काठमाडौं । प्रायः मानिस चुनौतीसँग डराइरहेका हुन्छन्। चुनौतीलाई सामना गर्नुको सट्टा पछि हट्ने गरेको हामी सबैले देख्ने गरका छौँ। कतिपय अवस्थामा त्यसको उदाहरण हामी स्वयं नै हौँ। जस्तोसुकै परिस्थतिबाट गुज्रिरहेका मानिसलाई पनि चुनौती झल्ने शक्ति पैदा भयो भने अवश्य पनि सफलता हात पार्न सक्छ। मानिसहरु आफैँ बनिएर पूर्ण भएर जन्मिएका हुँदैनन्। उनीहरुमा निखारता ल्याउने तत्व भनेकै लगनशील र दृढसंकल्प हो। व्यक्ति सधैँ राम्रो गुणबाट नै उच्च हुनुपर्छ। बाहिरी बनावट त भ्रम हो। एक सत्यतथ्यमा आधारित कथा हो। मेहनत गर्ने मानिस कहिले पनि असफल हुँदैनन्। त्यसको ज्वलन्त उदाहरण हुन्, मनीषा तामाङ (गुरुङ)।
धादिङको ज्वालामुखी गाउँपालिका ५ मा २०४५ सालमा जन्मिएकी मनीषा एकदमै साहसी महिला हुन्। खेती–किसानी गर्ने परिवारमा जन्मिएकी मनीषाको बाल्यकाल सामान्य रुपमा नै बित्यो। उनी हाल सिटिजन लाइफ इन्स्योरेन्सको बालाजु शाखाकी प्रमुख छिन्। अथाह मेहनत गर्ने बुवा–आमाको प्रेरणादायी पथप्रदर्शकले गर्दा मनीषा बीमा क्षेत्रमा एक नक्षेत्रका रुपमा उदाएकी छन्।
‘बुवा–आमा अशिक्षित भए पनि मलाई सधैँ शिक्षा खोज्ने उज्यालो बाटो देखाउनु भयो,’ मनीषाले भनिन्, ‘परिवारले दुःख गरेर ममाथि गरेको लगानीको प्रतिफल आज बीमा क्षेत्रबाट पाउँदैछु। यो सफलता मेरो मात्रै नभई परिवारको पनि हो। म सफल हुनु भनेको मेरो परिवार सफल हुनु हो। यसको श्रेय मेरो परिवारलाई नै जान्छ।’
मनीषाले आफ्नो गाउँबाट २ घन्टाको बाटो हिँडेर अध्ययन गरेकी हुन्। उनको त्यो संर्घसशील पढाइ अनि भोगाइले नै आज उनमा परिपक्वता ल्याएको छ। उनले एमएडसम्मको अध्ययन गरेकी छन्। मनीषाको ब्याजलर पढ्दा–पढ्दै विवाह भयो। विवाहपछि प्रायः महिलाको जीवन कष्टकर र संघर्ष नै हुन्छ। तर, मनीषाको जीवन भने सरल र सहज भयो। उनका परिवारमा श्रीमान, ससुरा बुवा, अनि सासु आमा शिक्षित भएर पनि होला उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै टिचिङ पेसालाई निरन्तरता दिने मौका पाइन्। २०६७ सालबाट अध्यापन क्षेत्रमा प्रवेश गरेकी मनीषाले २०७७ सालमा आएर बिट मारिन्।
