काठमाडौं । जोखिम तथा बीमा विशेषज्ञका रुपमा परिचित छन्, उदय राज अधिकारी । करिब २ दशकदेखि अधिकारी बीमा क्षेत्रमा सक्रिय छन्। काठमाडौंको भक्तपुरस्थित नेपाल इन्जियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका अधिकारीले क्यानडाको डलहाउजी युनिभर्सिटीबाट पुनर्बीमा तथा महाबिपत्ति बिश्लेषण विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन्। उनले विशेषगरी बीमांकीय (एक्चुअरिल) एनालिटिक्स र रिस्क म्यानेजमेन्ट, सामाजिक सुरक्षा, पेन्सन, उपदान तथा सेवासुविधाको मूल्यांकनको विषय हेर्ने गरेका छन्। अधिकारीले बीमा क्षेत्रमा धेरैजसो विपतका निम्ति वित्तीय व्यवस्थापन मोडलिङ र क्षतिको मूल्यांकन (सर्भेयर) रुपमा काम गर्छन्। इन्स्योरेन्स र डिजास्टर रिस्क फाइनान्सिङको क्षेत्रमा अधिकारीसँग विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक, यूएनडीपीजस्ता अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गरेको पनि अनुभव छ। अधिकारीले नेपाल बीमा प्राधिकरणमा बेला–बेलामा नीति निर्माणका लागि विभिन्न समूहमा बसेर विशेषज्ञका रुपमा पनि काम गरेका छन्। उनै बीमा विशेषज्ञ अधिकारीसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः
बीमा कम्पनीहरु नागरिक र नागरिकका सम्पत्तिको वित्तीय जोखिम वहन गर्छौं भन्छन्। ती कम्पनीको जोखिम कहाँ हुन्छ ?
कम्पनी आफैँमा जोखिम लिने संस्था हो। बीमा कम्पनीले पनि आफ्नो जोखिमलाई पुनर्बीमाका माध्यमबाट जोखिम हस्तान्तरण गरेका हुन्छन्। बीमा कम्पनी आफैँमा जोखिम हुने विभिन्न ठाउँ हुन्छन्, जसलाई जोखिम व्यवस्थापनका आयामहरुले त्यसलाई सम्बोधन गरिन्छ।
कुनै पनि कम्पनीले गलत अन्डरराइटिङ गरेमा भोलि बीमा दाबीका रुपमा धेरै रकम तिर्नुपर्ने हुन्छ। जसका कारण कम्पनीको वित्तीय अवस्थामा ठूलो असर पर्न सक्छ। बीमा कम्पनीलाई आफैँमा पर्ने भार बढ्दै जान्छ। त्यसपछि कम्पनीको वित्तीय स्वास्थ्यमा असर पर्छ।
यस्तै पुनर्बीमा, बजार व्यवस्थापन, सञ्चालनलगायतमा पनि यस्तै जोखिम हुन्छ। गर्नुपर्ने रकम पुनर्बीमा नहुँदा यता दाबी भुक्तानी बढी गर्नुपर्छ।
आजका दिनमा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीको जोखिमका क्षेत्र के–के छन् ?
निर्जीवन बीमामा सबैभन्दा ठूलो समस्या अन्डरराइटिङ गर्दा जोखिम के–कति छ भनेर हेर्नुपर्ने जति हेरिएको हुँदैन। यो मुख्य समस्या हो। निर्जीवन बीमाको पूरै बजार नै जोखिम विश्लेषण गर्ने एंगलबाट कम हेरिएको हुन्छ। बोर्डले म्यानेजमेन्टलाई तिम्रो टप लाइन सुधार गर भनेर भनिरहेको हुन्छ। टपलाइनलाई जब हेर्न थालिन्छ, प्रिमियम संकलनलाई बढी फोकस गर्दा राम्रा र नराम्रा दुवै जोखिमलाई स्वीकार गर्नुपर्ने हुन्छ। यसले विस्तारै समस्या सिर्जना हुन सक्छ।
जीवन बीमामा पनि एन्टी सेलेक्सन पनि ठूलो समस्या बनेको छ। केही प्रडक्टले बजारमा के गर्ने भन्ने परिस्थिति नै सिर्जना गर्यो। त्यसलाई प्राधिकरणले रोक्यो पनि। त्यसकारण जोखिमांकन गर्ने प्रक्रियालाई स्वस्थ बनाउन सक्नुपर्छ। जीवनमा स्वास्थ्य परीक्षण गर्नेलगायतका काम भए पनि निर्जीवनमा त यो कम छ। जीवनतर्फ नागरिकको वित्तीय अवस्थाले आगामी दिनमा नियमित रकम दिन सक्छ कि सक्दैन भन्ने नहेरिँदा बीचमै सरेन्डर बढ्नेलगायतका समस्या पनि भइरहेका छन्।
बीमितले आफ्नो सम्पत्तिको बीमा निर्जीवनमा गर्दा होस् वा आफू र परिवारको बीमा जीवनमा गराउँदा होस्, कम्पनी छनोटको आधार के–केलाई बनाउनुपर्छ ?
निर्जीवन बीमाको क्षेत्रमा हेर्ने हो भने प्रिमियम ट्यारिफ बेसमा छ। कुनै पनि कम्पनीले लिने शुल्क भनेको एउटै हुन्छ, फरक हुँदैन। अब हेर्नुपर्ने भनेको कुन कम्पनीले राम्रो सेवा दिन सक्छ र कुनै घटना घटिसकेपछि प्राप्त गर्न सक्ने दाबी कसले छिटो गर्न सक्छ भन्ने हेर्नुपर्छ।
बीमा गर्नुपर्ने सम्पत्तिको मूल्य, ठेगाना, सम्झौताका बुँदा ठीक छ कि छैन भन्ने हेर्नुपर्छ। यत्ति हेरिएमा यसले दाबी पर्दा कुनै पनि समस्या आउँदैन। किनकि बीमा भनेको सम्झौता हो। सम्झौतामा आफूले हस्तान्तरण गरेको जोखिम प्रस्ट छ कि छैन भन्ने हेर्नुपर्छ। हेर्न जानेको छैन भने कम्पनीसँग सहयोग माग्न सकिन्छ।
निर्जीवनमा माथि भनिएजस्तै सम्झौतामा आफूलाई चाहिएको कुरा छ कि छैन हेर्नुपर्छ। त्यसपछि त्यो कम्पनीबारे बजारमा विश्वास छ कि छैन भन्ने हेर्नुपर्छ। यति भएपछि निर्जीवन बीमा ढुक्कले गर्न सकिन्छ। तपाइँ सम्झौतामा बलियो हुनुहुन्छ भने दाबी नपाउने भन्ने कहिले पनि हुँदैन।
जीवनमा पनि पहिले आफूलाई के जोखिम छ हेर्नुपर्छ। मेरा लागि अहिले म नै हो। केही मानिस मसँग आश्रित छन्, उनीहरुका लागि मैले आर्थिक स्थायित्व दिनुपर्छ भन्नका निम्ति बीमा गर्ने हो। यसका लागि दुईवटा विकल्प हुन्छ, एउटा बचत प्रकृतिको पोलिसी लिने वा अर्को म्यादी बीमा गर्ने।
बीमा कम्पनीहरुले ल्याउने प्रडक्ट प्रायः उस्तै हुन्छन्। ती प्रडक्ट कसरी छान्ने ?
जीवन बीमामा हेर्ने हो भने अहिले बजारमा करिब ४ वटा प्रकारका प्रोडक्ट छन्। इन्डोमेन्ट, एस्पेरिमेन्ट, मनीब्याक, टर्म प्रडक्ट छन्। यसैबाट अन्य प्रडक्ट बनाइने हुन्। प्रडक्टको मूल्यमा पनि धेरै फरक छैन। मूल्यमा अन्य केही कुरा समावेश गरेको हुन सक्छ। प्रिमियममा त्यतिधेरै फरक हुँदैन।
अब हेर्ने भनेको मलाई कुन प्रडक्टले मेरो आवश्यकतालाई पूरा गर्छ, त्यो खोज्ने हो भने अर्को बोनस कसले धेरै दिएको छ भनेर हेर्नुपर्ने हुन्छ।
नागरिकले बीमा गर्नु अगाडि जोखिम, बचत वा केलाई प्राथमिकता दिनुपर्छ ?
