काठमाडौं । उखुबाली नगदे बाली हो । यो बालीको खेती विशेषगरी तराईका जिल्लाहरुमा हुने गरेको छ। मधेश प्रदेशको सर्लाही जिल्ला सर्वाधिक उखु खेति गरिने जिल्लाका रुपमा चिनिन्छ। मधेशको बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा पर्याप्त उखुबाली खेती हुने गरेको छ। यसैगरी लुम्बिनीको परासी, गण्डकीको नवलपुरमा पनि उखुबाली लगाइन्छ।
नगदे बाली भनिए पनि नेपालमा उखुको मूल्य भुक्तानीलाई लिएर चिनी मिल सञ्चालकले गर्ने बेइमानीका कारण यो उधारो बालीमा परिणत हुन पुगेको छ। चिनी मिल सञ्चालकले उखु पेलेर चिनी उत्पादन पछि बिक्री गरि सक्दा समेत किसानलाइ उखुको रकम भुक्तानी गर्दैनन्। अर्कोतर्फ प्रत्येक सिजनमा उखुको न्यूनत्तम समर्थन मूल्यलाई लिएर पनि किसान र चिनी मिल सञ्चालकबीच किचलो हुने गरेको छ। सरकारले समयमै प्रभावकारीरुपमा मध्यस्थता गरेर समर्थन मूल्य तोक्न नसक्दा विवाद लामो समयसम्म रहने गरेको छ।
उखु किसानलाई प्रोत्साहित गर्न सरकारले अनुदानको व्यवस्था पनि गर्यो। अनुदानको दुरुपयोग गर्ने काम समेत चिनी मिलका सञ्चालकले गरे । उनीहरुले उखु खेती नै नगरेका किसानको नाममा सिमापारी भारतीय बजारबाट सस्तो मूल्यमा उखु ल्याएर पेले अनि अनुदानको रकमसमेत आफैँले कुम्ल्याउने काम गरे।
उखु खेती गर्ने किसानलाई बाली उत्पादन र मिल सम्म पुर्याउने क्रममा हुनसक्ने क्षतिविरुद्ध रक्षावरण गर्न नेपाल बीमा प्राधिकरणले उखुबाली बीमालेख समेत जारी गरेको छ। यो बीमालेखमा उखु बालीको बीमाका लागि बीमांक निर्धारण गर्ने विधि, उखुबालीको बीमा गर्नुपूर्व र गरि सकेपछि किसानले पालना गर्नुपर्ने सर्त, बीमा दाबी पाइने अवस्थाहरुको विषयमा उल्लेख गरिएको छ।
उखुबालीको बीमा गराउनका लागि उखु किसानले पालना गर्नुपर्ने सर्तहरु यस्ता छन्ः
(क) उखु लगाएको वा रोपेको एक महिनाभित्र बीमा गरि सक्नुपर्ने,
(ख) उखुखेती तराई‚ भित्री मधेश‚ पहाडका वेंशी तथा टारहरुमा गर्न सकिने,
(ग) पानी निकासको प्रबन्ध भएको‚ प्रयाप्त प्रांगारिक पदार्थ भएको चिस्याउन अढ्याउन सक्ने, कम्तीमा ५० सेमि गहिरो खाल्डो भएको माटोमा गर्न सकिने
(घ) नब्बे(९०) प्रतिशत भन्दा बढी स्वस्थ्य आँख्ला भएको लाँक्राको माथिको तीन आँख्ला बाहेक सबै बीउको रुपमा प्रयोग गर्न सकिने
(ङ) उखुखेती रोपण गर्दा २÷३ आँख्लाभएको‚ पातलो जातको लागि प्रतिहेक्टर ४५–५४ क्वीन्टल, मोटो जातको लागि ५४–६० क्वीन्टल बीउ दर प्रयोग गर्नुपर्ने‚
(च) प्रति हेक्टर ४०‚५०० (तीन आँख्ला भएको) सेट्स बीउको प्रयोग गर्नुपर्ने,
(छ) पोलिथिनमा तयार गरिएको बेर्ना भए प्रति हेक्टर २४‚३०० बेर्ना प्रयोग गर्नुपर्ने‚
(ज) बीउ काटेको चौबीस घण्टा भित्र रोपी सक्नुपर्ने,
(झ) उखुको बीउ (सेट) वसन्तकालीन (माघ–फागुन) महिनामा रोपाई गरिएको मोरहन(मुख्य) बालीबाट लिईएको र ८ देखि १० महिनाको हुनुपर्ने,
(ञ) उखुकोबीउ (सेट) लाई उपयुक्त विधि (तातोपानी वा रासायनिक) तरिकाबाट उपचार गरेर रोप्नुपर्ने,
(ट) उखु खेती शरदकालीन रोपाईको रुपमा असोज–कात्तिक र वसन्सतकालिन रोपाईको रुपमा माघ–फागुनमा गर्नुपर्ने,
(ठ) माटोको उर्वराशक्तिको अवस्था अनुसार सामान्यतया दशक टन प्राङ्गारिक १२०ः ६०ः४० के.जी नाईट्रोजन‚ फस्फोरस र पोटास मल प्रयोग गर्नुपर्ने,
(ड) उखुखेती नाला विधि‚ त्रिभूजाकार विधि‚ समानान्तर विधि‚ तेर्सो वारपार विधि वा बेर्ना सार्ने विधिबाट गर्न सकिने,
(ढ) रोप्ने दूरी उखुको जात‚ उर्वराशक्ति भएको माटोमा ७५–९० से.मि‚ मध्यम उर्वराशक्ति भएको माटोमा ९०–१०५ से.मि र बढी उर्वरा शक्ति भएको माटोमा १२० से.मिको
फरकमा रोप्नुपर्ने,
(ण) उखुको राम्रो उत्पादनको लागि उपलब्ध भएसम्म ५÷६ पटक हलुका सिंचाई दिनुपर्ने,
(त) उखुबालीलाई उखु रोपेको ३०–४० दिनमा सिंचाई गर्नुअघि पहिल गोडाई र माटो उकेरा लगाउनु पर्ने र दोस्रो पटक रोपेको ६०–७० दिनमा गोडमेल‚ टपड्रेस गरी
उकेरा लगाउनुपर्ने,
(थ) उखुको विरूवालाई श्रावणको दोस्रो हप्तासम्म सुकेको पातबाट पहिलो पटक करिब ४५–५० सेमि उचाईमा‚ दोस्रो पटक भदौको दोस्रो हप्तामा पहिलो बँधाईको ५०
से.मि. माथी बाँध्नुपर्ने,
(द) सामान्यतया छिटो पाक्ने जातहरु मंसिर महिनादेखि मध्य सिजनमा पाक्ने जातहरु पौष महिना देखि र मुख्य सिजनमा पाक्ने जातहरु माघको दोश्रो हप्ता देखि उत्पादन लिन सकिन्छ।
(ध) उखुलाई मुख्य बालीको रुपमा एक पटक एकपटक र खुट्टी बालीको रुपमा दुई पटक सम्म उत्पादन लिन सकिन्छ ।
(न) उखुखेती भित्र लगाइएका अन्तरबालीहरु उखुबालीसँग प्रतिस्पर्धा नगर्ने, जराहरु धेरै टाढा र गहिराईमा नजाने‚ भाइरसको प्रकोप नहनुे‚ छोटो समयमा तयार हुने तथा लहरा बोटमा नजाने खालका तेलहन बाली, दलहन बाली, अन्न बाली, तरकारी बाली, मसला बालीहरु लगाउन सकिनेछ।
(प)बीमा गरिएको उखुखेतीको कुनै रोग वा किरा लागे तत्कालै उचित स्याहार, रेखदेख तथा उपचार गराई सो को अभिलेख वा विवरण सुरक्षितरुपमा राख्नु पर्ने,
(फ)आयातित विरूवाको हकमा प्रचलित कानून बमोजिम फाइटोस्यामनटरी प्रमाण पत्र प्राप्त गरेको हुनुपर्ने,
(ब)उखु खेती गर्दा पालना गर्नुपर्ने प्राविधिक व्यवस्थाको अभिलेख व्यवस्थितरुपमा सुरक्षित राखिएको हुनुपर्ने।