IME Life
GBIME

चाहविपरीत अभिकर्ता बनेकी देवकुमारी भन्छिन्, ‘अहिले बीमाबाट सबै थोक पाएकी छु’

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विभिन्न क्षेत्रमा काम गरेर आफ्नो परिचय बनाएकी देवकुमारी घिमिरेले अहिले इन्स्योरेन्स क्षेत्रमा पनि आफ्नो छुट्टै छाप बनाएकी छन्। सानैबाट मेहनतमा भिजेकी देवकुमारीमा अहिले पनि मेहनत गर्ने ऊर्जा कम भएको छैन। २०३८ सालमा गोर्खाको सिरानचोक गाउँपालिका–२ मा जन्मिएकी देवकुमारी हाल सुनौल नगरपालिका–८ बर्दघाटमा बसोबास गर्दै आइरहेकी छन्। उनले एसएलसीसम्मको अध्ययन आफ्नै जन्मथलोबाट पूरा गरेकी छन्।

देवकुमारीको बाल्यकाल सामान्य गाउँले जीवनमा बित्यो। खेती–किसानी गर्ने बुवा–आमाका साथमा खेतबारीमा काम गर्दै रमाउँदै, खेल्दै र पढ्दै बाल्यकाल बिताएकी देवकुमारीलाई काम गर्दा दुःख भयो भन्ने कहिले पनि लागेन। कसरी हुन्छ मेहनत गरुँ खाली नबसूँ भन्ने भावना भएकी देवकुमारी अहिले बीमा क्षेत्रमा जमेर लागेकी छन्।

Crest

हाल देवकुमारी सिटिजन लाइफको परासी ब्रान्चमा एजेन्सी म्यानेजरको भूमिकामा रही काम गर्दै आइरहेकी छन्। उनले निःतान्त बीमा पोलिसी बेच्नुलाई मात्रै आफ्नो कर्तव्य ठाँन्दिनन्। उनले हरेक घरमा बीमाबारे बुझाइ होस्, हरेक घरको सदस्यको बीमा होस्, सबै मानिस बीमाको दायरामा समेटिऊन्, बीमाले सबै मानिसको रिस्क कभर गरोस् र मानिसलाई जोखिम पर्दा बीमा कम्पनीले सहारा दियोस् भन्ने हेतुले हरेक क्षेत्रमा गएर बीमा सचेतना दिने गरेको बताउँछिन्।

२०५८ सालमा देवकुमारीको विवाह भयो। परिवार बुझ्ने भएका कारण पनि विवाहपछि देवकुमारीले ७ वर्षजति बोर्डिङ स्कुलमा पढाइन्। स्कुलको जागिरे जीवनबाट पनि उनले आफ्नो यात्रालाई बिट मारिन्।

देवकुमारीको पहिलाबाटै चिनजान भएका व्यक्ति कुलचन्द्र आचार्य बीमा क्षेत्रमा नै थिए। उनले देवकुमारीलाई अभिकर्ता बन्न सुझाएका थिए। त्यो समयमा देवकुमारीलाई बीमाबारे थाहा नै थिएन। उनले बीमा भनेको के हो ? बीमाले के गर्छ ? कस्तो हो ? भन्ने नै बुझेकी थिइनन्। सोही समयमा भेट भएका आचार्यले ‘अभिकर्ता बन आम्दानीसँगै समाज सेवा हुन्छ। मिलेर काम गरौँ, परेको समयमा म सहयोग गर्छु, कामले काम सिकाउँछ। समय भएको बेला काम गर्न पनि मिल्छ। धेरै राम्रो पेसा छ’ भने। बीमाबारे नबुझेकी देवकुमारीलाई गर्ने कि नगर्ने भन्ने भयो। त्यो हुँदा पनि ती आचार्यले ‘काम गर, राम्रो छ’ भनेपछि देवकुरमारीले २०६७ सालमा नेपाल लाइफबाट लाइसेन्स लिएर काम गर्न थालिन्।

नेपाल लाइफबाट लाइसेन्स लिएर काम गर्दै गर्दा देवकुमारीले ८–१० जनाको मात्रै बीमा गराउन सफल भइन्। ‘मैले त्यो समयमा धेरै मानिसलाई सुरक्षित गर्न सकिनँ’, उनले भनिन्, ‘मलाई पछि बीमा गरेका मान्छेको पैसा फिर्ता गर्न गाह्रो हुन्छ कि, कम्पनीले दिन गाह्रो मान्छ कि, बीमा गरेका मानिस डुब्छन् कि भन्ने भयो। त्यसपछि मैले नेपाल लाइफमा काम गर्न छाडेँ।’

