काठमाडौं । असोज महिनाको दोश्रो साता देशैभर अधिकांश स्थानमा भएको भारी वर्षासँगै आएको बाढी पहिरोले सवारी साधनमा पनि ठूलो क्षति पुर्याएको छ। राजमार्गमा गुड्दै गरेको अवस्थामा पहिरोले पुरिएर, खोला छेउ पार्किङ गरिएका गाडी बगाएर, हाउजिङ कोलोनी र निजी आवासभित्र पार्किङ गरी राखिएका गाडी चुर्लुम्मै डुबाएर क्षति पुर्याएको हो।
काठमाडाैं उपत्यकाभित्रको नाम चलेका हाउजिङ सोसाइटीहरूभित्र पार्किङ गरेर राखिएका सवारी साधनहरू बाढीको पानीमा खेलाैना झैं बगि रहेका दृश्य सामाजिक सञ्जालभर अझै पनि चर्चा भई रहेको छ।
पछिल्लो समयमा नविकरणीय उर्जा र न्यून उर्जा लागतका कारण विद्युतीय सवारी साधनको बिक्री र प्रयोग बढ्दै गर्दा बाढी पहिरोमा डुबानमा परेको विद्युतीय गाडीको ब्याट्री बिग्रिएपछि बाढी पहिरोका लागि विद्युतीय गाडी नहुने रहेछ भन्ने धारणा पनि बन्न थालेको छ।
सवारी साधनमा भएको क्षतिको क्षतिपूर्तीका लागि निर्जीवन बीमा कम्पनीहरूमा दाबी निवेदनको चाङ्ग लागेको छ। क्षतिपूर्ती सम्बन्धमा आंकलन गर्न खटिएका सर्भेयरहरूलाई सर्वेक्षण गर्न र प्रतिवेदन तयार पारेर बीमकलाई हस्तान्तरण गर्न भ्याई नभ्याई भएको छ।
दुई पाङ्ग्रे होस् वा चार पाङ्ग्रे, इन्धनबाट चल्ने सबै खाले सवारी साधनको हकमा तेश्रो पक्ष बीमा अनिवार्य छ। तसर्थ बाढी पहिरोबाट क्षति भएका सबै सवारी साधनको बीमा दाबीका लागि सवारीधनीहरू ढिलो चाँडो बीमकको कार्यालयमा पुग्ने नै छन् ।
बीमा दाबीको अवस्था सिर्जना भइसक्दा आफूले प्रयोग गरिरहेको विद्युतीय गाडी(इभी) मा भएको क्षतिवापतको क्षतिपूर्ती पाइएला कि नपाइएला भन्ने चासो र चिन्ता अधिकांश सवारीधनीमा छ। बाढी पहिरोमा क्षति भएका अधिकांश इभीको ब्याट्रीमै क्षति भएको दाबी निवेदनहरू बीमक कहाँ दर्ता भएका छन् । इभीमा प्रयोग हुने ब्याट्री इभीको कुल लागतको झण्डै ४० प्रतिशत हिस्सा ओगटेको हुन्छ।
तेश्रो पक्ष बीमा मात्र गरिएको भए बाढी डुबानमा परेका कारण गाडीमा भएको क्षतिवापतको क्षतिपूर्ती गाडी धनीले पाउँदैनन् । व्यापक बीमा गरिएको छ भने बाढी, डुबान, पहिरोबाट भएको क्षतिको हकमा ईभी सवारीधनीले समेत क्षतिपूर्ती दाबी गर्न सक्छन् ।
मेकानिकल एरर(प्राविधिक गडबडी) का कारण गाडी बिग्रिएको अवस्थामा मोटर बीमा अन्तर्गत दाबी नलाग्न सक्छ। यसबारे बीमितले आफूले खरिद गरेको बीमालेखको अनुसूचीमा उल्लेखित शर्तहरूको राम्ररी अध्ययन गर्नुपर्छ। दाबी लाग्ने अवस्थाबारे कुनै द्वविधा भएको अवस्थामा बीमकसँग परामर्श लिन सकिन्छ। यदि बीमालेखमा उल्लेखित शर्त विद्यमान भएर पनि बीमकले दाबि नलाग्ने जिकीर गर्छ भने यसबारेमा बीमा विज्ञ वा कानून व्यवसायीसँग परामर्श गर्नु उपयुक्त हुनेछ।
