IME Life
GBIME

असईमा नाम निस्के पनि भर्ती भएनन्, अहिले बीमामा मग्न महेन्द्र

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन्, महेन्द्रप्रसाद उप्रेती। उनी पेसाले एजेन्सी म्यानेजर हुन्। महेन्द्र हाल सिटिजन लाइफको विर्तामोड शाखामा सिनियर एजेन्सी म्यानेजरको भूमिकामा रही काम गर्दै आइरहेका छन्। महेन्द्र सबैमाझ बीमा शिक्षा पुर्याउने हेतुले बीमा सचेतना बाढ्दै बीमा गराउँदै हिँड्ने गरेका छन्।

महेन्द्रको जन्म झापाको तत्कालीन लखनपुर ठुलो बाह्रघरे भन्ने ठाउँमा भएको हो। हाल उनको बसोबास भने दमक नगरपालिका ८ मा रहेको छ। महेन्द्र २०३१ सालमा जन्मिएका हुन्। संयुक्त परिवारमा जन्मिएका महेन्द्रको बाल्यावस्था सुखद् रुपमा नै बित्यो। परिवारमा धेरैजना सदस्य भएका कारण पनि महेन्द्रले सानो उमेरमा दुःख गर्नु परेन। महेन्द्र खेल्दै, खादै र पढ्दै मायामा हुर्किए।

Crest

महेन्द्रले एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरे। उनको सपना थियो कानुन पढ्ने। त्यही सपना पूरा गर्नका लागि महेन्द्रले एसएलसीपछि राजविराज गएर इन्टरमा कानुन विषय अध्ययन गरे। उनले कानुन विषयमा इन्टर राजविराजबाट पास गरे। त्यसपछि स्नाकोत्तर पढ्न कता जाने भन्ने थियो। इलाम गएर स्नाकोत्तर गर्ने सोच बनाए पनि अन्ततः महेन्द्रले काठमाडौंमा आएर बीएल गरे। बीएल पढ्दा–पढ्दै उनले असईमा नाम निकाल्न सफल भएका थिए। तर, त्यो समयमा द्वन्द्व चलिरहेको भएर नाम निस्के पनि उनी असईमा भने भर्ती भएनन्।
त्यसपछिका दिनहरुमा महेन्द्रले हरेक क्षेत्रमा काम गर्न खाजे। ‘फिल्म बनाउने भनेर तालिम लिइयो, सुटिङ गर्ने अनेकन गरियो तर कुनै क्षेत्रमा पनि दिगोपन भएर काम गर्न सकिएन’, उनले भने, ‘काम गर्न त धेरै क्षेत्रमा प्रयास गरेका थियौँ। साथीभाइ मिलेर तर कतै पनि केही गर्न सकिएन। अनि म विदेश गएँ।’

यसरी जोडिए बीमा क्षेत्रमा
विदेशी भूमिमा आफ्नो पसिना बेचिरहेका महेन्द्रको घरमा इन्स्योरेन्स गर्नपर्यो भनेर नेसनल लाइफबाट एकजना अभिकर्ता आएका रहेछन्। अनि परिवारले पनि बीमा गराउन मान्छे आउनु भएको छ भनेपछि २०६३ सालमा उनले आफ्नो परिवारको बीमा नारायण भण्डारीमार्फत नेसनल लाइफमा गराए। त्यसलगतै महेन्द्रको विदेशबाट फर्किने समय पनि भएको थियो। विदेशमा हुँदा बीमा बुझेका थिएनन्। बीमा राम्रो नै होला भनेर उनले आफ्नो परिवारको बीमा गराएका थिए। पछि नेपाल आएपछि उनले बीमाबारे चासो राखे। अनि आफ्नो परिवारको बीमा गराउने अभिकर्ता नारायण भण्डारीले ‘अभिकर्ता बनेर काम गर्नुस् न त। राम्रो छ। आम्दानी पनि हुन्छ। सामाजिक काम पनि हो। अरुको सेवाका लागि अरुको भलाइका लागि आफूले काम गर्न पाउनु सामाजिक काम पनि हो। अनि आम्दानी पनि हुन्छ’ भनेपछि महेन्द्रले अभिकर्ता तालिम लिए। त्यसपछि महेन्द्रले २०६६ सालमा नेसनल लाइफबाट लाइसेन्स लिएर अभिकर्ता भएर काम गर्न थाले।

लाइसेन्स लिएपछि उनले सुरुमा आफ्नो परिवारको बीमा गराएको हुनाले सुरुको बीमा गर्न गाह्रो नभएको बताउँछन्। लाइसेन्स लिएपछि महेन्द्रले एक वर्षसम्म सक्रिय भएर काम गरे। त्यसपछि २–३ वर्षजति सामान्यमात्रै बीमा गराए। उनलाई यो पेसा खासै गर्न सकिने पेसाजस्तो लागेन र आकर्षण घट्दै गयो। योबीच महेन्द्रले सहकारीको अध्यक्ष भई सहकारीमा लागे। उनको आफ्नै फेन्सी पसल र मोबाइल पसल पनि भएका कारण आफ्नो व्यापार र सहकारीमा गएर दिन बिताउने गरेका थिए।

समयको अन्तरालसँगै महेन्द्रको सिटिजन लाइफका विपीन खरेल भन्ने सरसँग भेट भयो। त्यो भेटमा महेन्द्रलाई उनले ‘सिटिजन लाइफमा आउनुस्, मिलेर काम गरौँला। कम्पनी पनि राम्रो छ। बीमा पोलिसीहरु पनि राम्रा छन्। तपाइँले गर्न सक्नुहुन्छ’ भनेर सिटिजन लाइफको प्रडक्ट र समग्र बीमा क्षेत्रबारे बुझाए। त्यसपछि महेन्द्रले ‘हुन्छ गर्छु’ भनेर आँट र हिम्मतका साथ २०७६ सालमा सिटिजन लाइफमार्फत एजेन्ट भूमिकामा रही काम गर्न थाले।

त्यसपछि महेन्द्र सिटिजन लाइफको विभिन्न तालिममा सहभागी भए। ‘एक वर्षसम्म मैले आफ्नो व्यापारका कारण खासै समय दिन सकिनँ’, उनले भने, ‘अनि व्यापारलाई पनि समय दिएर इन्स्योरेन्समा पनि समय दिएर विभिन्न तालिममा सहभागी भई सिटिजन लाइफमा तोपबहादुर राणा सरको तालिम लिएपछि मलाई कामप्रति ऊर्जा मिल्दै गयो। त्यसपछि म सफल भएँ। बीमा गराउन सकेँ। अहिले म यो पेसाबाट सन्तुष्ट छु।’
अभिकर्ता पेसामा प्रवेश गरेपछि आफ्नो जीवनशैलीमा नै परिवर्तन पाएका महेन्द्र यो पेसाप्रति सन्तुष्ट छन्। ‘यो पेसामा लागेपछि हरेक तह र तप्कामा मानिससँग भेट हुने अवसर मिल्यो। सबैलाई बीमा ज्ञान बाँड्ने पाएँ। यो नै मलाई खुसी लाग्छ’, उनले भने।

विर्तामोड शाखाकी जमुना कटुवालको प्रेरणा र हौसलाले गर्दा उनले सफलता पाएको बताउँछन्यो  पेसाले समाजमा हेर्ने दृष्टिकोण फेरिएको महेन्द्र बताउँछन्। त्यतिमात्रै होइन आर्थिक रुपमा पनि उनी सक्षम हुन पुगेका छन्। अभिकर्तालाई सामाजिक पेसाका रुपमा हेर्ने महेन्द्र भन्छन्, ‘बीमा अभिकर्ता पवित्र पेसा हो, अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छन्।’

एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुणहरु हुनु पर्ने महेन्द्रको तर्क छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनको भोगाइ छ। निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यो पेसामा सफल हुन सक्ने उनले बताए।

एउटा इन्स्योरेन्स गराउन पटक–पटकसम्म पनि लागिपरिरहेको उदाहरण दिँदै महेन्द्रले अभिकर्तामा धैर्यता हुनुपर्ने बताए। ‘मेहनती, इमान्दार, सहनशीलता, धैर्यता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने गुण हो’, उनी भन्छन्।

आफू हुँदै र आफूपछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाइराख्नु बीमा रहेको महेन्द्र बताउँछन्। ‘बीमा बचत गर्ने प्रमुख आधार हो। बीमा भनेको एकदमै महत्वपूर्ण कुरा हो’, उनले भने, ‘बीमाले भोलिको भविष्यलाई सेक्योर गरेको हुन्छ। बीमा सबैका लागि अपरिहार्य छ।’
बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने महेन्द्रको भनाइ छ। ‘बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ छैन, साथै आर्थिक श्रोत के छ हेरेरमात्रै बीमाको प्रस्ताव अघि बढाउनुपर्छ’, उनले भने।

अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै महेन्द्रले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेसा राम्रो रहेको बताउँछन्। पार्ट टाइमका रुपमा गर्न सकिने, फुर्सदको समयमा गर्न सकिने भएकाले सबै क्षेत्रमा काम गर्ने, विद्यार्थी, गृहणीलगायत हरेक मानिसहरुले अवलम्बन गर्दा हुने पेसा भएकोले उनले सबैलाई आउन आग्रह गरे।

महेन्द्र २०८०।८१ का लागि डायमन्ड क्लबमा छनोट भएका छन्। उनले एक दिनमा एक पोलिसी अभियानमा पनि राम्रो व्यापार भित्र्याएका थिए। सो अभियानमार्फत पनि उनले अवार्ड पनि हात पारेका थिए। २०२४ का लागि एमडीआरटी बन्ने लक्ष्यसहित महेन्द्र अहिले कडा मेहनत र परिश्रम गर्दै आएका छन्।

‘सिटिजन लाइफको व्यवस्था पनि टिम राम्रो छ। बीमा योजनाहरु राम्रा छन्’, महेन्द्र भन्छन्, ‘समय र ग्राहक सापेक्ष योजना छन् र बजारमा हाम्रो कम्पनीले राम्रो स्थान पाएको छ। कम्पनीप्रति पनि आभारी छु। कम्पनीले मलाई यो क्षेत्रमा साथ र होसला दिएर आज यहाँसम्म पुर्याउनुमा कम्पनी ठूलो योगदान छ।’

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS