काठमाडौं । सम्भावना खोज्दै बीमा क्षेत्रमा प्रवेश गरेर उदाएकी महिला हुन्, शर्मिला टन्डन। आफैँ आत्मनिर्भर बन्नुपर्छ र कसैको सहारामा बाँच्नुहुँदैन भन्ने मानसिकता बोकेकी एक साहसी महिला हुन्, शर्मिला। हाल शर्मिला सिटिजन लाइफको महाराजगन्ज शाखामा एजेन्सी म्यानेजरको भूमिकामा रहेर काम गर्दै आइरहेकी छन्। शर्मिलाले अहिले अभिकर्ता पेसालाई आफ्नो दैनिकी बनाएर बीमा शिक्षा बाँड्नमा व्यस्त हुन्छिन्। बीमा पोलिसी बेच्दै बीमा सचेतना फैलाउन उनलाई खुब मज्जा लाग्छ। पोलिसी बेच्नेभन्दा पनि सबैमाझ बीमा शिक्षा पुगोस् र सबैले बीमाबारे बुझेर बीमा गरुन् भन्ने शर्मिलालाई लाग्छ।
गुल्मीको दरबार गाउँपालिका–७ मा जन्मिएकी शर्मिलाको हाल बसोबास भने काठमाडौँको बल्खुमा रहेको छ। २०५२ सालमा जन्मिएकी शर्मिलाको बाल्यकाल सामान्य रुपमा बित्यो। ‘बुवा–आमाले व्यापार गर्नुहुन्थ्यो। सानैबाट बुवा–आमाको प्रेरणाले मेहनत र संघर्ष के हो भन्ने सिकायो’, शर्मिला भन्छिन्, ‘आमा–बुवाको हौसलाले नै मैले शिक्षालाई निरन्तरता दिएँ। दुःख, संघर्ष र मेहनत के हो भनेर नजिकबाट नियाल्ने मौका पाएँ। आजको यो सफलतामा बुवा–आमाको ठूलो योगदान छ।’
शर्मिलाले फाइनान्समा स्नाकोत्तरसम्मको अध्ययन गरेकी छन्। नवलपरासीबाट आफ्नो एसएलजीसम्मको अध्ययन पूरा गरेर उनले बुटवलबाट स्नातकसम्मको पढाइ सकिन्। त्यसपछि शर्मिलाको विवाह भयो। विवाहपछि पनि उनले अध्ययनलाई निरन्तरता दिने मौका पाइन्। यससँगै शर्मिलाले श्रीमानको साथ र सहयोगमा काठमाडौँबाट स्नाकोत्तर पूरा गर्ने अवसर पाइन्। विवाहपछि हरेक नारीको जीवन सहज हुन्छ भन्ने हुँदैन तर शर्मिलाका लागि सहज नै भयो।
शर्मिला बीमा क्षेत्रमा आउनुअघि टिचिङ र बैंकिङ क्षेत्रमा काम गरेकी थिइन्। जागिर खाइरहेकै बेला शर्मिलालाई पुत्र लाभ भयो। अनि उनले छोरालाई समय दिनुपर्ने वातावरण सिर्जना भयो। त्यसपछि शर्मिलाले खाइरहेको जागिर छोड्नुपर्यो। शर्मिलाले आफ्नो बच्चाको लालनपालनका लागि गरिरहेको जागिर धेरैपटक छोड्न पर्यो। पछिल्लो पटक बैंकको जागिर छोडेर घरमै बसेकी शर्मिलालाई मनमा भने केही काम गर्नुपर्छ भन्ने थियो। आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ र आफैँ सक्षम हुनुपर्छ भन्ने मानसिकता बोकेकी शर्मिला बच्चासँगै पार्टटाइम काम गर्न मिल्ने अथवा स्वतन्त्र पेसाको खोजीमा थिइन्।
यसरी लागिन् अभिकर्तामा
बैंकको जागिरमा समयसीमाको टुङ्गो नहुने। शर्मिला आफू व्यस्त हुने दैनिकी्भन्दा केही फरक खालको नयाँ दैनिकीको खोजीमा थिइन्। जागिर गर्दा समयको परिधिमा बस्नुपर्ने बाध्यताभन्दा भिन्नै खालको जागिर गर्ने सोच थियो, उनको। शर्मिलालाई बालबच्चा र घरपरिवारलाई पनि समय दिन सकियोस्, स्वतन्त्र पेसा होस्, आम्दानी पनि होस् भन्ने पार्टटाइमको पेसा चाहिएको थियो। बैंकिङ क्षेत्रमा काम गरिरहेकी शर्मिलाले परिवार र बच्चालाई समय दिन नसक्दा धेरै चिन्तित थिइन्। बच्चाको हेरविचारका लागि शर्मिलाले खाइरहेको जागिरसमेत छोड्नुपर्यो। त्यही समयमा उनले बच्चालाई समय दिएर गर्न मिल्ने केही जागिर भए गर्थे भन्ने सोचेकी थिइन्।
शर्मिलाका दिदी–बहिनी बीमा क्षेत्रमा सक्रिय थिए। तर, शर्मिलालाई अभिकर्ताप्रति पहिला खासै चासो थिएन। बच्चा र घरपरिवारलाई समय दिएर गर्न सकिने जागिर भनेकै शर्मिलाका लागि अभिकर्ता पेसा उत्तम विकल्प बन्यो। ‘बरु अभिकर्ता पेसा अपनाउनुपर्यो भन्ने मेरो मनमा लाग्यो’, शर्मिलाले भनिन्, ‘त्यसपछि मेरा श्रीमानको साथी दीपक पोखरेल इन्स्योरेन्स क्षेत्रमा थिए। हामीले उहाँलाई फोन गरेर घरमा बोलायौँ र बीमाबारे बुझयौँ। उहाँले पनि तपाइँले गर्न सक्नुहुन्छ भनेर हौसला र आँट दिनुभयो। त्यसपछि स्वतन्त्र पेसाको खोजीका कारण मैले पनि यही पेसा गर्ने निधो गरेँ। अन्नतः मैले २०८१ साल जेठबाट लाइसेन्स लिई अभिकर्ता पेसालाई अँगाले।’
शर्मिलाले खोजेको र सोचेको जस्तो पेसा गर्ने सपना पूरा गरिदियो, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले। मनमा स्वतन्त्र पेसा अपनाउने मनसाय लिएर हिँडेकी शर्मिलाले अभिकर्ता आफूले सोचेजस्तो पेसा भएको बताइन्।
शर्मिलाले लाइसेन्स लिएपछिको पहिलो बीमा अफ्नै श्रीमानको गराइन्। त्यसपछि उनले साथीभाइ र इष्टमित्रको बीमा गराउँदै आइन्। ‘यो पेसामा काम गर्नलाई चुनौती पनि छ’, शर्मिलाले भनिन्, ‘चुनौतीलाई अवसरका रुपमा लिएर बजारमा बीमा गर्न जाँदा मानिसहरुबाट आएको सकारात्मक र नकारात्मक पक्षलाई मनन गर्दै अगाडि बढ्यो भने बीमा गराउन गाह्रो पनि छैन। सबै मानिस एउटै सोच–विचार भएका हुँदैनन्। त्यसकारण कतिपयले नराम्रो पनि भन्नुहुन्छ तर नराम्रो भन्नेलाई झन् बीमा बुझाएर नराम्रो भन्नेलाई बीमाका फाइदा र सकारात्मक पक्ष सुनाएर बीमा गराउनुपर्छ।’
इन्स्योरेन्स भनेपछि अहिले पनि कतिपय मानिस बुझ्न नखोज्ने शर्मिलाको अनुभव छ। कतिपयले त सहकारीसँग पनि तुलना गर्ने उनको भनाइ छ। उनले थपिन्, ‘तर, म चाहिँ बैंकमा काम गरेको भएर पनि होला बीमा र सहकारी तथा बैंकबीचको फरक छुट्याएर बीमा बुझाउन सजिलो भएको छ। बैंकमा बचत मात्रै हुन्छ भने बीमा कम्पनीमा बचतका साथै जोखिम कभर पनि हुन्छ। त्यो चाहिँ हामीले राम्रोसँग बुझाउनुपर्छ।’
अभिकर्ता पेसाप्रति सन्तुष्ट
अभिकर्ता धेरै राम्रो पेसा रहेको शर्मिला बताउँछिन्। ‘म धेरै खुसी छु। मैले जे सोचेर यो पेसामा प्रवेश गरेकी थिएँ। त्योभन्दा धेरै राम्रो, सकारात्मक पाएँ’, उनी भन्छिन्, ‘मलाई पनि अभिकर्ता पेसा पहिला मन पर्दैनथ्यो। मेरा दिदी–बहिनी पनि यही पेसामा हुनुहुन्छ। तर, मलाई चासो थिएन। अहिले बीमा बुझेपछि आफैँ पेसामा प्रवेश गरेपछि मैले धेरै फरक पाएँ। म बैंकमा काम गरेको भएर बैंकको नै कुरा गर्छु, महिनाभरि काम गर्यो, तलब आउँदा अर्को महिनामा सकिसक्छ। खटाई पनि धेरै अनि समय र मेहनत धेरै गर्नुपर्ने। अभिकर्ता पेसामा आफ्नो समय, अनुकूल, बच्चा, घरपरिवार सबैलाई समय दिएर गर्न सकिने। त्यही माथि मनग्य आम्दानी, मान–सम्मान र इज्जत पाइने। अनि बीमा गराउनुहोस् भन्दै हिँड्नु समाजसँग जोडिएको पेसा पनि भयो त्यो हिसाबले पनि म धेरै आकर्षित भएँ। धेरै खुसी छु। साँच्चै दीर्घकालीन सोच लिएर यो पेसा अपनाउनेले छिट्टै सफलता पाउँछ। हरेक व्यक्तिका लागि यो पेसा उत्तम छ। पार्टटाइम काम गरेर पनि आम्दानी गर्न सकिन्छ।’
पहिला आफूले नबुझेर होला बीमालाई बेवास्ता गरेको शर्मिलाले सुनाइन्। ‘पछि मेरी सासुआमालाई क्यान्सर भयो अनि उपचार गराउने क्रममा सबैले बीमा छैन ? भनेर सोध्नुहुन्थ्यो तर हामीले बीमा गरेका थिएनौँ। आमालाई क्यान्सर रोग लागेपछि बल्ल हामीले बीमा गर्नुपर्ने रहेछ भन्ने बुझ्यौँ’, उनले भनिन्, ‘अनि म यही कारण पनि पेसामा आकर्षित भएँ। म यो पेसामा आएको बल्ल ७ महिनाजति भयो तर मैले ३ वर्षमा तलबबाट गर्ने कमाइ ७ महिनामै यो पेसाबाट गरिसकेँ।’
अभिकर्ता पेसामा लागेपछि शर्मिलाको जीवनमा धेरै परिवर्तन आए। ‘जीवन बीमा अभिकर्ता पेसामा आबद्ध भएपछि सबै तह र तप्काका मान्छेसँग भेट्ने अवसर मिल्यो। जनसम्पर्क बढ्यो। कोसँग कसरी बोल्ने भन्ने थाहा भयो, हरेक मान्छेहरुको व्यवाहर थाहा पाएँ’, शर्मिला भन्छिन्। पहिला मासमा बोल्न नसक्ने शर्मिला अहिले सबैसँग खुलेर बोल्न सक्ने भएकी छन्। यस व्यवसायले आफूलाई अथाह सफलता दिलाएको उनको भनाइ छ। बीमा व्यवसायमा लागेकाहरुका लागि सफल उदाहरणसमेत बन्न उनी सफल भइन्। आर्थिक रुपमा सबल र सक्षमसमेत भइन्।
‘जुनसुकै पेसामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन्। आर्थिक पक्ष एकदमै राम्रोसँग विकास हुनु अभिकर्ता पेसाको राम्रो पक्ष हो’, शर्मिलाको भन्छिन्, ‘निरन्तर रुपमा लागि परेर काम गर्ने अभिकर्ताले समाजमा नाम कमाउन सकिन्छ।’ तर, यो पेसालाई २–४ महिना गरेर छोडनुभन्दा पनि मुख्य पेसा बनाएर काम गर्यो भने अवश्य सफल हुने उनको भनाइ छ। अभिकर्ताले आफ्नो फाइदाका लागि भन्दा पनि बीमितको हितमा काम गर्नुपर्ने उनी बताउँछिन्।
नवप्रवेशीहरुलाई शर्मिलाको सुझाव
बीमा अभिकर्ता पेसा उत्कृष्ट पेसा रहेको शर्मिला बताउँछिन्। यस पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले सोचेभन्दा राम्रो रहेको उनकोे सुझाव छ। यत्तिकै घरमै बसिरहेकाहरुलाई शर्मिलाले बीमा अभिकर्ता बनेमा भविष्य उज्ज्वल छ भन्न चाहन्छिन्। ‘अझ गृहिणीका लागि यो पेसा उत्कृष्ट छ। धेरै पैसा कमाउँछु, विदेश जान्छु भन्नेहरुलाई पनि अभिकर्ता बनेर नेपालमै काम गरे विदेशमा कमाइ हुने पैसा यही पेसाले दिन्छ’, उनले भनिन्।
अभिकर्तामा हुनुपर्ने गुण
सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने तर्क शर्मिलाको छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनले बताइन्। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्ने उनको अनुभव छ। ‘यस पेसामा धैर्यता, मेहनत, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा हुनुपर्छ’, उनले भनिन्, ‘अभिकर्ता पेसामा सफल हुनका लागि निरन्तरता, इमानदारिता र सहनशीलता हुनुपर्छ।’
शर्मिलाले कम्पनीले दिने हरेक टार्गेट मिट गरेकी छन्। कम्पनीमा प्रवेश गरेको डेढ महिनामै शर्मिलाले डाइमन्ड क्लबमा क्वालिफाइड भएकी थिइन्। त्यस्तै, उनी एमडीआरडीसमेत बन्न सफल भइसकेकी छन्। यो सबै सफलताको देन भनेको सिटिजन लाइफ र आफ्ना श्रीमान रहेको उनले बताइन्। सिटिजन लाइफमा उनलाई सबैले सहयोग गरे बीमा नबुझ्दा बीमा बुझाएरसँगै डोर्याए। कम्पनीले विभिन्न क्षमता अभिवृद्धि तालिम दिएको छ। यसका लागि कम्पनीप्रति आभार व्यक्त गर्दै शर्मिलाले आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्।