कसरी गर्ने बीमा दाबीः
१) क्षतिग्रस्त सवारी साधनबारे बीमकलाई सक्दो चाँडो हुने कुनै पनि माध्यमबाट प्रारम्भिक जानकारी दिनुपर्छ।
२) क्षतिग्रस्त सवारी साधनको अवस्था झल्किने गरी फोटो खिच्ने र बीमकलाई उपलब्ध गराउनुपर्छ।
३) मोटर बीमा दाबी सम्बन्धी दाबी फारममा क्षतिग्रस्त सवारीबारे सम्पूर्ण विवरण उल्लेख गरेर बीमकको कार्यालयमा दर्ता गराउनुपर्छ ।
४) बीमकलाई जानकारी दिई सकेपछि सकेसम्म सम्बन्धित गाडी बिक्रेताको आधिकारिक सर्भिस सेन्टर(वर्कशप) मा सवारी साधन मर्मत संभारका लागि लैजानुपर्छ ।
५) सवारी साधन मर्मत संभार हुन नसक्ने अवस्थामा छ भने बीमकको सुझाव अनुसार निर्णय लिनुपर्छ ।
६) सर्भिस सेण्टरले मर्मत संभारका लागि लाग्ने आवश्यक खर्चको लागत अनुमान(कोटेशन) उपलब्ध गराउँछ। यस्तो लिखित कोटेशन सर्भिस सेण्टरको लेटर हेडमा आधिकारिक दस्तखत र छाप सहित संकलन गरेर बीमकको कार्यालयमा दर्ता गराउनुपर्छ। इमेलमार्फत पनि बीमकलाई कोटेशन उपलब्ध गराउन सकिन्छ।
७) बीमकले सर्भेयर परिचालन गरेर कोटेशन बमोजिम सवारी साधनमा मर्मत आवश्यक रहे, नरहेको यकीन गराउँछ।
८) सर्भेयरले कोटेशनमा उल्लेख गरिए बमोजिम गाडी मर्मत गर्न आवश्यक रहेको सुझाव बीमकमार्फत बीमितलाई दिई सकेपछि बीमितले सोही सर्भिस सेण्टरबाट मर्मत कार्य गराउनुपर्छ।
९) कोटेशन बमोजिम मर्मत संभारको काम सम्पन्न भई सकेपछि कर बिजकको आधारमा सर्भिस सेण्टरमा बीमितले मर्मतवापतको रकम भुक्तानी गर्नुपर्छ। केही बीमा योजनाहरूमा सर्भिस सेण्टरमा भुक्तानी गर्नुपर्ने रकम सिधै बीमकले नै भुक्तानी गरिदिने सुविधा समेत उपलब्ध छ।
१०) मर्मत संभार गरि सकेपछि सोको क्षतिपूर्तीवापतको रकम सोधभर्नाका लागि बिल बिजक सहित बीमकलाई निवेदन दिनुपर्छ।
११) बीमकले बिल बिजक र कोटेशनको विवरण जाँच गरेर सर्भेयरको सिफारिशका आधारमा बीमालेखको शर्तको अधिनमा रहेर क्षतिपूर्ती दाबी भुक्तानी गरिदिन्छ।
१२) मोटर बीमामा अनिवार्य अधिक र स्वेच्छिक अधिकको सीमा समेत हुने भएकाले बीमालेखको शर्तमा यसबारे उल्लेखित शर्तका आधारमा बीमा दाबीवापतको कति प्रतिशत रकम बीमित स्वयमले र बाँकी कति रकम बीमकले सोधभर्ना दिने भन्ने निर्णय गरिन्छ।