IME Life
GBIME

यस्ता छन् बीमाका आधारभूत सिद्धान्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुनै व्यक्ति वा व्यवसायीक संस्थाले बहन गर्नुपर्ने वित्तीय नोक्सानीको भारलाई काँध थापिदिने काम बीमाले गर्छ। कुनै घरको मुलीको निधनपछि वित्तीयरूपमा संकटमा पर्ने आश्रित परिवारजन होस् वा, दुर्घटना वा विपत्तीमा सम्पत्तीको नोक्सानी व्यहोरेको उद्योगी व्यापारी, सबैका लागि बीमाले सुरक्षा प्रदान गर्छ। नोक्सानीको भार कम गरिदिन्छ, दुःखको घाउमा मल्हम लगाई दिन्छ।

बीमाको उचित लाभ प्रसार गर्न र दुरूपयोग रोक्नका लागि विश्वव्यापीरूपमा केही निश्चित आधारभूत सिद्धान्तहरू लागू गरिएका छन् । ती सिद्धान्तहरूको इमान्दारितापूर्वक पालना गर्नु बीमक र बीमित दुबै पक्षको कर्तव्य हुन्छ। यहाँ उल्लेख गरिएका आधारभूत सिद्धान्तहरूमध्ये कुनै पनि सिद्धान्तको उलंघन कुनै पनि पक्षबाट भएको अवस्थामा बीमाको करार भंग हुनजान्छ।

Crest

परम सद्विश्वासको सिद्धान्त
यो सिद्धान्त बीमाको सबैभन्दा महत्वपूर्ण र आधारभूत सिद्धान्त हो । बीमक र बीमित बीच धेरै विश्वास अर्थात परम सदविश्वास हुन आवश्यक हुन्छ । बीमक र बीमित दुबैले बीमा गरिएको जीवन वा वस्तुको बारेमा आफूले थाहा पाएसम्मको सत्य र यथार्थ जानकारी दिनुपर्छ वा उल्लेख गर्नु पर्दछ, अत्यन्तै सानो भन्दा सानो कुरा पनि कुनै पनि बहानामा ढाँट्न पाइन्न । यदि सदविश्वासको पालना नगरी कुनै झुट्टा विवरण दिएको रहेछ भने कुनै पनि पक्षले करार भङ्ग गर्न सक्छ र हर्जाना दाबी गर्न सक्छ। बीमामा बीमित वा बीमकले झुट्ठा विवरण दिई बीमा गरेको खण्डमा परम् सदविश्वासको सिद्धान्तको उल्लङ्घन भएको मानिन्छ ।

यदि बीमकलाई यो कुराको जानकारी हुन गयो भने उसले बीमा करार भङ्ग गर्न सक्छ । जालसाजी गरी बीमा गर्न खोजेको भनी उल्टै बीमितसँग हर्जाना माग गर्न सक्छ । बीमितलाई आफ्नो सम्पत्तिमा हुन सक्ने जोखिम बारेमा सबैभन्दा बढी जानकारी हुन्छ । उसले दिएको जानकारीको आधारमा नै बीमाशुल्क निर्धारण हुन्छ । त्यसैले सम्पतिको जोखीमाङ्कनको लागि बीमितले सबै आवश्यक कुराहरू सही र दोहोरो अर्थ नलाग्ने तरिकाले कुनै कुरा गोप्य नराखी उल्लेख गर्नु पर्दछ । यो सिद्धान्त जीवन, निर्जीवन तथा अन्य सबै खाले बीमामा समान ढङ्गले लागू हुन्छ ।

बीमायोग्य हितको सिद्धान्त
मा गरिएको जीवनको क्षति हुँदा बीमितलाई नोक्सान हुने अवस्था भएमा बीमायोग्य हितको सिद्धान्त लागू हुन्छ । उदाहरणको लागि मानौं कुनै व्यक्तिको गाडी चोरी भयो वा हरायो भने उसलाई नोक्सानी हुन्छ र उ दुःखी हुन्छ । त्यस्तै, कुनै व्यक्तिको बाबु वा आमाको मृत्यु भयो भने उसलाई उक्त मृत व्यक्तिको कमाई बराबरको नोक्सानी हुनुको साथै ऊ दुःखी पनि हुन्छ ।

बीमा गरिने वस्तु वा जीवनको मूल्य बढ्दा, त्यसको राम्रो अवस्था आउँदा, त्यसमा नाफा हुँदा वा त्यसको उन्नति हुँदा बीमित खुसी हुन्छ भने उक्त वस्तु वा जीवनको मूल्य घट्दा, त्यसको नराम्रो अवस्था आउँदै, त्यसमा घाटा हुँदा, त्यसको अवनति वा क्षति हुँदा बीमितलाई नोक्सान वा दुःख हुन्छ । त्यसलाई बीमायोग्य हित भएको मानिन्छ ।

त्यस्तै, कुनै व्यक्तिले अर्काको छोराछोरी वा अर्काको घरको बीमा गर्न सक्दैन । किनभने अर्काको घरको क्षतिबाट उक्त व्यक्तिलाई प्रत्यक्ष हानी नोक्सानी हुँदैन र उक्त घरसँग निजको सम्बन्ध हुँदैन । साधारणतया सम्पत्तिको मालिक वा कुनै व्यक्तिको अभिभावक, साझेदार, अंशियार आदिमा बीमायोग्य हित हुन्छ । बीमायोग्य हित भएको मानिसले जुन वस्तुमा आफ्नो मायोग्य हित हुन्छ, त्यसको बीमा गर्न पाउँछ । तर माथि उल्लेखित अवस्था भन्दा अन्य अवस्थाहरूमा समेत बीमायोग्य हित हुन सक्छ । बीमालाई जुवा जस्तो हुनबाट रोक्न र बीमामा नैतिक नोक्सानी हुनबाट बचाउन बीमायोग्य हितको सिद्धान्त आवश्यक पर्छ ।

क्षतिपूर्तिको सिद्धान्त
बीमा अवधिभित्र बीमा गरिएको वस्तु वा जीवनमा हुने क्षति वा हानी भएको खण्डमा बीमितसँग लिइएको बीमाशुल्कको सट्टामा बीमकले बीमा गरिएको रकमभन्दा बढी नहुने गरी भुक्तानी गर्नु पर्दछ । यो सिद्धान्तले रक्षावरण गरिएको जोखिमको कारणबाट भएको क्षति बराबरको रकम भुक्तानी गर्नु पर्दछ भन्दछ । तर बीमा गरिएको रकम भन्दा बढि क्षति भएको खण्डमा बढीमा बीमा गरिएको रकम सम्म मात्र बीमकले भुक्तानी गर्दछ। जीवन बीमा, स्वास्थ्य बीमा जस्ता केही बीमामा भने यो सिद्धान्त लागू हुँदैन । बीमाले क्षतिपूर्ति प्रदान गर्ने हुनाले त्यसलाई क्षतिपूर्तिको करार समेत भनिन्छ । जीवन बीमा लगानी र बीमाको मिश्रित स्वरुप हो । मानिसको जीवनको मूल्याङ्कन गर्न नसकिएको हुनाले जीवन बीमामा क्षतिपूर्तिको सिद्धान्त लागू हुदैन ।

प्रत्यासनको सिद्धान्त
अन्य पक्षको ठाँउ लिनुलाई नै प्रत्यासन भनिन्छ । बीमाको सम्झौता अनुसार क्षतिपूर्ति गरीसके पश्चात् बीमा गरिएको सम्पत्तिको स्वामित्व वा त्यसलाई उपयोग वा भोगचलन गर्ने अधिकार बीमकलाई प्राप्त हुन्छ, त्यसैलाई नै प्रत्यासनको सिद्धान्त भनिन्छ । जस्तै, रामको मोटर हरायो र बीमकले रामलाई बीमा बापतको रकम क्षतिपूर्ति दियो भने रामको हराएको मोटरको सबै अधिकार अब बीमा कम्पनीको हुन्छ।

यदि उक्त मोटर खोज्न, फेला परेमा बेच्न वा प्रयोग गर्ने सबै अधिकार बीमकको हुन्छ । यदि प्रत्यासनको सिद्धान्त नहुने हो भने बीमितलाई दोहोरो फाइदा हुन जान्छ । बीमामा फाइदा वा नाफा गर्न पाइँदैन। यदि बीमितको सामानको क्षति तेस्रो पक्षले गरेको रहेछ भने बीमकले बीमितलाई क्षतिपूर्ति गरिसके पश्चात् तेस्रो पक्षबाट उक्त रकम असुलउपर गर्ने अधिकार बीमकको हुन्छ । यदि तेस्रो पक्षबाट बीमा गरेको भन्दा बढी रकम असुल भयो भने उक्त बढी भएको रकम बीमकले बीमितलाई दिनु पर्दछ । तर यो सिद्धान्त जीवन बीमामा लागू हुँदैन ।

