GBIME
IME Life

शेयर बजार चलायमान नभएसम्म अरु केही हुनेवाला छैन

SPIL
NIC ASIA new
Sanima Reliance

– प्रेम वली

आज केपी ओली नेतृत्वको नयाँ सरकार बनेको डेढ महिना नाघ्यो। नयाँ सरकार बन्ने अनि त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले बजार तातियो। लगानीकर्तामा उत्साह थपियो। बजार बढेको देखेर केपी ओली उक्सिए। संसदमा बोल्दा उनले यो सरकारलाई लगानीकर्ताले विश्वास गरेको कुरा शेयर बजारमा झल्कियो भन्नसमेत भ्याए। अब शेयर बजारमात्र हैन सबै बजार चलायमान हुन्छ भनेर गफ दिन भ्याइहाले।

SKYWELL
Crest

अर्थमन्त्री पौडेलले पनि शेयर बजारको सुधारमा लागि लागिपर्छौं भनेर भाषण ठोक्न भ्याए। सबैलाई अहिले एमाले–कांग्रेस सरकार मिलेर बनेको हुँदा यो सरकार बलियो र स्थायित्व पनि होला भन्ने लागेकै हो । सरकारले देशको अर्थतन्त्रलाई पक्कै चलायमान बनाउँला भन्ने विश्वास जागेको थियो। अझ गभर्नर प्रधानमन्त्रीकै मान्छे भएकाले मौद्रिक नीतिमा लगानीकर्ताले आशा गरेको जस्तो ल्याउँछन् भन्ने लागेको थियो। तर, गभर्नरले शेयर बजारलाई एउटा संस्थागत ऋणको सीमा हटाउनेबाहेक कुनै सम्बोधन गरेनन्।

जस्तोसुकै हल्ला गरे पनि खासमा लगानीकर्ता खुसी थिएनन्। लगानीकर्तालाई व्यक्तिगत ऋण सीमा पनि हट्ने र जोखिमभार पनि घट्ने आशा थियो। बजार हल्ला पनि चलेकै थियो। तर, यो मैद्रिक नीतिलाई राम्रो भन्दै हल्ला गरियो। बजार नयाँ पैसो आएको हल्ला गरियो। बजार २८०० सम्म पुगेपछि केही बजारविरोधी नेता विरोधमा लागे। सडकदेखि सदनसम्म बजारको विरोध भाषण गरे। कति लगानीकर्ता यसबाट झस्किए। सरकारमै रहेको एउटा ठूलो पार्टीको जिम्मेवार नेताले समेत बजारको विरोधमा उत्रिएपछि लगानीकर्ता झस्किनु स्वाभाविकै हो । बजार ठूलो अंकले घट्यो। बजारको वातावरण बिग्रियो। कतिलाई अब बजारबाट निस्कने कि भन्ने भावना पनि जागेको अवस्था भयो। सायद यस्तै खेलाडीले बजार बढ्छ भन्ने हल्ला चलाए।

केपी ओलीले बजार विरोधलाई चुट्नुपर्छ भन्नेसमेत हल्ला चलाए। ३२०० कटे केक काट्ने कुरो मसला बनाए। बजार ३००० सम्म उक्लियो। साधारण लगानीकर्तालाई हो कि जस्तो लाग्यो। कतिले ऋणपान र कतिले भएको सुन बेचेर शेयरमा लगानी गरे। बजारले ३००० काटेर स्थिर भएपछि एमाले सम्बद्ध उद्योगीहरुले एउटा कार्यक्रम तय गरे। यो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने हल्ला चलाए। हजारौँ लगानीकर्ता कार्यक्रमस्थल उपस्थित भए। घन्टौँ कुरे पनि तर ओली आएनन्। लगानीकर्ता निराश भएर फर्किए।

त्यसपछि खुलेको बजारबाट नै लगानीकर्ताको उत्साह हरायो। बजार बढ्न सकेन। शेयर बजारमात्र हैन सबै बजार चलायमान बनाछौँ भन्ने ओली र ओली नेतृत्व सरकार हरायो। करिब ८ महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि हुन सकेको छैन। शेयर बजारको मुख्य ठाउँको प्रमुख व्यक्ति नहुनु ठट्टाको कुरो हैन। सुशासनको भाषण छाट्ने सरकारलाई यो काम किन भारी परिरहेको हो ? यो सरकार त चाइनिज टर्चजस्तो देखियो। २–४ दिन झलल देखियो अनि दिनप्रतिदिन ब्याट्री डाउन भएकोजस्तो महसुस भएको अवस्था हुन थाल्यो। सायद टाठाबाठाले यो कुरा बुझे। लगानी थप्नेभन्दा पनि आफ्नो लगानी निकाले। एमालेनिकट ठूला व्यवसायी सायद सरकारबाट केही क्लु पाए र उनीहरुले नै आफ्नो लगानी सुरक्षित गरे कि ?

आज बजार निकै तल खस्दा पनि सरकार छैनजस्तो लगानीकर्तालाई महसुस भएको अवस्था भएको छ। प्यानिक सेलको अवस्था आएको छ। बजारको मनोबल गिर्ने अवस्था हुँदा पनि न सरकार योबारे जानकार छ न त अर्थमन्त्रीको चासो देखिन्छ। बजारलाई मूल प्रभावमा पार्ने राष्ट्र बैंक अर्थतन्त्रलाई चलायमान बनाउनुको साटो दिनहुँ बैंकको तरलता खिच्नेबाहेक अर्को सिन्को भाँच्न सकेको छैन। शेयर बजार चलायमान बनाउन नसक्ने वा बनाउन नचाहने सरकार वा राष्ट्र बैंकलाई अन्य क्षेत्रका लगानीकर्ताले कसरी विश्वास गर्न सक्छन् ? यसरी बैंकको अधिक तरलरतालाई बजार पठाउनुको साटो आफूले खिच्ने रणनीतिले देश र जनतालाई झन घतक हो भन्ने कुरा गभर्नरलाई र अर्थमन्त्रीलाई थाहा छैन होला र ? बजारमा पैसा छैन। तर, बैंकमा फालफल हुनु गभर्नरले कस्तो अर्थ व्यवस्था चलाउनु खोजेका हुन् ? अर्थमन्त्रीले यो कुरा नबुझेका हुन त ? ठूला विज्ञ भनेर केपी ओलीले राखेका सल्लाहकार युवराज खतिवडालाई राष्ट्र बैंकले लिएको यस्तो रणनीति ठीक नै लागेको हो त ?
कि अहिलेको तरलता केही दिनका लागिमात्र हो भनेर गभर्नरले भन्नुपर्यो हैन भने यसको समाधानतिर लाग्नु पर्यो। पैसा त बजार जति आयोे उति सरकार र व्यवसायीलाई फाइदा हुने कुरो हो। इनारको पानी जति झिक्यो, उति सफा हुन्छ भनेजस्तो बैंकको पैसा पनि बजारमा जति आयो, अर्थतन्त्रमा उति राम्रो हुन्छ भन्ने कुरा सरकारमा बसेर फोकट तलबभत्ता खानेलाई यो कुरा थाहा नभएको होला त ? आज बजारमा पैसा नभएर जनता हाहाकारमा छन्। बैंकले लगानी गर्न नसकी रुवाबासी छ। यसको समाधान गर्न नसक्नेहरु सम्बन्धित निकायमा बस्नेको औचित्य के ? यो के एमालेको मात्र सरकार हो ? पुँजीबादको हिमायती कांग्रेसलाई यस्तो अवस्थामा कानमा तेल हालेर बस्नु गैरजिम्मेबार हो कि हैन ? कि काम गर्नेभन्दा पनि आफ्नो गल्ती ढाकछोप गर्न वा लुकाउनमात्र बनाएको सरकार हो ? यो सरकार त आफूले मौका पाउँदा पनि केही नगर्ने र अरुले गर्न लाग्यो भने देखी नसहने जस्तो देखियो।

शेयर बजार चलायमान नभएसम्म कतै केही हुनेवाला छैन

प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसमेतले स्वीकार गरेको कुरा हो कि शेयर बजार देशकै अर्थतन्त्रको ऐना हो। उनीहरुले बुझेर भनेका हुन् कि अरुले लेखिदिए भनेको हुन्, त्यो कुरा उनीहरुले नै जानुन्। तर, सत्य कुरा के हो भने शेयर बजार चलायमान नभएसम्म अन्य क्षेत्रमा केही हुने वाला छैन। यहाँ १ हजार लगानी लगाउनेदेखि अर्बौं लगानी लाउनेसम्म छन्। यहाँ शेयर बजारमात्र नभएर सबै क्षेत्रमा लागेका लगानीकर्ता छन्। विद्यार्थीदेखि गृहिणी, नुन व्यवसायीदेखि सुन व्यवसायी, उद्योगपतिदेखि जग्गा व्यवसायी, व्यक्तिगतदेखि संस्थागतसम्म लगानीकर्ता छन्। संसारका सबै शेयर बजारमा यो हुन्छ नै।

शेयर बजारलाई चलायमान गराउँदा साना–तिना व्यवसायीले कमाए भने उनीहरुले आफ्नो गरिराखेको अन्य व्यवसायमा लगानी बढाउँछन् भने साना लगानीकर्ताले कमाउँदा आफ्नो दैनिक खर्च बढाउँछन्। कतिले लुगा किन्छन्। कति घुम्न जान्छन्। कति रेस्टुराँ खान जान्छन्। जसले अन्य क्षेत्रलाई पनि चलाउन थाल्छ। केही दिन बजार बढ्दा सुनसान भएका रेस्टुराँ चल्न थालेका देखिन्थ्यो। यसरीमात्र प्रधानमन्त्रीले भनेको जस्तो अन्य बजार चलायमान हुन थाल्छ। आज सानादेखि ठूला लाखौँ लगानीकर्ता बजारमा छन्। बजार बढ्दा सबैले कमाउने हो। बजार घट्दा सबैले गुमाउने हो। कसैले थोरै र कसैले धेरै गुमाउने कुरामात्र हो। बजार घट्दा शेयर बजारमा लामो समय लाग्ने विज्ञ होस् कि नेपालको शेयर बजार सुरु हुँदाको ब्रोकर हाउस, बजार बढ्दा सबैले कमाएका हुन्छन् र घट्दा तिनले पनि ठूलै क्षति व्यहोरेका हुन्छन्। संसारको सबै शेयर बजारमा यो रिति चलेको हुन्छ । विश्वका शेयर बादशाह वारेन बफेटले पनि बजार घट्दा ठूलै क्षति व्यहोर्नुपरेको समाचार आएकै हुन्छन्। त्यसैले कसैले टाउको दुखाउनुपर्ने विषय होइन।

शेयर बजार लगानी गर्नेमात्र हैन लगानी जुटाउने स्थल पनि हो। यही शेयर बजारलाई हेरेर नै ठूल्ठूला आयोजना सुरु हुन्छन्। शेयर बजारको दायरा जति ठूलो हुन्छ, त्यति ठूला आयोजना निर्माण हुन्छन्। १० खर्बको शेयर बजारमा कोही पनि खर्ब लगानी लगाएर ठूला आयोजना गर्न आउँदैन। मानौँ कसैले १० खर्ब लगानी लगाएर कुनै योजना बनायो रे। उसले ६ खर्ब उक्त आयोजना लगानी गर्छ भने बाँकी ४ खर्ब उसले आइपीओ र राइट शेयरबाट रकम संकलन गर्न चाह्यो भने अहिले बजारबाट सम्भव नै छैन। जसले गर्दा ठूला आयोजना सफल हुने अवस्था नभएपछि ठूला लगानीकर्ता भित्रिने सम्भावना नै हुँदैन । ठूला आयोजना नबन्दा देशको विकास उलटपलट हुन्छ भन्नु त खाली नेताको गफैमा मात्र हुन्छ।

शेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने तर यसको मर्म र मान्यता नबुझ्ने वा बुझ्न् नचाहने कुराले न त शेयर बजारको विकास हुन्छ न त देशको विकास हुन्छ। सरकार दायित्व शेयर बजारको निरन्तर विकास गर्नु, यसमा भएका खराब कुराहरुलाई निगरानी र दण्ड गर्नुपर्छ। यसका निकायहरुमा योग्य मान्छे छनेर बजार चुस्त दुरुस्तमा राख्ने हो।

शेयर बजारको दायरा कसरी बढाउने ?

देशमा ठूला आयोजना सफल बनाउन ठूला लगानीकर्ता भित्र्याउनुपर्छ। ठूला लगानीकर्ता भित्र्याउन शेयर बजारको दायरा बढाउनुपर्छ। आज ४०–५० खर्बको बजार २००–३०० खर्बको हुनुपर्छ। यसका लागि सबै क्षेत्रका ठूला र राम्रा कम्पनीलाई शेयर बजारमा ल्याउन सरकारले उत्साहजनक वातावरण बनाउनुपर्छ। धेरै कम्पनी आउँदा शेयर बजारमा सप्लाईमात्र बढ्ने हुन्छ। सप्लाईमात्र आउँदा पनि बजार शिथिल हुने डर हुन्छ। यही डरले गर्दा नै ठूला कम्पनी शेयर बजार आउँदा अनेक टीकाटिप्पणी हुन थाल्छ। बजारमा डिमान्ड बढाउनुपर्ने हुन्छ। यसका लागि शेयर बजारमा नयाँ–नयाँ लगानीकर्ता भित्रिनु जरुरी हुन्छ।

आज भारतको शेयर बजार संसारकै पाँचौँ ठूला बजारभित्र पर्छ। त्यहाँ ठूल्ठूला देश–विदेशी लगानीकर्ता ओइरिरहेका छन्। नेपालको शेयर बजारमा एनआरएनलाई ल्याउने कुरो पनि महाभारत भएको छ। अहिले भारतमा जति ठूला कम्पनी भए पनि शेयर बजारमा आउन कुनै समस्या छैन। त्यहाँ जति ठूला आयोजना निर्माण गर्न पनि कुनै समस्या छैन। शेयर बजारको यो महत्वलाई यो देशको सरकारले कहिले बुझ्ने ? यो देशको कुन सरकारले बुझ्ने ? यहाँ यति सानो बजार छ। थोरै बढ्न थाल्यो भने पनि शेयर बजारको क–ख नजानेका नेताहरु हल्ला मच्चाउन थाल्छन्। संसारको हरेक बजारमा चलखेल हुन्छ। अनिमियता हुन्छ। त्यसका लागि सम्बन्धित निकाय निरन्तर लागिपर्नु पर्छ।

सबै देशमा प्रहरी त छन् तर चोरी त रोक्किएको छैन नि। तर, पनि प्रहरी सधैँ चोर पक्रिन लागिराखेको हुन्छ नै। प्रहरीले सकिँदैन भनेर हात बाँधेर बसेको अवस्था त हुँदैन होला ? त्यसकारण सरकारको दायित्व बजारमा चेलखेल गर्नेलाई निगरानी राख्ने पनि हो भने लगानीकर्ताको मनोबल बढाउने पनि हो। लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्ने पनि हो। यो कुरा कुन सरकारलाई ज्ञात होला ?

(लेखक ओली लामो समयदेखि शेयर बजारमा सक्रिय लगानीकर्ताका रुपमा रहेका छन्। यो लेख उनको व्यक्तिगत विचार हो।)

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS