काठमाडौं । बीमा दाबीमा हुने ठगी विश्वव्यापी रुपमा बीमकका लागि टाउको दुःखाइको विषय बनेको छ। रिइन्स्योरेन्स ग्रुप अफ अमेरिका (आरजीए) ले सार्वजनिक गरेको वैश्विक दाबी ठगी सर्वेक्षण २०२४ (ग्लोबल क्लेम फ्रड सर्भे) प्रतिवेदनमा यस्तो टिप्पणी गरिएको छ।
प्रतिवेदनमा सर्वेक्षणमा सहभागी गराइएकामध्ये ७४ प्रतिशत सहभागीका अनुसार गत वर्षको तुलनामा ठगीका घटना स्थिर रहेको वा बढेको छ। यसले बीमकका लागि दाबी ठगीको मुद्दा अझै पनि चुनौतीका रुपमा रहेको पुष्टि गरेको छ।
सन् २०१७ मा गरिएको सर्वेक्षणपछि आरजीएको यो दोस्रो सर्वेक्षण प्रतिवेदन हो। दुवै सर्वेक्षणले जीवन तथा स्वास्थ्य बीमा दाबी फर्छ्यौट गर्ने पेसाकर्मीको प्रतिक्रिया समेटेको छ। सन् २०२४ को प्रतिवेदन सन् २०२३ मा गरिएको सर्वेक्षणका आधारित छ।
सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशत एसिया प्रशान्त क्षेत्रका भएकाले सर्वेक्षण नतिजामा उनीहरुको उत्तरले ठूलो प्रभाव पारेको छ।
सर्वेक्षणले ठगीलाई तीन प्रकारमा विभाजन गरेको छ। संगठित ठगीमा आपराधिक समूह, जो बीमा दाबी नाफा कमाएर अन्य गैरकानुनी धन्दामा लगानीको जोहो गर्न उद्दत छन्। नियतवश गरिने ठगीमा गलत जानकारीहरु दिएर बीमालेख खरिद गर्ने समयमा नै भविष्यमा बीमा दाबीमार्फत ठगी गर्ने नियतले बीमा गरिएको हुन्छ। मौकापरस्त ठगीको घटना चाहिँ बीमाको जोखिमांकनका समया हुन्छ, जब बीमितले आफ्नो स्वास्थ्य अवस्थाबारे गलत जानकारी गराउँछ वा दाबीका समयमा आफ्ना शारीरिक अपांगता वा अशक्ततालाई अलि बढी दर्शाउँछ।
ठगीको अधिकांश घटना दाबी प्रक्रिया बेलामा उजागर हुने गरेको छ। जहाँ प्रत्येक ३० वटा दाबीमध्ये एउटामा ठगी फेला परेको हुन्छ। सर्वेक्षण प्रतिवेदनका अनुसार सहभागी उत्तरदातामध्ये ३५ प्रतिशतले ठगी दाबी बढेको र ३९ प्रतिशतले यथास्थितिमा रहेको प्रतिक्रिया दिएका थिए। ८५ प्रतिशत उत्तरदाताले जोखिमांकनका क्रममा हुने ठगीको संख्यामा कुनै बदलाव नभएको वा वृद्धि नभएको र १७ प्रतिशतले चाहिँ ठगी बढेको प्रतिक्रिया दिएका थिए।
को हुन् ठगी गर्नेहरु ?
सर्वेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतका अनुसार खासगरी बीमित वा ग्राहक नै ठगीका मुख्य सूत्रधार हुन्। गलत प्रस्तुति, तथ्य लुकाउने, फर्जी कागजपत्र, काम गर्न गइरहे पनि अशक्तताको दाबी गर्ने प्रवृत्ति देखिएको छ।
४१ प्रतिशत सहभागिका अनुसार दाबीमा हुने ठगीका पछाडि दोस्रो मुख्य कारक बीमा अभिकर्ता हुन्। उनीहरुले नै बीमितलाई फर्जी प्रमाणका आधारमा दाबी गर्न सिकाउने गरेका छन्। २३ प्रतिशत सहभागीका अनुसार चिकित्सकले पनि स्वास्थ्य जाँचसम्बन्धी कागजात र मेडिकल अभिलेखमा छेडछाड गरेर बीमितलाई फर्जी दाबीमा सघाउँछन्।
५० प्रतिशत उत्तरदाताले जीवन बीमाअन्तर्गत खासगरी मृत्यु दाबीमा ठगीको उच्च सम्भावना रहने गरेको प्रतिक्रिया दिएका छन्। यसैगरी २७ प्रतिशतले स्वास्थ्य बीमा दाबीमा ठगीको सम्भावना रहेको बताएका थिए। ९ प्रतिशत सहभागीले घातक रोगको उपचारको दाबीमा ठगी हुने प्रतिक्रिया दिएका थिए।
बीमा दाबीमा हुने ठगीले बीमा दाबी प्रक्रियालाई अनावश्यक रुपमा लम्ब्याउँछ। बीमा दाबी फर्छ्यौटका लागि कुल ३ साता निर्धारण गरिएकोमा औसत अवधि ६८ दिन पुगेको छ। दाबी फर्छ्यौट गर्नुपूर्वको अनुसन्धानमा संलग्न बीमाकर्मीहरुले बाह्य पक्ष जस्तै चिकित्सक, अनुसन्धान अधिकारी, स्वास्थ्य संस्था, छिमेकी, प्रहरी कार्यालयलगायतसँग दाबीको सम्बन्धमा विस्तृत जानकारी माग गर्नुपर्दा ढिलो हुने गरेको प्रतिवेदनमा उल्लेख छ।