काठमाडौं । ग्राहकलाई बीमाको बारेमा विशेषज्ञ सल्लाह सुझाव दिने र बीमकको प्रतिनिधिको रूपमा बीमाको काम गर्ने पेशाकर्मी हुन् बीमा अभिकर्ता । बीमा अभिकर्ताहरू बीमालेख खरिद गर्ने एउटा महत्वपूर्ण माध्यम हुन् । बीमा अभिकर्ताले आफ्नो विशेषज्ञता प्रयोग गरेर ग्राहकलाई सल्लाह सुझाव तथा बीमकको प्रतिनिधित्व गरि दिएवापत पारिश्रमिकका रूपमा बीमक वा बीमा दलाल कम्पनीबाट निश्चित रकम कमिशन प्राप्त गर्छन् ।
नेपालको बीमा बजारमा अभिकर्ताको योगदान के छ?
नेपाली बीमा बजारमा तालिम प्राप्त अभिकर्ताको संख्या २ लाख ७७ हजार भन्दा माथि छ । १४ वटा बीमा दलाल कम्पनीहरू सकृय छन् । जीवन बीमाको बजारमा सावधिक प्रकृतिका बीमालेखको बिक्री वितरणमा ९० प्रतिशतभन्दा बढी योगदान बीमा अभिकर्ताको छ।
बीमालेखको बिक्रीमा बीमा अभिकर्ताको भूमिका के हुन्छ ?
ग्राहकको आवश्यकता अनुसार उपयुक्त वित्तीय सुझाव र बीमालेख सुझाव दिनका लागि अभिकर्ताले बीमालेख र बीमा कम्पनीको सम्बन्धमा पर्याप्त जानकारी हासिल गर्नुपर्ने हुन्छ। अभिकर्ताले ग्राहकको व्यक्तिगत जानकारी जस्तै आश्रित परिवारजन, आय स्तर, सामाजिक आर्थिक अवस्था आदीका आधारमा उपयुक्त सुझाव दिनुपर्छ। यी जानकारीहरूले अभिकर्तालाई बीमितको आवश्यकता सम्बोधन गर्ने गरी बीमालेख सुझाव दिएर आफू र बीमकप्रति विश्वास बढाउन मद्दत गर्छ।
बीमालेख प्रस्ताव सम्पन्न गर्नका लागि अभिकर्ताको सहयोग किन आवश्यक हुन्छ ?
बीमालेखको प्रस्तावमा संभावित ग्राहकले उल्लेख गरेका जानकारीहरूको आधारमा बीमकले नैतिक र वित्तीय जोखिमाङ्कन मूल्याङ्कन गरेर प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने निर्णय लिनुपर्छ। त्यसैले प्रस्ताव फारममा सोधिएका विवरणहरू सावधानीपूर्वक भर्नुपर्छ। अभिकर्ताले प्रस्ताव फारममा माग गरिएका जानकारीहरूबारे बुझ्न र उपयुक्त विवरण लेख्नका लागि ग्राहकलाइ सुझाउँछ्न् । उनीहरूले बीमालेख प्रस्तावमा अनिवार्य खुलाउनुपर्ने विषयवस्तुको जानकारी दिन्छन्। साथै महत्वपूर्ण जानकारी लुकाएको अवस्थामा बीमालेख प्रस्ताव रद्द हुने वा दाबी अस्वीकृत हुने वा बीमाशुल्क रकम जफत हुने संभावनाबारे पनि सचेत गराउँछन् ।
जीवन बीमाको प्रस्तावका लागि ग्राहकले अनिवार्यरूपमा खुलाउनुपर्ने स्वास्थ्य अवस्थाबारे पनि अभिकर्ताले बीमितलाई सुझाव दिन्छन् ।
के तपाइले अभिकर्तामार्फत बीमाशुल्क भुक्तानी गर्न सक्नुहुन्छ ?
अवश्य पनि । तर यो बीमालेखको प्रकृति र बीमालेख जारी हुने समयावधिमा निर्भर हुन्छ। तपाईले बीमाशुल्क किस्ता भुक्तानी गर्ने तरिका र भुक्तानीको अवधि र मितिको विषयमा अभिकर्तामार्फत् जानकारी लिन सक्नुहुन्छ । धेरैजसो बीमकले बीमाशुल्क भुक्तानीका लागि पर्याप्त विकल्पहरू उपलब्ध गराएका हुन्छन् । बीमा कम्पनीको शाखामा नगदै जम्मा गर्ने, बैंक खातामा नगद जम्मा गर्ने, डिजिटल वालेटमार्फत वा मोबाइल बैंकिङ मार्फत् बीामशुल्क भुक्तानी गर्ने सुविधा उपलब्ध छ।
तपाईले अभिकर्तालाई बीमाशुल्क भुक्तानीको लागि रकम हस्तान्तरण गर्दा चेकको माध्यमबाट वा नगदै हस्तान्तरण गर्ने हो भने नगद हस्तान्तरण गरेको कुनै सबुत प्रमाण आफूसँग राखेर मात्र हस्तान्तरण गर्नुहोला । तपाइले अभिकर्तालाई बीमाशुल्कको किस्ता भुक्तानी गर्नका लागि नगद हस्तान्तरण गरेको प्रमाण रह्यो भने अभिकर्ताले नविकरण गर्नुपर्ने मितिमा बीमाशुल्क भुक्तानी नगरिदिएका कारण बीमालेख व्यतित भइ हाल्यो भने पनि बीमावापतको दाबी पाउने तपाईको अधिकार सुरक्षित रहनेछ ।
अभिकर्ता बन्ने योग्यता के हो ?
न्यूनत्तम शैक्षिक योग्यता भएका नेपाली नागरिकले बीमा अभिकर्ताको इजाजत पत्र हासिल गर्न सक्छन् । यसका लागि कम्तीमा एसइइ वा एसएसलसि(प्रवेशिका) परिक्षा उतीर्ण भएको हुनुपर्छ । यसबाहेक बीमकले सञ्चालन गर्ने बीमा अभिकर्ता सम्बन्धी चार दिने तालिममा सहभागि भएर नेपाल बीमा प्राधिकरणको अनलाइन परिक्षामा उतीर्ण समेत हुनुपर्छ।
व्यक्तिगतरूपमा बाहेक संस्थागतरूपमा समेत बैंक, वित्तीय संस्था, सहकारी संस्था वा अभिकर्ता सेवा गर्ने उद्देश्यले नै स्थापित कम्पनीले समेत अभिकर्ता इजाजत पत्र प्राप्त गर्न सक्छन् । यसका लागि सम्बन्धित संस्था वा कम्पनीको प्रमुखले अभिकर्ता इजाजत पत्र तालिममा सहभागि भई बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त गरेको हुनुपर्छ।
बीमा क्षेत्रको विकासमा अभिकर्ताले कसरी योगदान दिई रहेका छन् ?
सर्वसाधारणमा बीमा सम्बन्धि जागरण प्रसारमा बीमा अभिकर्ताले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । बीमकको विकास र प्रगतीका लागि उनीहरूको योगदान अनिवार्य हुन्छ, अझ विशेषगरी सावधिक प्रकृतिका बीमालेख बिक्री गर्ने बीमकको लागि। उनीहरूले बीमक र बीमितबीच सेतुको रूपमा काम गर्छन् । बीमा र बीमक प्रति सकारात्मक दृष्टीकोण विकासमा अभिकर्ताको व्यवसायीक भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
के अभिकर्ताले बीमितलाई सबै महत्वपूर्ण जानकारी दिनुपर्छ?
अवश्य पनि। एउटा व्यवसायीक र जिम्मेवार अभिकर्ताले बीमा कम्पनी, बीमालेखको जोखिम, बीमालेखबाट प्राप्त हुने प्रतिफल, दाबी लाग्ने अवस्था, दाबी अस्वीकृत हुने अवस्था, जीवन बीमा कम्पनीले लगानी गरेको क्षेत्र र ती क्षेत्रको प्रतिफलको अवस्था र लगानी डुब्न सक्ने जोखिम लगायतका विषयमा विस्तृतरूपमा जानकारी दिनुपर्छ। कस्तो अवस्थामा बीमालेख व्यतित हुनजान्छ र बीमालेख व्यतित भएको अवस्थामा कस्तो रकम दाबी गर्न सकिन्छ र कस्तो दाबी लाग्छ लाग्दैन भन्ने जानकारी पनि दिनुपर्छ।
यसबाहेक अभिकर्ताले बीमितलाई बीमालेखको जोखिम प्रारम्भ हुन अनिवार्य हुने प्रतिक्षा अवधि (वेटिङ पेरियड) छ भने त्यसबारे पनि अवगत गराउनुपर्छ। विशेषगरी स्वास्थ्य बीमा र बालबालिका सम्बन्धि सावधिक बीमामा प्रतिक्षा अवधि अनिवार्य हुन्छ। बीमा गरेको निश्चित दिन, महिना वा वर्षपछि मात्र बीमालेख अन्तर्गतको जोखिम बहन शुरू हुन्छ। प्रतिक्षा अवधि अगावै कुनै दाबी परेमा बीमकले दाबी अस्वीकृत गरिदिन सक्छ ।
अभिकर्ताले पैसा ठगी गरे भने के हुन्छ ?
अभिकर्ताले बीमित वा अरू कसैसँग कुनै पनि किसिमको लेनदेन गरेर रकमको दुरूपयोग गरेको पाइएमा तत्कालै बीमा इजाजत पत्र रद्द हुनेछ । र बाँकी जीवनका लागि अभिकर्ता पेशामा पुनः संलग्न हुनबाट बञ्चित हुनुपर्नेछ । यसैले अभिकर्ताले बीमित वा बीमकसँग पैसाको कारोबार गर्दा एकदमै सावधानीपूर्वक र इमान्दारिताका साथ गर्नुपर्छ।
यदि बीमा अभिकर्तासँग सम्बन्धित तपाईको कुनै गुनासो छ भने तपाईले सम्बन्धित बीमा कम्पनीको गुनासो सुन्ने अधिकारीलाई तत्कालै गुनासो गर्न सक्नुहुन्छ । बीमा कम्पनीको वेबसाइटको गृहपृष्ठमै गुनासो सुनुवाई गर्ने अधिकारीको नाम, व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना दिइएको हुन्छ । यसरी गुनासो गर्दा पनि २४ घण्टाभित्र तपाईको गुनासोको सम्बोधन नभएमा नेपाल बीमा प्राधिकरणको गुनासो सुनुवाई इकाई वा गुनासो सुनुवाई अधिकारीलाई गुनासो गर्न सक्नुहुन्छ ।
नेपाल बीमा प्राधिकरणको गुनासो सुनुवाई अधिकारीको सम्पर्क विवरणः
१) विरोध भट्ट
मोबाइल नम्बरः 9851343437
२) रंजिता केसी
मोबाइल नम्बरः 9851170979
इमेल ठेगानाः [email protected]