IME Life
GBIME

झुक्किएर अर्कैलाई गरेको फोनबाट बीमामा चम्कियो आकाशको करिअर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हरेक मानिसले जीवनमा सफलता हासिल गर्न फरक–फरक सपना देखेका हुन्छन्। तिनै सपना साकार पार्न उनीहरु योजना बनाएर अगाडि बढिरहेका हुन्छन्। मानिसले सोचेजस्तो सबै कुरा थोक कहाँ पूरा हुन्छ र ? जीवनमा आइपर्ने विभिन्न मोड, घटनाक्रम अनि अनेकन परिस्थितिले कतिपय मानिसको सपना चकनाचूर हुन्छ भने कतिपयको सकार पनि हुन्छ। जीवनमा कसैले कलाकार त कसैले डक्टर वा इन्जिनियर र खेलाडी बन्ने सपना देखेका हुन्छन्। आफूले देखेको सपनालाई विपनामा परिणत गरेर कतिपय मानिस सफल हुन्छ भने कतिपय असफल पनि हुन्छन्। ठीक विपरीत कतिपयले नसोचेको पेसा अपनाएर पनि सफलता हासिल गरेका हुन्छन्। यस्तै आफूले सोच्दै नसोचेको पेसा अपनाएर पनि सफलता पाएका व्यक्ति हुन्, आकाश पाण्डे।

हाल आकाश सिटिजन लाइफको जनकपुर क्षेत्रको क्षेत्रीय प्रबन्धकको भूमिकामा छन्। उनको क्षेत्रमा हाल सिटिजन लाइफको ६ वटा शाखा कार्यालय छन्। उनले आफ्नो क्षेत्रमा रहेका ६ वटा शाखा कार्यालयको निगरानी तथा सुपरिवेक्षण गर्छन्। आकाशले आफ्नो क्षेत्रमातहतमा रहेका शाखाहरुमा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने र गराउने, कर्मचारीको क्षमता विकासका लागि समय–समयमा आफ्नो क्षेत्रका विभिन्न शाखामा तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका काम गर्दै आइरहेका छन्। यतिमात्रै नभई आकाशले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो क्षेत्रका विभिन्न ठाउँमा गएर बीमा शिक्षा र सचेतना वृद्धि हुने खालका अभियानसमेत सञ्चालन गर्छन्।

Crest

आकाश जनकपुर उपमहानगरपालिका–९ मा जन्मिएका हुन्। उनको बाल्यकाल सामान्य रह्यो। बाल्यावस्थामा आफ्ना हरेक आवश्यकता बुवा–आमाले पूरा गरिदिएको आकाश बताउँछन्। बाल्यकालमा उनले कुनै पनि दुःख खेप्नुपरेन। उनले स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। आकाशले आफ्नो जन्मथलोबाट एसएलसीसम्मको अध्ययन गरे। त्यसपछि उनले इन्टर काठमाडौँबाट गरे भने ब्याचलर इन्डियाबाट पूरा गरे।

सानैबाट खेलप्रति लगाव भएका आकाश खेलकुदसम्बन्धी तालिमको सिलसिलामा प्लस टु सेकर इन्डिया पुगेका थिए। सोही क्रममा आकाशले इन्डियामै ब्याचलर ज्वाइन गरे। त्यसपछि उनी उतै बस्दै आए। स्नातकसम्मको अध्ययन पूरा गरेर नेपाल फर्केपछि आकाशले केमिकल सप्लाएरको बिजनेस सुरु गरेका थिए। सधैँ खेलकुदमा मात्रै ध्यान दिने आकाशलाई परिवारले पनि खेलबाहेक केही काम गरे हुन्थ्यो भन्ने सोचेका थिए। सोही समयमा आकाशले आफ्नै व्यापार सुरु गरे। त्यो व्यापार पनि आकाशले २ वर्षमात्रै गरे।

आकाश अहिले पनि खेलकुदमा सक्रिय नै छन् । उनी हाल जनकपुर जिल्ला क्रिकेट संघको उपाध्यक्ष तथा मधेश प्रदेश क्रिकेट विकास समितिको सदस्य हुन् ।

यसरी सुरु गरे इन्स्योरेन्सको यात्रा
आफ्नो लक्ष्यभन्दा धेरै बाहिरको संसारमा घुमिरहेका आकाशले आफ्नो केमिकल व्यापारलाई छाड्ने निधो गरे। बुवा–आमाले पनि खेलाडी मान्छे एउटा राम्रो जागिर गर भनिरहन्थे। ‘समयसीमा र अनुशासन हुन्छ जागिरमा। त्यस्तो जागिर गर’ भनेर घरबाट आकाशलाई भनिरहेका थिए। ‘मैले गरिरहेकोे कामभन्दा फरक अनुशासनमा बस्ने काम छोराले गरिदिएहुन्थ्यो भनेर बुवाले भन्नुहुन्थ्यो’, आकाशले भने, ‘हरेक बुवा–आमाले सन्तानले राम्रो गरेकै त हेर्न रुचाउनुहुन्छ नि, हो त्यस्तै मेरा बुवा–आमाले पनि राम्रो हेर्न चाहनुहुन्थ्यो। तर, म भने सधैँ खेलकुदमा व्यस्त रहन्थे।’

सोही क्रममा एकजना गाउँका दाइ एनजीओ काम गर्नुहुन्थ्यो अनि आकाशले पनि आफ्नो जागिरका लागि उनै दाइलाई कुरा गर्न फोन गरे। तर, त्यो फोन आईएनजीओको चिनेको गाउँले दाइलाई नगई सोही नाम गरेको साविक सूर्य लाइफको मान्छेकोमा पुगेछ। अनि आकाशले त्यो गलत नम्बरमा फोन पुगेको दाइसँग जागिरका लागि भेटे। तर, ती दाइले इन्स्योरेन्सका बारेमा कुरा गरे। अनि आकाशलाई मनमनै ‘ए यो मान्छे त इन्स्योरेन्सबाट पो रहेछ भन्ने भयो।’ त्यही पनि उनले ती इन्स्योरेन्स कम्पनीको दाइको कुरा सुनेर बसे। ‘कुरा सुन्दै जाँदा त मलाई पनि राम्रो लाग्यो। अनि ती इन्स्योरेन्सवाला दाइले पनि बीमा क्षेत्र राम्रो भन्नुभयो। काम गर्न सक्छौ भनेपछि साविक सूर्य लाइफमा जागिर पक्का गरेर फर्किंएँ।’

त्यसपछि आकाशले २०६९ सालबाट साविक सूर्य लाइफमा बिजनेस डेभलपमेन्ट कोअर्डिनेटरको भूमिकामा रही काम गर्न थाले। उक्त कम्पनीमा पनि उनले राम्रो प्रदर्शन गर्दै आए। मेहनत र कामप्रतिको लगावले उनलाई छिट्टै सफलता मिल्यो। साविक सूर्य लाइफका प्रवेश गरेको ६ महिनामा उनको स्थायी नियुक्ति भएको थियो भने १ वर्षमा प्रोमोसन भएको थियो।

खेलाडी भएका कारण पनि आफूलाई बीमा क्षेत्रमा सबैले विश्वास गरेको आकाश बताउँछन्। उनले थपे, ‘बीमा बजार भनेको नै विश्वासको बजार हो। कम्पनीले राम्रो सेवा–सुविधा, राम्रो पोलिसी ल्याएर जब ग्राहकलाई विश्वास बेच्न सक्छ तबमात्रै बीमा बजार राम्रो हुन्छ। हो मलाई चाहिँ खेलागडी भएको नाताले पनि यसले राम्रो गर्छ भन्ने विश्वासका कारण मलाई बीमा क्षेत्रमा टिक्न र अगाडि बढ्न सजिलो भयो।’

‘मेरो समयमा खेल क्षेत्रमा फाइनान्सियल राम्रो हुँदैन थियो। ‘बीमा क्षेत्रमा आएपछि खेल खेलेर राम्रो गरेछु भन्ने लाग्यो किनकि खेलकै कारण मलाई सबैले बीमा क्षेत्रमा विश्वास गरे भन्ने लाग्छ। खेलले मलाई बीमा क्षेत्रमा धेरै सहयोग पुर्यायो। खेलमा समय, सीमा, आदार, सत्कार, अनुशासनलगायतका धेरै कुरा सिकाइएको हुन्छ। त्यो कुराले मलाई बीमा क्षेत्रमा धेरै हेल्प गर्यो’, उनले भने, ‘खेलबाटै मैले टार्गेट मिट गर्नुपर्छ भन्ने सिकेको थिएँ। बीमामा पनि त्यही थियो। लक्ष्य बनाएर हिँड्नुपर्छ भन्ने सिकेको थिएँ। बीमामा पनि त्यही लागू भयो हो। यस्तै धेरै कुराले मलाई सहयोग गर्यो। यसमा म धेरै खुसी छु।’

साविक सूर्य लाइफमा साढे २ वर्ष बढीको यात्रालाई बिट मारेर आकाशले सिटिजन लाइफलाई रोजे। आकाश सिटिजन लाइफ स्थापनाको सुरुआती दिनबाटै कम्पनीमा आबद्ध भएका थिए। उनी कम्पनीका पुराना कर्मचारीमध्येका एक हुन्। सुरुमा सिटिजन लाइफको जनकपुर शाखाका शाखा प्रबन्धकको भूमिकामा सिटिजन लाइफ प्रवेश गरेका आकाशले धेरै चुनौती, बाधा अनि अवरोध छिचोल्दै आज रिजनल म्यानेजरको जिम्मेवारी निभाइरहेका छन्।

आकाशलाई पहिलाबाट नै काम गरेपछि रिजल्ट पाइने, भ्यालु हुने र अर्थ हुने काम गर्न मन लाग्थ्यो। उनले त्यो नै बीमा क्षेत्रमा पाए। ‘बीमा कम्पनीमा काम गर्नु भनेको सामाजिक पेसामा जोडिनु नै हो। यसबाट पनि समाज सेवा भइरहेको हुन्छ। कसैको जीवनको सुरक्षाका लागि हामी खटिरहेका हुन्छौँ’, आकाश भन्छन्, ‘यो सामाजिक भाव हो। यसले गर्दा पनि मलाई यो पेसामा उत्प्रेरणा मिलेको छ।’

आकाशलाई काम गर्दा रमाएर गर्न मन लाग्छ। उनले भने, ‘जुन काम गर्दा पनि हामी खुसी भएर कामलाई रमाएर गर्यौं भने त्यसमा नतिजा पनि हात पर्छ। काम दबाबमा गर्यो भने न त्यसमा रिजल्ट राम्रो आउँछ न त काम गर्ने मान्छे नै खुसी हुन्छ। त्यसकारण बीमा कम्पनीको काम भनेको चाहिँ रमाएर, घुमेर, मानिसहरुसँग विचार तथा भावना साटेर गर्न पाइने भएकाले पनि मलाई यो क्षेत्र राम्रो लाग्छ। म धेरै सन्तुष्ट छु। आफ्नो सपनाको क्षेत्रभन्दा बाहिरको पेसामा मलाई यति सफलता पाउँछु भन्ने नै लागेको थिएन।’

मानिसहरुमा पहिलाभन्दा बीमा बुझाइ फराकिलो भएको आकाशको भनाइ छ। ‘बीमा प्राधिकरणले प्रादेशिक कार्यालयमार्फत बीमा साक्षरता अभियान सञ्चालन गरिहरहेको छ। बीमा कम्पनीहरुले पनि ठाउँ–ठाउँमा गएर बीमा साक्षरता अभियान सञ्चालन गरेका छन्। यो हिसाबले पनि मानिसमा बीमा बुझाइ पहिलाभन्दा धेरै राम्रो विकास भएको छ’, आकाशले भने, ‘आर्थिक हिसाबले बीमामा केही हदसम्म प्रभाव पार्छ तर त्यसमा जनचेतनाको पनि महत्व उत्तिकै हुन्छ। किनकि जनचेतना भएर पनि कसैसँग बीमा गर्न पैसा हुँदैन। तर, कोहीसँग जनचेतना हुँदैन तर पैसा धेरै हुन्छ। हो बीमा गर्न पैसा र जनचेतना दुवै हुनुपर्छ।’

आफ्नो जिम्मेवारी पूरा गर्न हरेक व्यक्तिलाई चुनौती हुने आकाशको भनाइ छ। उनले भने, ‘हरेक चुनौतीलाई सामना गर्दै अगाडि बढ्यो भने हरकोही पनि सफलता पाउँछन्। अहिलेको बीमा बजारमा प्रतिस्पर्धा छ। तर, स्वस्थ प्रतिस्पर्धाबाट राम्रा प्रडक्टहरु बेचेर विश्वास नै बेच्नुपर्छ। आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न म सधैँ लागिपरेको हुन्छु।’

आकाशको विचारमा प्राधिकरणले अहिले बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गरेको यो पनि बीमा क्षेत्रका लागि धेरै राम्रो कुरा हो। ‘किनकि परीक्षामार्फत अभिकर्ता बीमा कम्पनीमा आउँदा प्रोफेसनल अभिकर्ता आउने भए। एउटा कम्पनीमा मात्रै काम गर्न पाउने बीमा प्राधिकरणको निर्देशनले गर्दा पेसा मर्यादित बनेको छ’, उनले भने, ‘व्यावसायिक अभिकर्ताको विकास भयो। यो धेरै राम्रो कुरा हो।’

