काठमाडौं । साना जहाजबाट काठमाडाैं भरतपुर रूटमा एकलाैटी व्यापार गर्दै आएको बुद्ध एयरको तीनवटै एटिआर ४२ सिरिजका साना जहाजको आयू पुरा हुन लागेको छ। तीनमध्ये सबेभन्दा पुरानो एउटा जहाज बुद्ध एयर आउँदो बुधबारदेखि सधैंका लागि थन्काउँदैछ।
हाल प्रयोगमा रहेको तीनमध्ये उत्पादन संकेत नम्बर ३८८ को जहाजको आयू सकिएकाले उडान बन्द गर्ने घोषणा बुद्ध एयरले गरेको छ। बुद्ध एयर प्रालिले प्रयोग गर्दै आएको तीनवटै एटिआर ४२ मोडलका बाँकी दुई हवाई जहाज उत्पादन संकेत नम्बर ४०३ र ४०९ को आयू पनि २८ वर्ष नाघि सकेको छ। बुद्ध एयरले काठमाडाैंबाट भरतपुर र सिमरा विमानस्थलका लागि उडान भर्दै आएको तीनवटै एटिआर ४२ मोडलको जहाजमध्ये उडान बन्द गर्न लागिएको नाइनएन एआइएम जहाज २९ वर्ष ६ महिना पुरानो हो।
बुद्ध एयरले एटिआर ७२ ५०० मोडलको जहाजबाट यो विमानस्थलमा उडान गर्ने तयारी गरेको छ।
निजी क्षेत्रको अर्को वायू सेवा कम्पनी श्री एयरलाइन्सले गत असारमा भरतपुर विमानस्थलमा क्यु ४००-ड्यास एट जहाजमार्फत् परिक्षण उडान गरि सकेको छ। प्रतिस्पर्धि बुद्ध एयरले सानो जहाजमार्फत् नियमित उडान गर्दै आएको यो विमानस्थलमा श्री एयरले जोखिम मोल्दै ठूलो जहाज उतारेको थियो ।
काठमाडाैं भरतपुर रूटमा दुईतर्फी उडान सेवा शुरू गर्नका लागि श्री एयरले जनशक्ति भर्ना गर्न सामाजिक सञ्जालमार्फत आवेदन समेत माग गरेको छ। श्री एयरको विमानको सिट क्षमता ८० छ। ठूलो जहाज र सानो धावनमार्ग भएकलाे यसले काठमाडौंबाट जाने क्रममा ६० जना र भरतपुरबाट फर्किने क्रममा ५० जनाभन्दा बढी यात्रु बोक्न प्राविधिक कारणले संभव हुँदैन ।
भरतपुर विमानस्थलमा जोखिम मोलेरै भएपनि उडान गर्नका लागि वायू सेवा प्रदायकलाई राजनीतिक नेतृत्वसँगै नेपाल नागरिक उड्ययन प्राधिकरणबाट समेत दबाब छ।
धावनमार्गको लम्बाई जम्मा १ हजार २ सय मिटर भएकाले एटिआर ४२ बाहेकका ठूला जहाजबाट भरतपुरमा उडान र अवतरण गर्नु यात्रु र वायू सेवा प्रदायक दुबैका लागि उच्च जोखिमपूर्ण हुनेछ।
यस्तो छ भरतपुर विमानस्थलको अवस्थाः
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्ड अनुसार एटिआर ७२, ड्यास एट वा सो सरहको विमान सञ्चालनका लागि १ हजार ७ सय मिटर(१.७ किमी) लामो धावन मार्ग चाहिन्छ। यसका लागि भरतपुर विमानस्थलको लम्बाई ५ सय मिटर छोटो छ। ६२ बिघा क्षेत्रफलमा फैलिएको यो विमानस्थलको धावन मार्गको चाैडाई ३० मिटर छ। आसपासको भवन संरचनाले धावनमार्गको जम्मा ९ सय मिटर मात्र उपयोग हुन सकेको छ। यसले गर्दा विमानले सहज उडान र अवतरण गर्न कठिन भएको छ, क्षमता अनुसार यात्रु बोक्न सकेका छैनन् ।
नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा समेत धावन मार्ग बिस्तारको काम पुरा भयो भने यो विमानस्थलको धावन मार्गको जम्मा लम्बाई १ हजार ६५० मिटर(१.६५ किमी) पुग्नेछ।
अहिलेको अवस्थामा विमानस्थलको धावन मार्ग छोटो छ, सेनाको ब्यारेक हटाएर बिस्तारै गर्ने हो भनेपनि तीन चार सय मिटरभन्दा बढ्दैन, एकजना अनुभवी प्राविधिकले भने, यहाँ समस्या धावन मार्गको मात्र होइन, अरू थुप्रै समस्या छन् । उनका अनुसार धावन मार्गको दुइतर्फ सडक, एक तर्फ सेनाको ब्यारेक र अर्कोतर्फ आवासीय भवनहरू छन् । यो बाहेक चाैधरी ग्रुपको सिजि ल्याण्डमार्क (होटल भिभान्ता) को अग्लो संरचना पनि ठूलो जहाज उडान र अवतरणका लागि चुनाैतीका रूपमा रहेको छ । चाैधरी समूहले होटलको माथिल्ला दुई तल्लाको नक्सा स्वीकृत नै नगराई संरचना निर्माण गरेको छ।
प्राविधिकहरूका अनुसार भरतपुर विमानस्थल उडान सुरक्षाका हिसाबले लुक्ला विमानस्थल जस्तै हो । यो विमानस्थलाई तराइको लुक्ला विमानस्थलका रूपमा पनि चिनिन्छ। हावाको बेग वा अन्य कुनै प्राविधिक कारणले जहाज थोरै पनि धावन मार्गमा मिस एप्रोच गर्यो भने विमान अवतरण हुन नसकिन दुर्घटनामा पर्न सक्ने उच्च जोखिम हुन्छ।
भरतपुर विमानस्थलका लागि एटिआर ७२ वा ड्यास फो एटि जस्ता विमानबाट उडान भर्नु एकदमै जोखिमपूर्ण हुने भन्दै उड्ययन क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
अवतरण गर्दा थोरै मात्र चुक्यो भने गयोः
विमान अवतरण गर्दा चालकले सुरक्षित अवतरणका लागि स्टेब्लाइज रनवे एप्रोच मार्फत् धावन मार्गभित्र सुरक्षितरूपमा विमान गुडाउँदै अवतरणको प्रयास गर्छन् । यसो गर्दा धावन मार्गको पुरै लम्बाई विमान अवतरणका क्रममा उपयोग हुँदैन, शुरूवाती बिन्दु (टच प्वाइन्ट) को केही मिटर पर पुगेर मात्र विमानले धावन मार्गलाई छुँदै गुड्छ । यसरी अवतरण गर्दा धावन मार्गमा टेक्नुपर्ने दूरी केही मिटर मात्र पनि चुक भयो भने विमानको वेगका कारण विमान धावन मार्गको अन्तिम बिन्दुभन्दा बाहिर पुगेर अनियन्त्रित भई दुर्घटनाको संभावना हुन्छ ।