काठमाडौं । जीवन बीमा अभिकर्ताले बीमाको सचेतना बिस्तारमार्फत बीमालेखको प्रवर्द्धन र बिक्रीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। बीमालेखको बिक्री सहज नभएकाले बीमा साक्षरता न्यून भएको हाम्रो जस्तो बीमा बजारमा अभिकर्ताको भूमिकालाई उपेक्षा गर्न सकिन्न।
नियामक नेपाल बीमा प्राधिकरणले परम्परागत रूपमा हुँदै आएको जीवन बीमालेख बिक्रीलाई सूचना प्रविधि र संस्थागत अभिकर्ताको माध्यमबाट विस्तारै रूपान्तरण गर्ने प्रयास गरेपनि यसको नतिजा देखिन अझै दशकभन्दा बढी समय लाग्नेछ ।
बीमा अभिकर्ताको पेशा जिम्मेवार पेशा हो। बीमितलाई बीमितको आवश्यक्ता अनुसारको बीमालेख सुझाउने र बीमालाई निरन्तरता दिन सक्ने अवस्था सुनिश्चित गर्ने जिम्मेवारी एउटा व्यवसायीक अभिकर्ताको काँधमा हुन्छ।
ग्राहकलाई बीमालेख बिक्री गरेर कमिशन पाएपछि बेपत्ता भई दिने अभिकर्ता व्यवसायीकरूपमा सफल हुन सक्दैन। पुराना बीमितसँग जति बढी सम्पर्क र नजिकको सम्बन्ध बनाउन सक्यो, उति नै बढी त्यो बीमितसँग कामधेनु गाई सरह लाभ प्राप्त गर्न सकिन्छ। पुराना जीवन बीमा कम्पनीले समेत यही उपाय अपनाउँदै परिपक्व वा आवधिक बीमा दाबी भुक्तानी लिन पाउने बीमितलाई पुनः बीमालेख बेचिरहेका छन्।
बीमालेखको बिक्री कार्य सम्पन्न भई सकेपछि बीमित र अभिकर्ताबीचको सम्बन्ध टुङ्गिने नभएर नयाँ सम्बन्धको प्रारम्भ हुने हुन्छ। त्यही दिनबाट दीर्घकालीन सम्बन्धको शुरूवात हुन्छ, बीमित र वित्तीय सल्लाहकारका रूपमा अभिकर्ताको । कुनै पनि ग्राहकलाई बीमालेख बिक्री गरिसकेपछिको सम्बन्धलाई प्रगाढ बनाउन र बीमितको विश्वास कायम राख्नका लागि बीमा अभिकर्ताले पुरा गर्नुपर्ने कर्तव्यलाई यहाँ २१ वटा बुँदामा उल्लेख गरिएको छ।
बीमालेख बिक्रीपछि अभिकर्ताको दायित्व
१) प्रथम बीमाशुल्क रसिदसहित बीमालेख ग्राहकलाई हस्ता्न्तरण गर्ने। सुरक्षित साथ राख्न सुझाव दिने ।
२) बीमालेख हस्तान्तरण गर्नुपूर्व बीमालेखको शर्त र सुविधाबारे बेलिबिस्तारमा जानकारी दिने ।
३) बीमितको थप कुनै जिज्ञासा भएमा मेटाउने ।
४) बीमालेखको फाइलमा समावेश गरिएका प्रत्येक कागजपत्र पहिचान गर्न सक्षम बनाउने ।
५) नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबारे अवगत गराउने ।
६) बीमाशुल्क भुक्तानी गर्न सकिने तरिकाबारे जानकारी गराउने ।
७) बीमकको नजिकको शाखा,उपशाखा कार्यालयको ठेगाना र फोन नम्बर उपलब्ध गराउने ।
८) नविकरण बीमाशुल्क रकम र भुक्तानी गर्ने मितिको अभिलेख राखेर बीमितलाई प्रत्येक पटक स्मरण गराउने ।
९) बीमित स्वयम् बीमकको कार्यालयमा जान असक्षम हुने भएमा अभिकर्ताले नै बीमाशुल्क रकम लिएर भुक्तानी गरिदिने । यसवापत नविकरण बीमाशुल्क रसिद बीमितलाई उपलब्ध गराउने।
१०) शिक्षित बीमितलाई अनलाइन माध्यमबाटै नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने तरिकाबारे सिकाउने ।
११) बीमाशुल्क नियमित भुक्तानी गर्न नसक्दा बीमालेख व्यतित(ल्याप्स) भएको रहेछ भने पुनजागरण(रिभाइभ) गराउन सहयोग गर्ने ।
१२) लामो समयदेखि बीमालेख व्यतित अवस्थामा छ भने बीमकले ब्याज छुटको योजना ल्याएको समयमा बीमितलाई सोको बारेमा सूचना दिएर लाभ लिन प्रेरित गर्ने ।
१३) बीमितलाई पैसाको खाँचो परेका बेला बीमालेख कर्जा लिन सहयोग गर्ने ।
१४) बीमालेख निरन्तरता दिन नसक्ने अवस्था भएमा बीमालेख समर्पण गर्न सकिने विकल्पबारे परामर्श दिने।
१५) बीमालेख निरन्तरता दिन नसक्ने अवस्थामा बीमालेख चुक्ता बीमालेखमा परिणत गर्न सकिने विकल्पबारे पनि सुझाव दिने ।
१६) परिपक्व दाबी, जीवित लाभ(सर्भाइल बेनिफिट),अग्रिम दाबी भुक्तानी, मृत्यु दाबीको अवस्थामा बीमितको प्रतिनिधि भएर हरसंभव सहयोग गर्ने ।
१७) बीमितले इच्छ्याएको व्यक्ति, बीमाशुल्क भुक्तानीको तरिका(मासिक, त्रैमासिक, अर्द्धवार्षिक वा वार्षिक) मा परिवर्तन गर्न चाहेमा सहजीकरण गरिदिने।
१८) बीमितको आवश्यक्ता अनुसार अतिरिक्त सुविधाहरू दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा, अपाङ्गता लाभ, घातक रोग उपचार सुविधा लगायतका ऐच्छिक सुविधा थप्न वा हटाउन सुझाव दिने र मद्दत गर्ने ।
१९) बीमितको पेशा परिवर्तन भएकाले जोखिम बढेको अवस्थामा थप जोखिम रक्षावरणका लागि फारम भर्न लगाएर बीमकको कार्यालयमा जानकारी दिने ।
२०) जोखिमपूर्ण पेशाबाट बीमित सामान्य पेशामा प्रवेश गरेमा बीमितको तर्फबाट बीमकलाई निवेदन दिलाएर बीमाशुल्क रकम कटाैती गर्न लगाउने ।
२१) बीमितको ठेगाना परिवर्तन, बैंक खाता विवरण परिवर्तन र अन्य व्यक्तिगत जानकारी परिवर्तन भएको अवस्थामा बीमित पहिचान फारम भर्न लगाएर अध्यावधिक गराउने ।