काठमाडौं । जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूर्ण सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छन् । बीमालाई धेरै मानिसले बुझेका छैनन्, बुझ्नेले पनि अधुरो अपुरो बुझेका हुन्छन् । अझै पनि बीमालाई एकथरी जुवाको रूपमा बुझ्ने पनि छन् ।
बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐन अनुसार स्थापित हुन्छन् । तिनलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा प्राधिरकणले नियमन, अनुगमन र नियन्त्रण गर्छ । बीमितको लगानी सुरक्षित राख्नका लागि बीमा कम्पनीको दायीत्व बराबरको रकम नियामकले पूँजी र बचतको माध्यमबाट सुनिश्चित गर्न लगाउँछ । सहकारी संस्था जस्तो कमजोर नियमन र सुशासन हुने नभएर प्रभावकारी नियमन र सुशासनका कारण तुलनात्मकरुपमा जीवन बीमा कम्पनीहरु सुरक्षित हुन्छन् । बीमा कम्पनी आफैंले पनि आफ्नो दायीत्वको पूनर्बीमा गरेको हुन्छ । यसले गर्दा आफूले थेग्न सक्ने भन्दा बढी क्षतिपूर्ती दिनुपर्ने अवस्थामा बीमा कम्पनीले पुनर्बीमा कम्पनीबाट रकम दाबी गर्छ, बीमितलाई भुक्तानी दिन्छ।
बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायीत्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकृया नै बीमा हो । मानवीय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहिँतहिँ रहन्छ । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुनसक्छ । अथवा दुर्घटना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ, कसैलाई थाहा हुँदैन । त्यसैले पनि बीमा सबै र सधैंका लागि अपरिहार्य मानिन्छ ।
अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुर्घटनाले ग्रसित व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमाशुल्क भुक्तानी गरेर त्यस्तो घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित करार हो ।
बीमा; बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रकृयामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । तोकिएको अवधिमा बीमा गरिएको सम्पत्ती वा जीवनमा कुनै क्षति भएको अवस्थामा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ ।
यस्ता छन् बीमा गर्नुका १० फाइदाः
बचत गर्न प्रोत्साहनः जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाई–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ, तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनशको रूपमा प्रतिफल प्राप्त भई रहने भएकाले जीवन बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ ।
जोखिम न्यूनीकरण हुन्छः जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि आइपर्न सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्तिपछिको आर्थिक नोक्सानीको भरपाई पाईन्छ ।
भविष्यको आर्थिक सुरक्षाः जीवन बीमा आफैंमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्नुपर्छ र अन्त्यमा बोनश सहित भुक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।
बीमितको मृत्युपछि आर्थिक संकटमा राहतः हाम्रो जस्तो मुलुकमा यसको महत्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर, उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसका परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।
आयकरमा छूटः बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट कर छुटका लागि तोकिएको बीमाशुल्क रकम कटाएर बाँकी रहने रकममा मात्र आय कर लाग्छ । नेपालमा हाल जीवन बीमाशुल्कवापत ४० हजार रुपैयाँसम्मको खर्च वार्षिक करयोग्य आयबाट कट्टा गर्न पाइने सुविधा छ।
बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथीः निश्चित अवधिसम्म बीमा बीमाशुल्क जम्मा त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेशकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव हुँदैन । कुनै दुर्घटनामा परेर स्थायी अपाङ्गता भएको वा अशक्तता भएको अवस्थामा पनि जीवन बीमाले मासिक खर्चवापत निश्चित रकम भुक्तानी गरिरहन्छ।
सम्पत्ति धितो बिना ऋण पाइनेः जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई जीवन बीमालेख नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको २ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ ।
सामाजिक प्रतिष्ठामा वृद्धिः बीमा गर्ने मानिसको समाजमा छुट्टै प्रकारको प्रतिष्ठा हुन्छ किनकी बीमा गर्ने मानिस निश्चिन्त र ढुक्क हुन्छ । भविष्यप्रति विभिन्न प्रकारका प्रलेख बीमा गराएर ऊ ढुक्क भएको हुन्छ र वृद्ध अवस्थामा पनि आनन्दले दिन बिताउन सक्छ ।
शिक्षा, दिक्षा र विवाहको व्यवस्थाः आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्थाका साथै विवाहको लगायतका सामाजिक प्रचलनका लागि ठूलो खर्च आईलाग्ने भएकोले अभिभावकलाई यसको बोझ हल्का पार्न बीमावापतको पैसा सदुपयोग गर्न सकिन्छ ।
लाभदायक लगानीः जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो। तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा जीवन बीमालेख इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ। मूल बीमा रकम र पाकेको बोनश रकम समेत कम्पनीले भुक्तानी गर्छ।
जीवन बीमा सबैको लागि अपरिहार्य नै रहेको छ । बीमाले आज जीवित हुँदा र भोलि नहुँदा समेत मानव जीवनको रक्षावरण गर्ने भएकाले जीवन बीमा एक आधारभूत आवश्यक्ता बन्दै गएको छ।