सबैभन्दा पहिले त जोखिमलाई हेर्नुपर्छ। मलाई बीमा पोलिसी चाहिएको छ कि छैन भनेर मैले निर्णय गर्नुपर्छ। त्यसको आधार बचत प्रकृतिमा मैले लगानी गर्न सक्दिनँ, त्यसकारण म बचत बीमा कम्पनीलाई दिन्छु, उसले बीमा नि गराइदिन्छ र बचत नि गराउँछ भन्ने हुनुपर्छ।
अर्को, म राम्रो लगानीकर्ता हुँ। मेरो लगानी डुबे पनि त्यसको रिटर्न लिन म सक्षम छु भन्ने लाग्छ भने म्यादी बीमातिर जानुपर्छ।
मेरो सुझाव, प्रोफेसनलहरुले सीधै इन्डोमेन्ट प्रडक्ट लिन नचाहनेले कम्तीमा म्यादी बीमा चाहिँ गराउनुहोला।
एउटा नागरिक र उसको सम्पत्ति जीवनको कुन चक्रमा पुगेपछि बीमा गराउने ?
बीमाका लागि कुनै पनि बखत नागरिक योग्य हुन्छन्। मसँग १ लाख रुपैयाँ छ। यदि त्यो १ लाख रुपैयाँबराबरको सम्पत्ति कुनै पनि कारणले नष्ट भयो भने म फेरि शून्यमा आइपुग्छु। म जिरोबाट फेरि १ लाख रुपैयाँ कमाउनका लागि धेरै समय लाग्छ भन्ने मलाई लाग्छ भने मैले जीवन बीमा गराउनुपर्छ। अर्को भनेको, मसँग घर छ, त्यो कुनै पनि कारणले नष्ट हुन सक्छ। विगतमा अरुको घर पनि विभिन्न कारणले नष्ट भएको देखिएको छ। अब आफ्नो घर पनि नष्ट हुन्छ भन्ने लाग्छ र फेरि नयाँ घर बनाउन त ठूलो धनराशि चाहिन्छ। त्यस बीचमा बसेर आर्थिक रुपमा कम क्षति हुने वा जोखिम हस्तान्तरण गर्नका लागि बीमा आवश्यक हुन्छ।
जीवन बीमाको हकमा हेर्ने हो भने मध्यम वर्गका नागरिकलाई बीमा उपयुक्त रहेछ, त्यसभन्दा तल जाने हो भने त प्रिमियम तिर्नै सकिँदैन नि।
जीवन बीमाको केसमा सबै नागरिकलाई बीमा आवश्यक पर्छ। पैसा नै तिर्न नसक्ने गरिबलाई समेट्न सामाजिक सुरक्षाका माध्यमबाट सरकारले सहजीकरण गर्नुपर्छ। बीमाले कुनै पनि एकजना व्यक्तिलाई उसको अहिले भइरहेको पोजिसनमा कुनै पनि घटनाक्रमले फेरि शून्य अवस्थामा आइपुग्नबाट बच्न बीमा चाहिन्छ।
पोलिसी बनाउने बेला के–के चिज हेरिन्छ ?
जीवन बीमातर्फ प्रडक्ट डिजाइनका लागि निर्देशन, सिद्धान्त सबै छ। यसले क्यास फ्लो हेर्छ। प्रिमियमबाट कति आम्दानी हुन सक्छ र कति खर्च हुन सक्छ भनेर हेरिन्छ। त्यसका लागि अहिले भइरहेका कम्पनीहरुले अहिलेसम्मको अनुभव कस्तो रह्यो भन्ने पनि हेर्छन्। कस्ता खालका मान्छेसँग अहिले पैसा छ भन्नेसम्म अध्ययन हुनुपर्छ।
निर्जीवन बीमामा ट्यारिफबेस छन्। ट्यारिफ बन्दा अहिलेसम्मको घाटा वा जोखिम के–के रह्यो भन्नेबारे हेरिन्छ। अहिले बीमा प्राधिकरणले रिस्क बेस प्राइसिङमा जाने भनिरहेको छ। यसमा पुग्दा ट्यारिफबेस हुँदैन। त्यसकारण कम्पनीले रिस्क प्राइसिङका लागि औजार बनाउनुपर्छ। अब के हुन सक्छ भन्नेसमेतको क्याल्कुलेसन गरेर टेक्निकल प्राइस आउँछ। त्यसपछि कम्पनी अगाडि बढ्छ।