काठमाडौं । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।
धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् ।
धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।