Connect IPS
IME Life

बीमामा सहायकबाट छिरेका उत्तमको उच्च व्यवस्थापकसम्मको छलाङ, ‘पुराना कर्मचारी कम्पनीको सम्पत्ति हो’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सफलता असफलता दुवै मानिसको कर्ममा भर पर्छ । हार होस् वा जित जिन्दगीको यात्रामा जारी नै रहन्छन् । मानिसहरु भन्छन् नि हिजो जस्तो थियो, आज पनि त्यस्तै छ । यो पनि बुझन् जरुरी छ कि हिजो जस्तो थियो आज त्यस्तो छैन । भोलि त्यही रुपमा पनि रहँदैन । धर्तीका हरेक शृंखला फेरिएका फेरियै छन् । सारा अवयव बदलिएका बदलियै छन् । तर, हामी भने समय फेरिएको भ्रममा बाँचिरहेका छौँ । यता फेरिएको परिस्थिति मात्र हो । त्यसैले संघर्ष मेहनतलाई समयको रफ्तारमा दौडाउन सकियो भने जीवन सफल बन्न सक्छ भन्ने भाव बोकेका व्यक्तित्व हुन्, उत्तम कोइराला ।

२०३७ सालमा सुनसरीको महेन्द्रनगरमा जन्मिएका उत्तमको बाल्यकाल सामान्य रुपमा नै बित्यो । सुनसरीमा जन्मिएका उत्तम एक वर्षको हुँदा झापाको चन्द्रगढीमा बसाँइ सरेका हुन् । बुवा–आमाका ३ भाइ छोरा र एक छोरीमध्येका कान्छो सन्तानका रुपमा जन्म लिएका उत्तम सानैबाट मेहनती थिए । उत्तम अहिले सिटिजन लाइफको बिर्तामोड एरिया ब्रान्च म्यानेजरको भूमिकामा छन् । उनले आफ्नो एरियामा रहेका विभिन्न शाखाका कर्मचारी, अभिकर्ता, तालिमलगायत अन्य व्यवस्थापनका विषयमा निगरानी गर्दछन् । उत्तम बिहान घरबाट निस्केपछि बेलुकासम्म बीमा सचेतना बाँड्नमा नै व्यस्त रहन्छन् ।

Prabhu
Crest

उत्तमले व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । उनले स्नातक तहसम्मको अध्ययन झापाबाट नै पूरा गरे । उनी गाउँमै रहँदा पनि हुलाक कार्यालयको करार सेवामा जागिरे जीवन बिताइरहेका थिए । सानैबाट आफूमै सक्षम बन्नुपर्छ भन्ने मानसिकतालाई आत्मासाथ गर्दै हिँडेका उत्तमले स्नातकोत्तर पढ्नका लागि सहर पस्ने निधो गरे । अन्ततः उत्तम २०६१ सालमा सपनाको सुनौलो सहर काठमाडौं आए ।

उत्तम यसरी लागे इन्स्योरेन्समा
काठमाडौं जस्तो सहरमा उत्तमका लागि भने सहजै वातावरण थियो । किनकि उत्तमका दुई दाइ एकजना निजामती जागिरे अनि अर्को दाइ बैंकर । उनका लागि बस पढेर राम्रो गर्नु थियो । गाउँमै छँदा जागिरको लत लागेको उत्तमलाई पढाइभन्दा पनि जागिरले पिरोल्न थाल्यो । उनका दुवै दाइ आ–आफ्नो ठाउँमा राम्रो जागिरे थिए । उनका लागि दाइहरुको जागिर नै चुनौती बन्यो । कलेज ज्वाइन गरेपछि उत्तमले दाइहरु जस्तै जागिर पनि गर्न रुचाए । ‘दाइहरुको भनाइमा कि मैले लोकसेवा पढ्नुपर्ने कि बैंकर बन्नुपर्ने । तर, मलाई यो दुवै जागिरमा रुचि थिएन । किनकि पहिला मैले हुलाकमा करारको जागिर गर्दा नै सरकारी जागिरको हाल देखेको थिएँ’, उत्तमले भने, ‘अनि बैंकमा पनि सधैँ एउटै काम । तर, मलाई भने सधैँ नयाँ–नयाँ काम गर्न मन लाग्ने। हो यही कारणले गर्दा नै मैले इन्स्योरेन्स सेक्टर रोजेँ ।’

२०६२ सालमा मेट लाइफको जुनियर असिस्टेन्टबाट काम थालेका उत्तमले त्यस कम्पनीमा १२ वर्ष काम गरे । मेट लाइफमा भ्याकेन्सी ओपन हुँदा आफ्नो दाइका साथीमार्फत मेट लाइफमा छिरेका उत्तम जुनियर अफिसरसम्म पुगेका थिए । त्यस कम्पनीमा हुँदा पनि उत्तमले कामप्रति अथाह मेहनत गरे । ‘कामलाई रमाउँदै गर्नुपर्छ’, उनले भने, ’कसैको दबाबमा काम गर्यो भने न रिजल्ट राम्रो आउँछ न त आफू नै सन्तुष्ट भइन्छ । त्यसकारण आफूले रोजेको काम अनि रमाउँदै गर्नुपर्छ ।’

लामो समय मेट लाइफका काम गरेका उत्तमलाई अर्को कम्पनीमा मुभ हुन मन लागिरहेको थियो । नभन्दै नेपाली बीमा बजारमा २०७४ सालमा नयाँ १० वटा कम्पनी सञ्चालनमा आए । उत्तमलाई त ‘ढुंगा खोज्दा देवता मिलेझैँ’ भयो । कम्पनी परिवर्तन गर्न खोजिरहेको समयमा धेरै कम्पनी स्थापना भए । अनि अवसर पनि धेरै थिए ।

अब कुन कम्पनीमा जाने भन्ने सोचिरहेको समयमा उत्तमसँगै मेट लाइफमा काम गरेका पोषकराज पौडेल (हाल सिटिजन लाइफका सीईओ), विमल वाग्ले (चिफ बिजनेस अफिसर)सँग राम्रो चिनजान थियो । अनि चिनेकै टिमसँग काम गर्न सजिलो र रमाइलो हुने हिसाबले उनले सिटिजन लाइफमा जाने निधो गरे । अन्ततः उत्तमले सिटिजन लाइफमा ब्रान्च म्यानेजरका लागि अन्तर्वार्ता दिए । अनि पास पनि भए । त्यसपछि उनले २०७४ सालबाट बिर्तामोड शाखा कार्यालयको जिम्मेवारी सम्हाले ।

कम्पनीको सुरुआती समयमै ब्रान्च म्यानेजर बन्न उत्तमका लागि सहज थिएन । सबै व्यवस्थापन, नयाँ अभिकर्ता खोज्नुपर्ने, टिम, अफिसलगायतका यावत चुनौतीका बाबजुत पनि उत्तमले आफ्नो ब्रान्चलाई राम्रो बनाए । उत्तम बिर्तामोड शाखामा ३ वर्ष ब्रान्च म्यानेजरको भूमिकामा रही ३ वर्षपछि एरिया ब्रान्च म्यानेजर बन्ने सौभाग्य पाए ।

सधैँ नयाँ–नयाँ च्यालेन्जलाई सामना गर्न मन पराउने उत्तम फ्री भएर होइन बिजी लाइफ बिताउन रुचाउने बताउँछन् । ‘म जस्तोसुकै च्यालेन्जलाई फेस गर्न सक्छु भन्ने आँट छ’, उनले भने, ‘यही मेरो आँट अनि चुनौती सामना गर्न सक्ने विश्वासले गर्दा पनि इन्स्योरेन्स सेक्टरमा आएँ । इन्स्योरेन्स सेक्टरमा सधैँ नयाँ–नयाँ टार्गेट, नयाँ लक्ष्य हुने भएकाले पनि मलाई मन पर्छ । बिना लक्ष्य काम गर्न मज्जा पनि आउँदैन । लक्ष्य पायो भने लक्ष्यमा गोल हान्न पनि मज्जा आउँछ । हरेक व्यवसायमा लक्ष्य दिइएको हुन्छ । लक्ष्य प्राप्त गर्दा आनन्द पनि आउँछ ।’
तर, मेहनत गर्दागर्दै पनि लक्ष्य प्राप्त भएन भने हार मान्न नहुने उत्तमको सुझाव छ ।

इन्स्योरेन्स क्षेत्रमा काम गर्न धेरै चुनौती रहेको उत्तमको भनाइ छ । तर, ‘चुनौतीलाई अवसरमा परिणत गरेर अभिकर्ता र टिमलाई मजबुत बनाएर काम गर्यो भने फेरि त्यो सामान्य नै हो । अभिकर्तालाई प्रोत्साहन गरी काम गराउनुपर्छ । समय–समयमा तालिम, मोटिभेसनल क्रियाकलाप गरेर उनीहरुलाई खुसी बनाउनुपर्छ’, उत्तम भन्छन्, ‘अभिकर्ता त हाम्रो बीमा क्षेत्रका मेरुदण्ड हुन् । प्रतिनिधिपात्र हुन् । उनीहरुलाई खुसी बनाएन भने काम कसरी हुन्छ ? हो यो हिसाबले पनि काम गर्ने मान्छेलाई जहिले पनि हौसला र प्रोत्साहन दिनुपर्छ ।’

कम्पनीका कर्मचारी, टिम र अभिकर्ताबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने उत्तमको भनाइ छ । जब यी सम्बन्ध प्रगाढ हुन्छ तब कम्पनीले लक्ष्य हासिल गर्ने उनले बताए । बीमा क्षेत्रमा काम गर्ने अभिकर्ता दक्ष्य हुनुपर्नेमा उनको जोड छ । बीमा क्षेत्र भनेको अभिकर्तासँग सम्बन्धित र प्रत्यक्ष आर्थिक कारोबार अभिकर्तामार्फत हुने र बीमा चेतना फैलाउन अभिकर्ता नै घर–घरमा पुग्नुपर्ने भएकाले अभिकर्ता सक्षम हुनुपर्ने उनी बताउँछन् ।

बीमा क्षेत्रमा काम गर्ने मान्छे इमान्दार, लगनशील, चुनौतीलाई सामाना गर्न सक्ने र निडर व्यक्तित्व हुनुपर्ने उत्तमको सुझाव छ । उनी भन्छन्, ‘डराउने मान्छे यो क्षेत्रमा सफल हुन सक्दैन । आफ्नो पदभन्दा पनि काममा रमाउनुपर्छ । जुन काममा तपाइँ रमाउन सक्नुहुन्न, त्यहाँ तपाइँको जागिर होइन । कामलाई रमाएर गर्यो भने सफलता मिल्छ । हो मेरो रोजाइको क्षेत्र इन्स्योरेन्स भएर पनि होला म एकदम खुसी छु । कामलाई पनि रमाएर गरेको छु । म भित्रैबाट खुसी छु ।’

इन्स्योरेन्सलाई चाहिँ स्कुल तथा कलेजको पाठ्यक्रममै समावेश गरेमा राम्रो हुने उत्तमको बुझाइ छ । ‘इन्स्योरेन्सलाई अहिले पनि मानिसहरुले बुझेका छैनन् । करकापमा नै बीमा गराउनुपर्ने बाध्यता छ’, उत्तमले भने, ‘इन्स्योरेन्स गर्न साथीभाइ, इष्टमित्र, छिमेकीलाई बीमा गराउनुहोस् भन्नुपर्छ । उनीहरुले अभिकर्ताका लागि बीमा गरेको झैँ गर्नुहुन्छ । तर, आफ्नो भविष्य र जीवन सुरक्षा कसैले सोच्नु भएको हुँदैन । तर, बीमा जोखिम हस्तान्तरणको माध्यम हो । आजको बीमाले भोलि तपाइँ र तपाइँको परिवारको सुरक्षा हुन्छ । बीमा सबैले गर्नुपर्छ ।’

इन्योरेन्स शिक्षाको कमीका कारण नै बीमा बुझाइमा संकुचन आएको उत्तम बताउँछन् । इन्स्योरेन्समा आममानिसको बुझाइ विस्तार गर्नका लागि बीमा प्राधिकरण र नेपाल सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

इन्स्योरेन्स क्षेत्रमा दक्ष जनशक्ति भयो भने बीमा बजारलाई नै राम्रो हुने उत्तमको अनुभव छ । ‘कर्मचारी जति पुराना हुन्छन्, त्यति नै उनीहरुले आफ्नो सोचेरे काम गर्छन् । कर्मचारी टिकाउनु नै एउटा कम्पनीका लागि सफलता हात पार्नु हो’, उनी भन्छन्, ‘नयाँ कर्मचारी भित्र्याउँदा कम्पनी, टिम, काम र पोलिसीजस्ता धेरै कुरा सिकाउनुपर्छ । तर, पुराना कर्मचारीलाई यी सबैको ज्ञान भइसक्ने हुनाले पुराना कर्मचारी कम्पनीको सम्पत्ति हो । कम्पनीले नयाँ कर्मचारी भर्नामा जोड दिनुभन्दा पनि पुराना कर्मचारी टिकाउनु राम्रो हुन्छ ।’

सिटिजन लाइफप्रति कृतज्ञता व्यक्त गर्दै उत्तमले भने, ‘इन्स्योरेन्स क्षेत्रमा नयाँ कम्पनीका रुपमा भित्रिए पनि यस कम्पनीले धेरै राम्रो प्रगति गर्दै आएको छ । पुराना भनिएका कम्पनीसँग टक्कर गर्ने क्षमता बनाएको छ । यो हुनुमा सबै टिमको हात रहेको छ । कम्पनीका सीईओ पोषकराज पौडेल मेराका लागि आर्दशको व्यक्तित्व नै हुन् । इन्स्योरेन्सका मेरा गुरु पनि उनको यो प्रेरणा र हौसलाले मैले आज यो बाटो फेला पारेको हो । त्यस्तै बीमा क्षेत्रमा वाकशक्ति धाराप्रवाह बोल्न सक्ने गुण भएका भूषण रिमाल सर हुन् । उहाँको जस्तो वाक शक्ति आफूमा पनि होस भन्ने उत्तम चाहान्छन् । भूषण सरसँग सबै विषयको ज्ञान छ । यही ज्ञान कम्पनीका सबै सामु बाँडिएर पनि होला कम्पनी बलियो बनेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS