काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको छ। यसैअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ।
सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको हो। त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन्।
नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालिम प्रदान गरिसकेको छ।
चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताए। उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए।
अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए।
नबिल बैंकले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ’हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उनले विश्वविद्यालयसँग समन्वयका लागि अनुरोध गरे।
नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरुलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरुको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए। यस फेलोसिपमा सहभागीहरुलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए।
नबिल बैंकका सञ्चालक चौधरीले फेलोसिप कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न थालेको भन्दै आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए। ‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईँहरुसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ। तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ’, चौधरीले भने।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए। उनले ‘हामीले के गर्यौं ?’ भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको उनको प्रतिक्रिया छ।
फेलोसिप कार्यक्रममा सहभागीहरुले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ। तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले बताए।
उनका अनुसार तालिम अवधिभर सहभागीहरुले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ, र बैंकिङका विधिहरु सिक्नेछन्। उनले भने, ‘हामी व्यवसायका क्रममा आवश्यक सम्पूर्ण समाधान उपलब्ध गराउँछौँ।’
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु) का निर्देशक डा. गोविन्द तामाङले नबिल बैंकको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट क्षेत्रले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। यस्तो सहकार्यले विश्वविद्यालयलाई नयाँ पाठ्यक्रम निर्माण गर्न सहयोग पु¥याउने उनको विश्वास छ।
फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन्। सहभागीहरु काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन्।
सहभागीहरुले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडिबुटीबाट सौन्दर्य सामग्री उत्पादन, र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन्। इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरु गरेका उद्यमीहरुको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ। कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम र ई–लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरुको लक्ष्य रहेको बैंकले जनाएको छ।
बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो। साउनमा खुलेको सयौं आवेदकहरु मध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरुलाई मात्र छनोट गरिएको हो।
चौथो कोहर्टका सहभागीहरुले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गरेका छन्। उनीहरुले आफ्ना उत्पादनलाई दिगो बनाउने र विस्तार गर्ने तरिकाबारे विज्ञहरुसँग सल्लाह लिनका लागि कार्यक्रममा सहभागिता जनाएको प्रतिक्रिया दिए।
नबिल एसएसई कार्यक्रममार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरिएको छ। तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ। त्यस्तै एक हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको छ।