काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय काठमाडौँमा उद्घाटन गरिएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय काठमाडौँ समुद्घाटन गरिएको हो ।
कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा मार्फत छिटो, छरितो र प्रभावकारी रुपमा प्रदान गर्ने उद्देश्यका साथ कोषको केन्द्रीय कार्यालय टंगालमा रहेको भवनको भुईँतल्लामा मुख्य शाखा कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै कोषका अध्यक्ष घिमिरेले कोषले आफ्नो काम कारोबारलाई ग्राहक मैत्री र पूर्ण व्यवसायिक बनाउनमा नयाँ शाखाले महत्वपूर्ण सघाउ पुग्ने आशा व्यक्त गर्दै नयाँ शाखाका कर्मचारी लगायत सिंगो कोष परिवारलाई बधाई ज्ञापन गरे ।
साथै कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले शाखा कार्यालय स्थापना गर्नुको आवश्यकता, उद्देश्य र औचित्यता बारे प्रकाश पार्दै शाखा कार्यालय स्थापनाले एकातर्फ सेवा प्रवाह चुस्त हुन जाने र अर्को तर्फ केन्द्रीय कार्यालय नीतिगत र सुररीवेक्षकीय कार्यमा बढी केन्द्रीत हुन गई सुरक्षण योजनाहरुको विस्तार र प्रवर्दनमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।