त्यसपछि देवकुमारीले विभिन्न प्रोजेक्ट अनि संघ–संस्थामा काम गरिन्। स्वयंसेवकबाट सुरु गरेको संस्थामा कार्यसमितिको उपाध्यक्षसमेत भइन्। उनले त्यो समयमा एउटामात्रै संस्थामा होइन धेरै प्रोजेक्टमा काम गरिन्। विभिन्न संस्थामा काम गर्दै जाँदा देवकुमारी सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रमा जोडिने मौका पाइन्। पछि संघ–संस्थामा काम गर्न गाह्रो भएका कारण उनले आफ्नै व्यवसाय गर्ने सोच बनाएर किराना पसल पनि खोलिन्।

देवकुमारीको बच्चा पनि हुर्किंदै गए। किराना पसल पनि चलाउँदै गइन्। किराना पसल भएपछि त उनलाई झन अवसर मिल्दै गयो। आफ्नो व्यवसाय भएका कारण समय मिलाएर सामाजिक क्षेत्रमा धेरै नजिक हुने मौका पाइन्। सामाजिक क्षेत्रमा काम गर्दै जाने क्रममा २०७८ सालमा गाउँ–गाउँमा चुनावी माहोल थियो। त्योे समयमा सिटिजन लाइफमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत कमला थापासँग उनको भेट भयो। त्यही भेटमा कमलाले देवकुमारीलाई ‘सामाजिक क्षेत्रमा नजिक भएको मान्छे, बीमा क्षेत्रमा राम्रो काम गर्न सक्नुहुन्छ, आउनुस् मिलेर गरौँ’ भनिन। ‘मैले बीमा क्षेत्रबाट पहिला नै काम गर्दिनँ भनेर हात निकालेकी थिएँ’, उनले भनिन्, ‘मलाई बीमा क्षेत्रमा काम गर्न मन छैन भन्ने जबाफ दिएँ। त्यति गर्दा पनि कमलाले फेरि ब्रान्च म्यानेजर लिएर कुरा गर्न आउनुभएछ। अत्ति गर्नुभयो भनेर मैले तपाइँहरुका लागि म एजेन्ट बनिदिन्छु भनेँ। मैले यसो भन्दै गर्दा उहाँहरु दुईजना भएर मलाई बीमाबारे धेरै ज्ञान दिनुभयो। सिटिजन लाइफका बारेमा बुझाउनुभयो। पहिला मैले नेपाल लाइफमा हुँदा बुझेको बीमा र सिटिजन लाइफमा बुझेको बीमामा धेरै फरक पाएँ। त्यसपछि मैले २०७८ मा लाइसेन्स लिई सिटिजन लाइफबाट काम गर्न थालेँ।’

लाइसेन्स लिएपछि देवकुमारीले आफ्नै बच्चाको बीमा गराइन्। त्यसपछि उनले २–३ जनाको सानो–सानो बीमा गराएकी थिइन्। मान्छेको जीवन न हो कति बेला के हुन्छ, कसलाई के थाहा हुन्छ र ? नभन्दै देवकुमारीको ठूलो दुर्घटना भयो। उनी घाइते भइन्। टाउकोमा गम्भीर चोट लाग्यो। त्यसपछि उनले काम गर्न सक्ने अवस्था रहेन। किराना पसल पनि बेच्ने निधो गरिन्। बीमा गर्न बजार पनि जान सक्ने अवस्था थिएन। अनि उनी ६ महिना बेड रेस्ट नै गरेर बसिन्। त्यही बेला आमा पनि बिरामी भइन्। उनलाई धेरै पीडा भयो। उनको घरको अवस्था नै बिग्रियो।

पछि उनी पनि निको हुँदै गइन्। घरको अवस्था पनि सम्हालिँदै गयो। ‘म बिरामी भएर बसेको समयमा सिटिजन लाइफको हेड अफिसबाट सीईओ सर, मार्केटिङका सरहरु मलाई भेट्न आउनुभएछ। त्यो समयमा म धेरै खुसी भएँ। कम्पनीले मलाई परिवार मानेको रहेछ। दुःखमा साथ दिनुभयो। मैले काम गर्नुपर्छ भन्ने ऊर्जा र आँट आयो’, उनले भनिन्, ‘त्यति ठूलो दुर्घटनामा परेँ। तर, मेरो बीमा थिएन। त्यही भएर सबैले समयमा नै बीमा गर्नुपर्ने रहेछ। ममाथि घटेको घटनाले झनै मलाई बीमाप्रति आकर्षित गरायो। निको भएपछि म काममै फर्किंए। अनि राम्रो व्यापार पनि गरेँ।’

‘तपाइँहरुका लागि एजेन्ट बनिदिन्छु भनेर सिटिजन लाइफमा आएको म आज यो पेसाबाट धेरै सन्तुष्ट छु’, देवकुमारीले भनिन्, ‘यो पेसाले मलाई धेरै सफलता दिलाएको छ। पैसा कमाउने कुरा त सेकेन्डरी पार्ट भयो मेरा लागि तर मान–सम्मान अनि इज्जत सबैथोक बीमाबाट पाएकी छु। कम्पनीले दिएको हौसला र प्रेरणाले गर्दा नै मैले सफलता पाएकी छु। धेरै खुसी छु।’

‘धेरै वर्ष विभिन्न संघसंस्थामा जोडिएर काम गरेँ। सामाजिक क्षेत्रमा काम गरेँ। मलाई लाग्थ्यो मैले यत्रो वर्ष विभिन्न क्षेत्रमा काम गरे तर मैले के पाएँ त भन्ने प्रश्न म आफैँले आफैँलाई गर्थें तर मैले धेरै कमाएकी रहेछु। मानिसहरुबाट विश्वास कमाएकी रहेछु भन्ने चाहिँ बीमा क्षेत्रमै आएपछि थाहा पाएँ’, देवकुमारीले सुनाइन्, ‘बीमा प्रस्ताव लिएर जाँदा सबैले स्वीकार गर्नुभयो। यो भनेकै विश्वास गर्नुभएको हो। सामाजिक क्षेत्रमा काम गरेको भएर मलाई सबैले नराम्रो काम गर्दैन भनेर विश्वास गर्नुभयो। बीमा भनेकै विश्वासको बजार हो। हो, मलाई यो क्षेत्रले विश्वास गर्यो। बीमा क्षेत्र भनेको वित्तीय कारोबार गर्ने क्षेत्र हो। मानिसहरुले पैसाजस्तो कारोबारमा विश्वास गरिहाल्नुहुन्न तर म सामाजिक काममा जोडिएका कारण छोटो समयमै मलाई धेरै विश्वास गर्नुभयो।’

बीमा गराउन जाँदा मानिसहरुको आम्दानीगनुसार बीमा गर्ने गरेको देवकुमारीको भनाइ छ। ‘बीमा गर्न जाँदा मानिसलाई जबरजस्ती बीमा गर भन्नु गलत हो’, उनले भनिन्, ‘बीमा गराउन जाँदा मानिसको आर्थिक अवस्था, आम्दानी र बचत सबै कुरा हेरेर उसलाई कस्तो पोलिसी आवश्यकता हो, पछिसम्म प्रिमियम तिर्न सक्ने खालको पोलिसी बिक्री गर्नुपर्छ।’

सिटिजन लाइफमा धेरै पोलिसी रहेको र ती पोलिसीहरु धेरै आम्दानी भएको व्यक्ति र थोरै आम्दानी भएको व्यक्तिलाई मध्यजनर गर्दै कम्पनीले ल्याएको देवकुमारीले जानकारी दिइन्। ‘कम्पनीमा २० वटा घातक रोगको पनि बीमा छ। यो घातक रोग बीमा सबैका लागि अनिवार्य छ। कोही–कोही मानिस मिर्गौला फेल भयो, मुटु रोग लाग्यो सहयोग गर्नु भन्दै आउनुहुन्छ तर हामीलाई ४–५ सय सहयोग गर्न गाह्रो होइन। तर, उसले समयमै बीमा गरेको भए कम्पनीले सबै जोखिम व्यहोर्थो। परिवारमा जोखिम भार कम हुन्थ्यो, मागेर हिँड्न पर्ने अवस्था हुन्नथ्यो। त्यसकारण सबैले समयमा नै बीमा गर्न जरुरी छ।’

बीमा सबैका लागि अपरिहार्य रहेको देवकुमारीको भनाइ छ। ‘आजको जस्तो समय भोलि नहुन सक्छ। मानिसको जीवन सधैँ एकैनास हुँदैन। भोलिका लागि बीमा गर्नुपर्छ। बूढेसकालको सहारा भनेको नै बीमा हो’, उनले भनिन्।

अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने देवकुमारीको भोगाइ छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुनसक्ने उनको अनुभव छ। मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुण बीमा अभिकर्तामा हुनुपर्ने उनको धारणा छ।

अभिकर्ता पेसामा आउने नवप्रवेशीलाई के सुभाब दिनुहुन्छ भन्ने प्रश्नमा देवकुमारीले भनिन्, ‘बीमा निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो छ। मेहनत गरे समयभन्दा अगाडि नै परिपक्क बनाउने पेसा हो। आर्थिक रुपमा सबल हुने भएकाले यो धेरै राम्रो छ। पार्टटाइमका रुपमा पनि अँगाल्न सकिने भएकोले मलाई राम्रो लाग्छ।’

अभिकर्ता पेसाले दिएको सफलतामा खुसी हुँदै देवकुमारीले थपिन्, ‘कम्पनीप्रति धेरै आभारी छु। मलाई काम गर्न अल्छी लाग्दा पनि मलाई कम्पनीले ऊर्जा दिएको छ। कामप्रति प्रेरणा र हौसला दिएको छ। जसका कारण म सफल भएकी छु।’
कम्पनीले दिने हरेक टार्गेट देवकुमारीले मिट गर्ने गरेकी छन्। उनले सिल्भर क्लब स्किममार्फत अवार्ड पाएकी छन्। प्लाटिनिम अवार्डका साथै एमडीआरटीसमेत भएकी छन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS