काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको छ। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।
कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार हिजो साँझ ५ बजेसम्म यो कम्पनीको आइपीओमा १४ लाख ९२ हजार ७६९ जनाले १ करोड ९९ लाख ९१ हजार ८९० कित्ता शेयर खरिद आवेदन दिएका छन्। यो भनेको मागभन्दा १०.८४ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।
गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।