न मिल्दैन नि। काम गरेबापत जुनसुकै पेसा र व्यवसायमा तलब आउँछ। हामीले पनि बीमा गराएबापत पाएको तलब नै हो। तर, अभिकर्ताको कमिसन भन्ने गर्छन्। यही कमिसन शब्दले नै सबैमा भ्रम पर्न गएको हो। अभिकर्ताले काम गरेबापत पाउने कमिसनलाई तलब भनेदेखि बीमा बजारमा विश्वास हुने थियो।’
अभिकर्ता पेसाप्रति सन्तोष सन्तुष्ट रहेको बताउँछन्। यो पेसामा प्रवेश गरेपछि उनमा धेरै परिवर्तन आयो। जस्तो कि हिम्मत आयो। आँट जाग्यो। समाजलाई नियाल्न सक्ने, सबैको मर्म बुझ्न सक्ने क्षमताको विकास भयो। लिडिङ पावरलगायत धेरै पविर्तन आएको उनले बताए। ‘बीमा अभिकर्ता विशुद्ध समाज सेवा गर्ने पेसा हो। यस पेसामा न कसैको दबाब सहनुपर्छ न त कुनै झन्झट नै’, उनी भन्छन्, ‘अभिकर्ता एउटा स्वतन्त्र पेसा हो। जहाँ हामीले आफ्नो खुसीमा आम्दानी गर्न सक्छौँ।’
बीमा अभिकर्ता अपनाउनेहरुलाई पनि सन्तोष यो पेसा अँगाल्न आग्रह गर्छन्। यो पेसाबाट अगाडि बढ्न नेपालमा धेरै सम्भावना रहेको उनको भनाइ छ। ‘सिटिजन लाइफमा रहेको जीवन सारथि पोलिसी सबैले रुचाएका छन्’, उनले भने, ‘यो पोलिसीमा घातक रोग समेटिएको छ। त्यसैले पनि यसमा मानिसको आकर्षण बढ्दो छ। अरु कम्पनीको भन्दा फरक र धेरै राम्रो विशेषता यो पोलिसीमा रहेको छ।’
सन्तोष बीमाको धेरै फाइदा रहेको बताउँछन्। ‘बीमा बचत र लगानी दुवै हो। बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्ति हो’, उनले भने, ‘आफू हुँदा आफूलाई र आफू नहुँदा परिवारलाई सहायता हुने, एकैचोटी धेरै लगानी गर्नुनपर्ने थोरै लगानीबाट दुर्घटना, भवितव्य पर्दा अनि पोलिसीमा तोकिएको रोग लाग्दा सहानुभूति पाइने, पूर्ण रुपमा अपांगता भएमा जिउने माध्यम नै बीमा हो। बीमा दुःखको साथी, वृद्धको सहारा हो। सहज र सुखको लगानी, असहज र दुःखको खजाना हो। त्यसकारण बीमा आफूलाई चाहिँदा खरिद गरेजस्तो साधान होइन। बीमा त सहज परिस्थति हुँदा खरिद गरी असहज समयमा काम लाग्ने साथी हो।’
बीमा अभिकर्तामा धेरै सकारात्मक गुण हुनु आवश्यक रहेको सन्तोषको भनाइ छ। ‘धैर्यता, सहनशीलता, झन्झट नमान्ने खालका गुण बीमा अभिकर्तामा हुनुपर्दछ’, उनले भने, ‘बीमा अभिकर्तामा सम्बन्धित विषयवस्तुको ज्ञान हुनुपर्छ। साथै, आफू आबद्ध कम्पनीका बारेमा पर्याप्त जानकारी राख्न हुनुपर्छ।’
सन्तोषले विभन्न अवार्ड पाएका छन्। उनले हिरो अफ द मन्थ ३ पटक, सिल्भर क्लब र गोल्ड क्लबअन्तर्गतका अवार्ड पाएका छन्। अब एमडीआरटी र डाइमन्ड क्लब बन्ने लक्ष्य उनको छ।