काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी साधनदेखि यात्रुमात्र नभएर यात्रुले बोक्ने झिन्टीगुन्टाको समेत बीमाको व्यवस्था गरेको छ। यो ऐनअन्तर्गत बीमासम्बन्धी व्यवस्थामा सवारी चालक, परिचालक, सुरक्षाकर्मी, अन्य कर्मचारी, यात्रु, यात्रुका गुन्टा र तेस्रो पक्षलाई हुने नोक्सानीबापतको क्षतिपूर्ति हुने गरी अनिवार्य बीमा गर्नुपर्ने प्रावधान छ।
ऐनको दफा १४८ मा सवारी धनी वा व्यवस्थापकले तोकिएबमोजिम प्रत्येक सवारीको बीमा गराउनुपर्ने प्रावधान छ। ऐनकै व्यवस्थाका कारण यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता वा नवीकरण गर्नुअघि बीमा गरेको प्रमाण माग्ने गरिएको हो । बीमा नगरिएको सवारीको दर्ता नवीकरणमा ऐनले रोक लगाएको छ। यसबाहेक सार्वजनिक सवारीसाधनको हकमा यातायात सेवा सञ्चालन गर्न पञ्जीकृत गर्न र बाटो इजाजतपत्र प्रदान गर्न पनि रोक लगाइएको छ।
ऐनको दफा १४९ मा सार्वजनिक यातायात सेवामा संलग्न प्रत्येक सवारीको चालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारीको समेत अनिवार्य रुपमा दुर्घटना बीमा सवारीधनी वा व्यवस्थापकले गर्नुपर्ने प्रावधान छ।
यसैगरी दफा १५० मा सार्वजनिक सवारीसाधनबाट तोकिएको रुटमा यातायात सेवा सञ्चालन गर्ने सवारीधनी वा व्यवस्थापकले प्रत्येक यात्रीको तोकिएको रकमको दुर्घटना बीमा गराउनुपर्ने प्रावधान पनि छ। दफा १५१ मा सार्वजनिक सवारीसाधनको धनी वा व्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको गुन्टाको तोकिएको रकमको बीमा गराउनुपर्ने प्रावधान राखिएको छ।
ऐनको दफा १५२ ले तेस्रो पक्ष बीमा सम्बन्धि प्रावधान समेटेको छ। यस दफामा सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सानी भएमा नोक्सानीको क्षतिपूर्ति दिन सवारीधनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनुपर्ने प्रावधान छ।
मोटर बीमाको प्रकृतिः
क) सघन मोटर(कम्प्रिहेन्सिभ मोटर) बीमालेखः
यस बीमालेखअन्तर्गत फरक-फरक प्रकृतीको दाबीका विकल्पहरू हुन्छन्ः
१. कुनै अन्य पक्षलाई व्यक्तिगत चोट वा सम्पत्ति क्षति भएको अवस्थामा । यस्तो पक्ष वा व्यक्तिलाई यस सन्दर्भमा तेस्रो पक्ष भनिन्छ।
२. तपाईको आफ्नै, बीमा गरिएको, वाहनमा क्षति पुगेको अवस्थामा। यसलाई आफ्नै क्षति दाबी भनिन्छ र यदि तपाईले तेश्रो पक्ष वा सघन बीमालेख रोज्नु भएको छ भने यसमा दुबै किसिमको क्षतिपूर्तीका लागि दाबी गर्न पाउनुहुन्छ।
ख) तेस्रो पक्ष बीमाः
तेस्रो पक्ष बीमामा तपाईको सवारी साधनले कुनै अर्को पक्षलाई हानीनोक्सानी पुर्याएको छ, त्यस्तो अवस्थामा दाबी भुक्तानी प्राप्त गर्ने सुविधा उपलब्ध हुन्छ।
मोटर बीमा दाबीको प्रकृयाहरूः
आफ्नै क्षतिको दाबी
आफ्नो क्षतिको दाबीको घटनामा, अर्थात्, जहाँ तपाईको आफ्नै सवारी दुर्घटनाको कारण क्षति भयो, तपाईले तुरुन्तै बीमा कम्पनी र पुलिसलाई जानकारी दिनुपर्छ, जहाँ आवश्यक भएमा, क्षतिको आँकडाका आधारमा बीमकले क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउन सक्छ।
प्रहरी र बीमा कम्पनीको अनुमतिबिना दुर्घटनास्थलबाट सवारीसाधन सार्नु हुँदैन, अन्यथा दुर्घटना शंकास्पद भएको आशंकामा दाबी अस्वीकृत हुने जोखिम हुन्छ।
एकपटक तपाईले बीमा कम्पनीबाट दुर्घटना स्थलबाट दुर्घटनाग्रस्त गाडी हटाउन र मर्मतका लागि लैजान अनुमति प्राप्त गरेपछि, तपाईले त्यसो गर्न सक्नुहुन्छ।
यदि तपाईको बीमालेखले नगदरहित सेवा प्रदान गर्छ भने तपाईले सवारी मर्मत, घाइतेको उपचार वा अन्य क्षतिपूर्तीका लागि खल्तीबाट नगद भुक्तानी गर्नुपर्दैन । बीमकले तोकिएको वर्कशपमा मर्मत गरेको अवस्थामा, अस्पतालमा उपचार गराएको अवस्थामा बीमा कम्पनीले सिधै भुक्तानी गरिदिन्छ।
तेश्रो पक्ष बीमा दाबीः
यस्तो दाबीमा, जहाँ तपाईको सवारी साधनले कुनै अर्को पक्षलाई हानीनोक्सानी पुर्याएको छ, त्यस्तो अवस्थामा तपाईले तत्कालै दुर्घटनाको विषयमा प्रहरी र बीमा कम्पनीलाई सूचना दिनुपर्छ। लिखित जानकारी गराउनु एकदमै उपयुक्त हुन्छ।
चोरी दाबी
यदि तपाईको गाडी चोरी भयो भने, तपाईले तुरुन्तै प्रहरी र बीमा कम्पनीलाई जानकारी दिनुपर्छ। साथै यातायात व्यवस्था विभागलाई पनि जानकारी गराउनुपर्छ ।
सचेत बीमितको रूपमा तपाईले कुनै पनि समयमा मोटर बीमा गर्नु अघि र बीमा गरि सकेपछि अनिवार्यरूपमा बीमालेखमा लेखिएका सबै विवरणहरू राम्ररी पढ्नुहोस्। दाबी भुक्तानी शर्तहरू बुझ्ने प्रयास गर्नुहोस् । नबुझेको विषयमा तत्कालै बीमा कम्पनीका प्रतिनिधि वा कर्मचारीसँग जानकारी माग्नुहोस् ।
यदि दाबीका दुर्घटना वा क्षतिसँग सम्बन्धित सबै आवश्यक कागजातहरू सङ्कलन गरेर बीमा कम्पनीलाई पूर्णरूपमा विवरण भरिएको दाबी फारमको साथ बुझाउनु पर्छ।
विशेष प्रकारका दाबीहरूको लागि निश्चित विशिष्ट कागजात आवश्यकताहरू हुन सक्छन्। उदाहरणका लागि, गाडी चोरी दाबीको लागि, तपाईले गाडीको साँचोहरू बीमा कम्पनीलाई बुझाउनु पर्छ।
दाबीका लागि आवश्यक कागजपत्रहरूः
सवारीको कागजपत्रः
बीमा गरिएको सवारी साधनको सवारी दर्ता प्रमाण पत्र(ब्लु बुक), चालकको चालक प्रमाण पत्र, सार्वजनिक सवारी साधन हो भने बाटो इजाजत र बीमालेख सहित बीमा कम्पनीमा निवेदन दिनुपर्छ।
घटना मुचुल्काः
यस्तो कागज प्रमाण तपाईलाई दुर्घटनास्थल नजिकको प्रहरी कार्यालयले उपलब्ध गराउँछ। सवारी साधन चोरी भएको वा दुर्घटनामा परेको दुबै अवस्थामा तपाईलाई नजिकको प्रहरी कार्यालयले नै घटना मुचुल्का उपलब्ध गराउँछ।
प्रहरी कार्यालयको सिफारिशः
दुर्घटना वा चोरीसँग सम्बन्धित विषय प्रमाणीकरणका लागि बीमकले तपाईसँग प्रहरी कार्यालयको सिफारिश पत्र माग गर्न सक्छ। यसका लागि तपाईले सम्बन्धित प्रहरी कार्यालयमा घटनाको मिति र स्थान समेत उल्लेख गरेर सोको प्रमाणिकरण गरि बीमा दाबी प्रयोजनका लागि सिफारिश उपलब्ध गराई दिन निवेदन दिनुपर्छ।
गाडीको ठक्करबाट कुनै दुर्घटना वा कसैको मृत्यु भएको छ भने घटनास्थलमा भएको घटना विवरण प्रष्ट्याउने गरि नजिकको ट्राफिक प्रहरी कार्यालयले जारी गरि दिएको स्पष्ट रेखा चित्र पनि बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ।
सर्वेयरको प्रतिवेदनः
गाडी दुर्घटनाबाट ठूलो क्षति भएको अवस्थामा बीमा कम्पनीले क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउन सक्छ। यस्तो अवस्थामा सर्भेयरबाट लिखितरूपमा प्रतिवेदन प्राप्त नहुँदासम्म दाबी भुक्तानीको बाँकी प्रकृया अघि बढ्दैन। बीमितको हैसियतमा तपाईले सर्भेयरबाट प्रतिवेदनको प्रतिलिपी प्राप्त गर्ने अधिकार सुरक्षित रहन्छ। यस्तो प्रतिवेदनमा उल्लेखित कुनै विषयमा तपाईको चित्त नबुझेको अवस्थामा तपाईले सर्भेयर वा बीमा कम्पनीलाई जानकारी गराउन सक्नुहुन्छ।
अनुमानित खर्च लागतः
दुर्घटनाग्रस्त गाडीको मर्मत गर्नुपर्ने भएमा मर्मत गराउनु अघि कम्तीमा तीनवटा फरक फरक वर्कशपबाट कोटेशन प्राप्त गरेर बीमा कम्पनीलाई मर्मतका लागि लाग्ने अनुमानित खर्चको लागतबारे जानकारी गराउनुपर्छ।
उपचार सम्बन्धि कागजातः
गाडी दुर्घटनामा परेका कारण कसैलाई चोटपटक लागेर वा गम्भीर घाइते भएर उपचार गरिएको अवस्थामा सम्बन्धित अस्पतालमा बिरामीको उपचारसँग सम्बन्धित सबै कागजात तपाईले बीमकलाई उपलब्ध गराउनुपर्छ। यसमा अस्पतालको दर्ता पूर्जी, भर्ना पूर्जी, चिकित्सकको सिफारिश, प्रयोगशाला परिक्षण प्रतिवेदन, खर्च बिल भरपाई समेत संलग्न गर्नुपर्छ।
शव परिक्षण प्रतिवेदनः
दुर्घटनाका कारण कसैको निधन भएको अवस्थामा मृतकको शव परिक्षण गरिएको अस्पतालले तपाईलाई शव परिक्षण प्रतिवेदन उपलब्ध गराउँछ। मृत्यु दाबी गर्ने व्यक्ति र मृतकबीचको नाता खुल्ने नाताको प्रमाण कागजको प्रमाणित प्रतिलिपी पनि बीमकलाई दिनुपर्छ।
तेश्रो पक्ष क्षतिपूर्तीः
दुर्घटनाबाट तेश्रो पक्षलाई क्षति पुगेको छ भने क्षतिपूर्तीका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा स्थानीय निकायको रोहबरमा भएको मिलापत्र सम्बन्धी कागजात पनि बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ।
तेश्रो पक्षले समेत मोटर वा दुर्घटना बीमा गरेको रहेछ तेश्रो पक्षले अाफ्नो बीमकबाट दाबी भुक्तानी लिने नलिने सम्बन्धीमा स्व घोषणा पत्र समेत जारी गर्नुपर्छ।
मोटर दुर्घटना क्षतिपूर्तीको बीमाङ्क रकमः
नेपाल बीमा प्राधिकरणले मोटर बीमा अन्तर्गत कोही घाइते वा मृत्यु भएमा अधिकत्तम पाँच लाख रूपैयाँसम्मको बीमाङ्क निर्धारण गरेको छ। व्यवसायीक गाडी वा निजी गाडीको दुर्घटनामा कुनै व्यक्तिलाई चोटपटक, घाइते, अपाङ्गता वा निधन भएको अवस्थामा अधिकत्तम पाँच लाख रूपैयाँसम्म क्षतिपूर्ती उपलब्ध गराउने प्रावधान छ । यसबाहेक सवारी साधनको क्षति भएमा बीमाङ्क रकमको अधिमा रहेर क्षतिपूर्ती रकम निर्धारण गरिएको हुन्छ।