काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म साढे ११ अर्ब रुपैयाँको व्यापार गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामा कम्पनीले ३ महिनामा ३ अर्ब ५३ करोड ६ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्।
यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्तितर्फ देखिएको छ। सम्पत्ति बीमामार्फत कम्पनीहरुले ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
तीन महिनामा विविधतर्फ कम्पनीहरुले १ अर्ब ४३ करोड १३ लाख रुपैयाँ, इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ, सामुद्रिकतर्फ ६२ करोड ९२ लाख रुपैयाँ, कृषि तथा बालीतर्फ ५८ करोड ३८ लाख रुपैयाँ, हवाईतर्फ ५४ करोड ७१ लाख रुपैयाँ र लघुतर्फ १९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।