अभिकर्ता सबल र सक्षम भएर मार्केटमा जानुपर्ने आकाशको सुझाव छ। अभिकर्तालाई कम्पनीले समय–समयमा क्षमता अभिवृद्धि तालिम दिएर सक्षम बनाउनुपर्नेमा उनको जोड छ। ‘च्यालेन्जलाई स्वीकार गर्न सक्ने अभिकर्ता बीमा बजारमा हुनुपर्छ। यस्तो अभिकर्ता भयो भने बीमा बजारलाई फाइदा हुन्छ’, उनले भने, ‘सिटिजन लाइफले धेरै अभिकर्तालाई नै प्राथमिकतामा राखेको हुन्छ। कम्पनीको प्रतिनिधि पात्र नै अभिकर्ता भएको हुनाले हामीले अभिकर्तालाई कसरी सक्षम बनाउने भन्ने मै जोड दिन्छौँ। ’

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्याले गर्दा कतिपय मानिसहरुले सहकारीले जस्तै बीमा कम्पनीले पनि पैसा खाएर भाग्छ होला भन्नेहरु बजारमा प्रशस्त रहेको आकाश बताउँछन्। ‘कतिपयले बीमा कम्पनीलाई सहकारीसँग जोड्न खोज्छन् तर उनीहरुलाई बीमा र सहकारीबीचको फरक भन्यो भने फेरि कतिपयले बीमा बुझ्छन् पनि’, उनी भन्छन्, ‘त्यसकारण पनि बीमा साक्षरतामा अझै पनि जोड दिनुपर्छ।’
‘जीवन बीमा प्रत्येक व्यक्तिको बचतका आधार पनि हो’, आकाशले भने ‘बीमाले बचतको ग्यारेन्टी गर्छ। बीमा बचत र लगानी दुवै हो। बीमाले आजमात्रै होइन भोलिका लागि पनि सुरक्षा प्रदान गर्ने भएकोले बीमा सबैका लागि अपरिहार्य छ।’ सबैले बीमा गर्दा बुझेर र बुझाएर गर्नुपर्ने उनको सुझाव छ।

डिजिटल अवधारणामा बीमा क्षेत्रकै पहिलो कम्पनी सिटिजन लाइफ भएकोले बीमा गराउन र गर्न सहज भएको आकाश बताउँछन्। सिटिजन लाइफमा सिस्टम राम्रो रहेको उनको भनाइ छ। ‘बीमितको पैसा खान्छन् कि अभिकर्ताले ठग्छन् कि भन्न पर्दैन। किनकि सिटिजन लाइफले डेली कल रिपोर्ट राखेको हुन्छ। अभिकर्ताले बीमा गराएको भरमा हामीले त्यतिकै छोडेको हुँदैनौँ, हामीले त्यसमा पनि इन्क्वाइरी गर्छौं’, उनले भने, ‘सिटिजन लाइफले अनलाइन कारोबारमा जोड दिने भएकाले व्यवस्थित सिस्टम बनेको छ।’

‘डिजिटल भएपछि मानिसमा विश्वास बढेको छ’, आकाशले भने ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाट नै हुन्छ। यो हुँदा ग्राहकलाई पनि सहज र बीमा कम्पनीलाई पनि सहज हुन्छ।’

सिटिजन लाइफमा प्रवेश गरेपछि पनि विभिन्न अवार्ड प्राप्त गरेको आकाश बताउँछन्। उनले टप ब्रान्चभित्र परेर सम्मानित र डिजिटल कारोबार गर्नेमा टप ब्रान्च भएर सम्मान पाएको बताए।

सिटिजन लाइफका बारेमा भन्न कुनै शब्द नै नरहेको आकाशले बताए। ‘कम्पनी धेरै राम्रो छ। मैले भन्नुभन्दा पनि हाम्रा ग्राहकले विश्वास गरेका छन्। बीमा बजारमा यस कम्पनीले छुट्टै छाप बनाएको छ। विश्वासिलो कम्पनी बनेको छ’, कर्मचारी क्षमता अभिवृद्धिका लागि कम्पनीले गरेको कामप्रति उच्च सम्मान गर्दै उनले भने, ‘कम्पनीले अभिकर्तादेखि कम्पनीका हरेक कर्मचारीलाई तालिम दिएर सक्षम बनाएको छ। कम्पनीले हामीमाथि गरेको लगानी र विश्वासलाई हामीले पनि खेर जान दिने छौनौँ।’

हौसला र प्रेरणा दिने उच्च व्यवस्थापन टिमलाई धन्यवाद दिँदै आकाशले आगामी दिन ग्राहकमुखी भएर काम गर्दै कम्पनी अब्बल बनाउने प्रतिबद्धता व्यक्त गरे।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS