काठमााडौं । हरेक मानिसको जीवनमा आफ्नै सपना हुन्छ। अनि त्यो सपना पूरा गर्ने लक्ष्य हुन्छ। त्यो लक्ष्य प्राप्तिका लागि थुप्रै चुनौतीको सामना गर्नुका साथै हरेक पलमा संघर्ष पनि गर्नुपर्ने हुन्छ। तर, त्यो व्यक्ति त्यति बेलामात्रै आफ्नो लक्ष्य प्राप्ति गर्न सफल हुन्छ। जब उसले अनेक आरोह र अवरोहलाई सामना गर्ने सामथ्र्य राख्छ। त्यही सामथ्र्य नै उसको जीवनका लागि हिम्मत बनेर आउँछ। यही अनेकन बाधा र चुनौतीलाई हिम्मतमा परिणत गर्दै सफल जीवनको सिँढी उक्लिएका व्यक्ति हुन्, रामबहादुर खत्री।
भोजपुरको अरुण गाउँपालिकामा २०४२ सालमा जन्मिएका खत्रीको बाल्यकाल सामान्य किसानी परिवारमा बित्यो। किसानी परिवारमा मेलापात, दाउरा, घाँस गर्दै हुर्किएका खत्रीले बिहान–बेलुका घरको काम गरेर पढेका थिए। उनले स्नातकसम्मको अध्ययन भने आफ्नो जन्मभूमि भोजपुरबाट नै गरे। त्यसपछि एमए पढ्न उनी इटहरी झरे। भोजपुरबाट खत्रीको परिवार २०६९ सालमा इटहरी उपमहानगरपालिकामा बसाइ सरेर आए।
हाल खत्रीले सिटिजन लाइफको कोशी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। उनले लामो संघर्ष र त्यागपछि आज यो सफलता पाउन योग्य भएका छन्। उनले अहिले प्रदेश प्रमुख भएर आफ्नो प्रदेशमा रहेका शाखाको निगरानी गरिरहेका छन्। उनले आफ्नो प्रदेश मातहतमा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा प्रदेशका विभिन्न शाखामा तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका काम गर्दै आइरहेका छन्। यतिमात्रै होइन, उनले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो प्रदेशभरिका विभिन्न क्षेत्रमा गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।
किसानी परिवारमा हुर्किएर पनि होला खत्रीले संघर्ष गर्दै पढ्नुपर्यो। उनको पढ्नेमात्रै काम नभई बिहान–बेलुका घरमा सहयोग गरेर पढ्नुपर्ने बाध्यता थियो। त्यति गर्दा पनि उनी पढाइमा भने कमजोर थिएनन्। उनी सधैँ स्कुलमा पहिलो कि दोस्रो हुन सफल हुन्थे। उनलाई सानैबाट पढाइ नै जीवन हो भन्ने लाग्थ्यो। उनको सानैदेखिको लक्ष्य नै पढेर मास्टर डिग्री हासिल गर्नु थियो। राम्रो पढेर परिवारलाई खुसी बनाउने खत्रीको सपना नै थियो। उनले आफूले देखेको सपना आज मेहनत र संघर्षले साकार पारेका छन्। साथीभाइको विदेश पलायन हुने लहड चलिरहेको समयमा पनि खत्री भने आफ्नो पढाइ नै सबै थोक हो भनेर नेपालमै केही गर्छु भन्ने आँट र अठोटका साथ लागि परिरहे। फलस्वरुप आज उनको त्यो अठोटले मूर्त रुप लिएको छ।
एलएलसी पास गरेपछि कलिलो उमेरमै खत्रीले आफ्नो पिता गुमाउनुपर्यो। उनका लागि त्यो जीवनकै सबैभन्दा दुःखद् क्षण थियो। बुवा गुमाएपछि उनले प्लसटु पढ्न जान पाएनन्। घर–खेती गर्नुपर्ने बाध्यता उनको अगाडि आइलाग्यो। बुवाको जिम्मेवारीलाई सम्हालेर उनले चाहेर पनि कलेज पढ्न जान पाएनन्। त्यसपछि उनले २ वर्ष स्वःअध्ययन गरेर प्लसटु पास गरे।
खत्री २०६५ सालमा शिक्षण पेसामा आबद्ध भए। त्यसपछि उनको पारिवारिक अवस्थाका कारण मास्टर्स डिग्री पनि काम गर्दै पढ्नुपर्ने वातावरण सिर्जना भयो। जस्तोसुकै बाधा आए पनि उनले पढाइलाई भने निरन्तरता नै दिइरहे। मास्टर पढ्दा पनि उनले स्कुल पढाउँदै आफू पनि पढ्दै गरे। उनले पढाइका लागि धेरै संघर्ष गर्नुपर्यो। उनले करिब डेढ वर्ष अध्यापन क्षेत्रमा आफूलाई व्यस्त बनाए। उनको सपना नै राम्रो बढेर कलेजको प्रोफेसर बन्ने थियो। मानिसको जीवन न हो, साचेजस्तो केही पनि हुँदैन। सपना एकातिर अनि बाध्यता अर्कोतिर। पारिवारिक अवस्थाका कारण पनि खत्रीले जुन क्षेत्रमा धेरै पैसा हुन्छ, त्यही गर्नुपर्ने बाध्यता थियो।
सोही स्कुलमा एकाउन्ट पढाउने साथी किशोर दाहलले खत्रीलाई इन्स्योरेन्स क्षेत्रमा काम गर्न प्रस्ताव गरे। त्यो समयमा खत्रीलाई बीमा क्षेत्रका बारेमा सामान्य ज्ञान भए पनि राम्रोसँग बीमा बुझेका थिएनन्। रामका साथी किशोरले भने, ‘साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खुलेको रहेछ। जागिर गर्ने हो ? शिक्षण पेसामा भन्दा राम्रो कमाइ हुन्छ। सामाजिक हिसाबले पनि राम्रो हुन्छ। बीमा क्षेत्रमा राम्रो करिअर छ।’ अनि साथीले भनेको कुरामा खत्रीलाई पनि राम्रो होला भन्ने विश्वास जाग्यो र जागिरका लागि ट्राई गर्छु जे हुन्छ–हुन्छ भनेर ओके गरे।
त्यसपछि साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालीन ब्रान्च म्यानेजर पुष्कर भट्टराईले खत्रीको अन्तर्वार्ता लिए। उनी पास पनि भए। अन्ततः खत्रीले २०६६ सालमा शिक्षण पेसालाई बिट मारेर इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरे। उनले जुनियर असिस्टेन्टबाट इन्स्योरेन्स क्षेत्रको यात्रालाई अगाडि बढाएका थिए। टिचिङ पेसामा रमाइरहेका खत्रीलाई इन्स्योरेन्स क्षेत्र त नौलो नै भयो तर पनि उनले मेहनत गर्दै गए। उनी त्यस
कम्पनीमा सिनियर असिस्टेन्टसम्म पुगेका थिए। काम गर्दै जाने क्रममा उनी अन्डरराइटिङ र सेल्समा आकर्षित भइसकेका थिए। उनलाई भित्रैबाट ‘हो अब मैले इन्स्योरेन्समै केही गर्नुपर्छ’ भन्ने मनोभाव जागेर आयो। त्यसपछि भने उनले साविक प्राइम लाइफमा साढे ३ वर्ष काम गरेर त्यहाँ पनि बिट मार्ने निधो गरे।
सेल्समा आकर्षित भइसकेका खत्रीलाई कम्पनी परिवर्तन गरी काम गर्न मन लाग्यो। नभन्दै साविक सूर्य लाइफमा भ्याकेन्सी ओपन भएको रहेछ। अनि उनले ब्रान्च म्यानेजरका लागि अप्लाई गरे। त्यहाँ पनि उनले अन्तर्वार्ता पास गरी इटहरी शाखा कार्यालयको जिम्मेवारी पाए र काम गर्न थाले। त्यस कम्पनीमा पनि खत्रीले करिब ३ वर्ष काम गरेर छाडे। साविक सूर्य लाइफमा हुँदा पनि खत्रीले राम्ररी शाखा प्रमुखको जिम्मेवारी पूरा गरेका थिए।
इन्स्योरेन्स क्षेत्रमा सधैँ नयाँ अवसर हुने भएकाले खत्रीलाई यो क्षेत्र धेरै मन पर्न थाल्यो। पहिला साविक सूर्य लाइफमा सँगै काम गरेका र हाल आइएमई लाइफको सीइओ कवि फुयालसँग खत्रीको राम्रो चिनजान थियो। फुयालले ‘सिटिजन लाइफमा आउनुस्। नयाँ कम्पनी अनि काम गर्ने पनि नयाँ तरिका छ’ भने। फुयालले भनेको कुरालाई खत्रीले सहजै स्वीकार गरी सिटिजनमा आउने निधो गरे। अनि खत्रीको लामो अन्तर्वार्ता लिइओ। अन्ततः पास पनि भए। त्यसपछि खत्रीले इटहरी शाखा कार्यालयमा शाखा प्रमुखको जिम्मेवारी सम्हाले।
नयाँ अवसर र राम्रो कम्पनीको खोजीमा खत्रीलाई सिटिजन लाइफ मन पर्यो। उनलाई सिटिजन लाइफको काम गर्ने शैली, नयाँ कम्पनीमा नयाँ तरिका, नयाँ इनोभेसन, नयाँ प्लान, म्यानेजमेन्ट टिम, कर्मचारीप्रति उच्च व्यवस्थापनले गर्ने सकारात्मक व्यवहार, काम गर्नेलाई दिने हौसला, व्यावसायिक वातावरणलगायतका विभिन्न कुराले खत्रीलाई सिटिजन लाइफमा तान्यो। ‘हरेक कम्पनीमा आफ्नो सिस्टम, शैली हुन्छ’, खत्रीले भने, ‘मलाई सिटिजन लाइफको सबै व्यवस्थापन मन पर्यो। म २०७४ सालदेखि अर्थात कम्पनीको सुरुआती समयबाटै नै यस कम्पनीमा आबद्ध छु। नयाँ कम्पनी भन्ने मलाई कहिले पनि लागेन। किनकि सिटिजन लाइफ व्यापार र व्यावसायिक हिसाबमा कहिले पनि पछि नै परेन। कम्पनीले ग्राहकसामु एउटा छाप नै बनाइसकेको छ। ग्राहकको मनमा छाएको छ। यो देख्दा धेरै हर्षित छु। कामलाई रमाएर गरेको छु।’
सुरुआती समयमा खत्रीलाई नयाँ मार्केटमा भिज्न चुनौती नै थियो। ‘जति नै चुनौती आए पनि म त्यो चुनौतीसँग लडिनै रहेँ’, खत्रीले भने, ‘त्यो चुनौतीबाट भागेको भए आज म यो स्थानमा आइपुग्ने थिइनँ। अर्को क्षेत्रमा प्रस्थान गर्नुपथ्र्यो। आज जे छु मेरो संघर्ष र त्यागको कारणले नै छु।’
बीमा क्षेत्रमा नयाँ आउने कर्मचारीलाई सुझाव दिँदै खत्रीले भने, ‘बीमा क्षेत्रमा आउँदा चुनौतीलाई स्वीकार गर्छु भन्ने आँट गरेर आउनुस्। अरु क्षेत्रमा जस्तो सहज पनि छैन र फेरि त्यति असहज पनि होइन। काम गर्ने तरिका र शैली फरक हुन्छ तर दीर्घकालीन रुपमा टिक्छु भन्ने सोच राखेर आउनुस्।’
‘जीवन बीमा क्षेत्रमा काम गर्दा आनन्द आउँछ। बीमा गराउन गाह्रो तर गराएपछि आनन्द हुन्छ। आफूलाई पनि केही हदसम्म फाइदा अनि बीमितको पनि लाइफ सेक्योर हुन्छ। भविष्यमा आइपर्ने समस्यामा सहज हुन्छ। बीमा क्षेत्र यस्तो हो कि अभिकर्ता बनेर काम गर्दा रोजगारी सिर्जना हुन्छ। अरु काम गरेर पनि यस पेसालाई अपनाउन सकिन्छ। अभिकर्ता वास्तवमै भन्दा धेरै राम्रो पेसा हो।’
मानिसहरु जीवन बीमालाई लिएर पहिलाभन्दा सकारात्मक रहेको खत्रीको भनाइ छ। ‘अहिलेका मानिसले बीमा बुझेका छन्। अहिले बीमा शिक्षा दियो र बीमा बुझाउन सक्यो भने बीमा गराउन गाह्रो हुँदैन’, उनको अनुभव छ, ‘कोभिड, भुइँचलो र महामारीका कारण पनि बीमाप्रति मानिस सचेत बनेका छन्।’
सिटिजन लाइफको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको खत्रीको अनुभव छ। ‘डिजिटल भएपछि मानिसहरुमा विश्वास बढेको छ’, रामले भने, ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाट नै हुन्छ। यो हुँदा ग्राहकलाई पनि सहज र बीमा कम्पनीलाई पनि सहज हुन्छ।’
कोशी प्रदेशमा जीवन बीमाको अवस्था मध्यम किसिमको रहेको रामको भनाइ छ। ‘राम्रो प्रतिक्रिया आएको छ’, उनले भने, ‘धेरैले बीमा नगरेको अवस्था छ तर गरेको मानिसबाट राम्रो रेस्पोन्स छ। बीमा सचेतना लिएर गाउँ–गाउँमा गएका छौँ। दूरदराजका मानिसलाई भेला गरी बीमा शिक्षा दिएका छौँ। अब कोशी प्रदेशका सबैलाई बीमाको दायरामा ल्याउने योजनासहित हिँडेका छौँ। यसका लागि एउटा कम्पनीले भन्दा पनि सिंगो बीमा बजार र नियमनकारी निकायले नै बीमा सचेतनाका लागि पहल गर्न आवश्यक छ।’
जीवन बीमा कुन समुदायका लागि राम्रो भन्दा पनि सबै तह र तप्काका मानिसलाई जीवन बीमाको खाँचो रहेको खत्रीको भनाइ छ। ‘हामीले ठूलो रकमको बीमा गराउन जोड दिनुभन्दा पनि स–सानो बीमा गराए पनि बीमाको दायरामा ल्याउने कोसिस गर्नुपर्छ। यो मन्दीमा ठूलो रकमको बीमा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘त्यो अभिकर्ताले पनि बुझाउनुपर्छ।’
अभिकर्ता सबल र सक्षम भएर मार्केटमा जानुपर्ने खत्रीको सुझाव छ। अभिकर्तालाई कम्पनीले समय–समयमा क्षमता अभिवृद्धि तालिम दिएर सक्षम बनाउनुपर्नेमा उनको जोड छ। ‘च्यालेन्जलाई स्वीकार गर्न सक्ने अभिकर्ता बीमा बजारमा हुनुपर्छ। यस्तो अभिकर्ता भयो भने बीमा बजारलाई फाइदा हुन्छ’, सिटिजन लाइफले अभिकर्ताहरुलाई समय समयमा क्षमता अभिबृद्धि तालिम दिँदै आइरहेको छ । उनले भने।
टिचिङ पेसालाई छोडेर इन्स्योरेन्समा आएका खत्री अहिले बीमा क्षेत्रमा रमाएर काम गरिरहेको बताउँछन्। ‘आफ्नो सपनाको क्षेत्रभन्दा बाहिर रहेर पनि मैले खुसी भएर काम गर्ने मौका इन्स्योरेन्स क्षेत्रमा पाएको छु। मेरो ड्रिम प्रोफ्रेसर बन्ने भए पनि अहिले आएर इन्स्योरेन्स क्षेत्र नै मेरो रोजाइ बनेको छ’, उनले भने, ‘सधैँ नयाँ–नयाँ काम गर्न र नयाँ च्यालेन्ज फेस गर्ने मौका पाउँछु, त्यो मलाई सहर्ष स्वीकार्य छ। किनकि म यो क्षेत्रमा आफ्नो कामलाई मात्रै होइन, सपनालाई लिएर पनि गर्दैछु।’
‘जीवन बीमा प्रत्येक व्यक्तिको बचतको आधार पनि हो’, खत्रीले थपे, ‘बीमाले बचतको ग्यारेन्टी गर्छ। वर्तमानमा जस्तो परिस्थिति छ, भोलि त्यो नहुन सक्छ। त्यसकारण पनि बीमाले आजमात्रै होइन भोलिका लागि पनि सुरक्षा प्रदान गर्ने भएकोले बीमा सबैका लागि अपरिहार्य छ।’
सबैले बीमा गर्दा बुझेर र बुझाएर गर्नुपर्ने खत्रीको सुझाव छ।
अन्त्यमा खत्रीले आफ्नो सफलता नै कम्पनीको सफलता हो भन्दै कम्पनीप्रति आभार व्यक्त गरे। उनले म्यानेजमेन्ट टिम, चिफ मार्केटिङ अफिसर, कर्मचारी र अभिकर्ता सबैलाई धन्यवाद दिएका छन्।