निकटतम् कारणको सिद्धान्त
बीमा गरिएको सम्पत्तिको क्षति विभिन्न कारणले हुन सक्दछ । जस्तैः बीमा करारमा प्रष्टरुपमा लेखिएको जोखिमको कारणबाट भएको क्षति, बीमा करारमा लेखिएको तर अपवादमा परेको जोखिमको कारणबाट भएको क्षति तथा कहिँ उल्लेख नै नगरिएको कारणबाट भएको क्षति । कुन कारणबाट क्षति भएको हो सो कारण पत्ता लगाउनु पर्दछ । क्षतिका धेरै कारणहरूमध्ये सबैभन्दा नजिकको कारणलाई निकटतम् कारण भनिन्छ ।

उक्त निकटतम् कारण बीमा गरिएको जोखिम हो भने बीमकले क्षतिपूर्ति प्रदान गर्दछ, अन्यथा प्रदान गर्दैन । यसरी क्षतिको निकटतम् कारणको बीमा भएको हुनुपर्ने सिद्धान्तलाई निकटतम् सिद्धान्त भनिन्छ । जस्तैः रामको घर बीमा गरिएको थियो । चट्याङ परेको कारणले उसको घरको बिजुलीको मिटरमा बिजुलीको तार सर्ट भयो र त्यसबाट उसको घरमा आगजनी भयो। यस उदाहरणमा, चट्याङ पर्नु, बिजुलीको तार सर्ट हुनु आदि घरमा आगो लाग्नुको कारणहरू हुन्, तर आगो लाग्नुका सबैभन्दा नजिकको कारण भनेको तारमा सर्ट सर्किट हुनु हो ।

त्यसकारण अब रामले चट्याङको बीमा मात्र गरेको रहेछ भने उसले बीमा बापतको क्षतिपूर्ति प्राप्त गर्न सक्दैन । यदि उसले सर्ट सर्किटको समेत बीमा गरेको रहेछ भने बीमा बापतको क्षतिपूर्ति प्राप्त गर्न सक्छ। तसर्थ, निकटतम् कारणको बीमा गरेको छ भने मात्र बीमकले बीमितलाई क्षतिपूर्ति प्रदान गर्दछ ।

योगदानको सिद्धान्त
कुनै पनि बीमितले आफ्नो सम्पत्ति एकभन्दा धेरै बीमकसँग बीमा गराएको हुन सक्छ । त्यसरी एकभन्दा बढी बीमकसँग बीमा गराएको रहेछ भने क्षति हुँदाको बखत बीमितले सबै बीमकसँग छुट्टाछुट्टै क्षति वापतको रकम लिन सक्दैन । यदि उक्त बीमितले सबै बीमकसँग क्षति वपतको रकम लिने हो भने उसलाई क्षतिबाट नाफा हुन जान्छ। बीमा नाफा होइन क्षतिपूर्ति मात्र हो । यसरी नाफा कमाउने कार्यलाई मान्यता दिइयो भने बीमा सट्टेबाजी वा जुवामा परिणत हुन्छ ।

त्यसैले सबै बीमकहरूले कूल क्षतिपूर्ति रकमको योगफल बराबर हुने गरी क्षति भएको समानुपातिक हिसाबले बीमितलाई क्षतिपूर्ति रकमको योगफल बराबर हुनेगरी क्षतिभएको समानुपातिक हिसाबले बीमितलाई क्षतिपूर्ति प्रदान गर्दछन् । जसको कूल योगफल क्षति भएको रकम बराबर हुन पुग्दछ ।

उदाहरणका लागिः कुनै व्यवसायीक किसानको कृषि फारममा आगलागी भएर १० लाख रूपैयाँ बराबरको धनमाल नोक्सानी भयो । उसले यस्तो संभावनालाई पहिले नै आंकलन गरेर तीन वटा बेग्ला बेग्लै कम्पनीमा १०-१० लाख रूपैयाँ बीमाङ्कको बीमा समेत गरेको रहेछ । यसरी हेर्दा उसले नोक्सानीको जोखिम बहनका लागि बेग्ला बेग्लै बीमा कम्पनीबाट कुल ६० लाख रूपैयाँ बराबरको बीमा गरेको रहेछ।

अब आगलागीबाट भएको नोक्सानीवापत उसले प्रत्येक बीमकबाट १० लाख रूपैयाँका दरले कुल ३० लाख रूपैयाँ दाबी गर्न पाउँदैन । उसले तीनवटै बीमकसँग कुल १० लाख रूपैयाँ भन्दा बढी दाबी गर्न पाउँदैनन् । तीनवटै बीमकले दामासाहीबाट वा कुनै एक बीमकले मात्र कुल १० लाख रूपैयाँ मात्र ती किसानलाई भुक्तानी दिने दायीत्व हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS