काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको झन्डै ९ लाख कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखेको छ।
एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्रमा आफूले लिन चाहेको शेयर संख्या र दिन चाहेको मूल्य स्पष्ट रुपमा खुलाउनुपर्नेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलका साथै एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सक्नेछन्। बोलपत्र माघ ४ गतेसम्म पेस गर्न सकिनेछ।