काठमाडौं । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँको दरले बढाएको हो ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोमिटर अमेरिकी डलर १५ का दरले घटाइएको जनाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्ट मा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैया तोकेको छ ।
यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५३ रुपैयाँ निर्धारण गरेको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेको छ ।