काठमाडौं । एउटा नारीले चाह्यो भने के गर्न सक्दिनन्? भन्ने प्रश्नको उत्कृष्ट उत्तर बनेकी छन् फुरुमाया तामाङ। साधारण परिवारमा जन्मिएर अनेकौं चुनौती सामना गर्दै, उनले बीमा क्षेत्रमा अतुलनीय सफलताको उचाइ हासिल गरेकी छन्।
घरायसी समस्याका कारण १६ महिनाको बालक घरमै छोडेर जीवन चलाउन विदेश पुगेकी फुरुमायाको जीवनमा परिवर्तनको सुरुवात भयो, जब पाँच तलाको भर्याङबाट खस्दा सात दिनसम्म होश गुमाए। त्यही बेला उनलाई सोधिएको थियो, “बीमा छ कि छैन?” त्यो प्रश्नले उनको मनमा बीमाको महत्त्व गहिरो गरी अंकित गरिदियो। स्वदेश फर्किएपछि उनले बीमा क्षेत्रमा लागेर समाजलाई यसकै महत्त्व बुझाउने प्रण गरिन्।
साविक प्राइम लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट सुरु भएको उनको यात्रा प्राइम लाइफ इन्स्योरेन्समा लगातार ३ पटक नेपाल प्रथम भईन । आज हिमालयन लाइफ इन्स्योरेन्ससम्म आइपुग्दा प्रेरणादायी बनेको छ। उनले २०२२ देखि लगातार MDRT (Million Dollar Round Table) को ताज पहिरिन सफल भइरहेकी छन् ।
फुरुमाया केवल आफैं अघि बढ्न रोकिइनन्। समाजमा सीमित अवसरको घेराभित्र रहेका गृहिणीहरूलाई यो क्षेत्रमा आउन प्रेरित गर्दै आर्थिक स्वतन्त्रता र पहिचान बनाउन सकिन्छ भन्ने प्रेरणा दिइरहेकी छन्। बीमा क्षेत्रमार्फत उनले महिलाहरूलाई आत्मनिर्भर र उधमी बन्ने बाटो देखाइरहेकी छन्।
हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका प्रमुख सन्तोष आचार्य भन्छन्, “फुरुमाया तामाङ जस्तै व्यक्तित्वहरू हाम्रो समाजको गहना हुन्। भोजपुरको दुर्गम साधारण गाउँबाट उठेर आफ्नो असाधारण क्षमता देखाउदै आफ्नो मेहनत, प्रतिबद्धता र लगातार मेहनतबाट समाजलाई आर्थिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाइरहनुभएको छ। उहाँ युवा पुस्ताका लागि प्रेरणाको प्रतीक हुनुहुन्छ, जसले स्वदेशमै रोजगारी र सम्भावनाको खोजी गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुभएको छ।”
अबको लक्ष्यः लगातार १० पटक एमडीआरटी विजेता बनेर आफ्नो गाउँ, जिल्ला र देशको नाम अझ उज्ज्वल बनाउने लक्ष्य राखेकी छिन । नारी सशक्तीकरण र बीमा क्षेत्रको महत्त्व उजागर गर्न उनी दिनरात लागिपरेकी छन्। फुरुमाया तामाङ साँच्चै असल प्रेरणा र साहसको प्रतिमूर्ति र एक उदाहरण हुन ।