विवाहको १ वर्षमै मनीषालाई सन्तान प्राप्ति भयो। १५ वर्षपछि उनलाई फेरि दोस्रो सन्तान प्राप्त गर्ने सौभाग्य मिल्यो । आफ्नो बच्चा ७० दिनको हुँदादेखि ५ महिनासम्म आफ्नो अफिसमै बोकेर आउन उनका लागि पक्कै सहज भने थिएन । तर, कम्पनीले नबोलाए पनि मनीषा आफ्नो लक्ष्य पूरा गर्न बच्चा लिएर अफिस पुग्थिन्। उनी कम्पनीले दिने टार्गेट सधैँ पूरा गर्थिन् । बच्चा अफिसमै लगेपछि बच्चा रुँदा पनि उनको ध्यान बच्चामै जान्थ्यो । त्यसपछि बच्चा ५ महिना हुँदादेखि उनले बच्चालाई डे कियरमा राखेकी छन् । मनीषाले परिवार, बच्चा, पढाइ र आफ्नो कामलाई एकसाथ लिएर अघि बढिन्।
सुत्केरीको समयमा पनि मनीषालाई आफ्नै कामको जिज्ञाशा हुन्थ्यो । सुत्केरी हुँदा प्रायः महिला आराम गर्छन् । खानपिनलगायत विविध कुरामा ध्यान दिई घरमा नै बस्छन् । ‘तर म बच्चा ७० दिनको हुँदाबाटै अफिस गएँ’, उनले भनिन्, ‘किनकि मेरो लक्ष्य नै कम्पनी दिएको टार्गेट तोकिएकै समयमा पूरा गर्ने हुन्थ्यो। त्यसैले सुत्केरी अवस्थामा कम्पनीले नबोलाए पनि म आफैँ अफिस जान्थेँ। चुनौती त मेरा लागि धेरै आए तर मलाई चुनौती चुनौतीजस्तो लाग्दैन। त्यसलाई छिचोल्दै अगाडि बढेमात्रै सफलता पाइन्छ भन्न्ने धारणा बोकेर हिँड्ने भएर पनि होला जस्तोसुकै बाधा आए पनि कहिले पछि हटिनँ।’
टिचिङ क्षेत्रमा प्रवेश गरेको भोलिपल्टबाटै बीमा क्षेत्रमा प्रवेश गरेकी मनीषा अहिले ब्रान्च म्यानेजरसम्म पुगेकी छन्। टिचिङ गर्न जाँदा स्कुलकै फाउन्डर काशी नाथ कोइराला र शिक्षिका गम माया तामाङले बीमा अभिकर्ता बन भनेर प्रस्ताव राखेपछि उनी अभिकर्ता बनेकी थिइन्। उनको धेरै संघर्ष र मेहनतको प्रतिफल नै सफलता बन्न पुगेको छ। उनका लागि उचाइ त यो स्टेप पनि अझै होइन। ‘जीवन न हो दौरान त बाँकी नै छन्। जति दौडिए पनि कहिले उचाइ भेटिँदैन। आफ्नो सन्तुष्टि नै जीवन हो’, मनीषा भन्छिन्, ‘मैले टिचिङ पेसामा आबद्ध हुँदादेखि बीमा क्षेत्रमा प्रवेश गरेकी हुँ। पहिला नेपाल लाइफमा अभिकर्ता बनेर सुरु भएको मेरो यात्रा आज सिटिजन लाइफको शाखा प्रमुखसम्म पुगेको छ। आफ्नो पारिवारिक अवस्थाले गर्दा पार्ट टाइम काम गर्छु भनेर अभिकर्ता बनेको थिएँ। यसमा हुने आम्दानी र समाज सेवालगायतका विभिन्न फ्याक्टरले मलाई शिक्षक पेसाबाट बिट मार्नेसम्म नै बनायो।’
लामो समय शिक्षण पेसामा काम गरेकी मनीषालाई इन्स्योरेन्स क्षेत्रमा प्रोफेसन्नली काम गर्न मन थियो। लकडाउनको समयमा अनलाइन टिचिङ गरिरहेकी मनीषाले फेसबुक वालमा सिटिजन लाइफले कर्मचारी माग गरेको भ्याकेन्सी देखिन्। मनीषा नेपाल लाइफमा हुँदा चिनेको बीएम विष्णुप्रसाद सापकोटा त्यस समयमा सिटिजन लाइफका एरिया म्यानेजर रहेछन्। ‘विष्णु सरलाई सिटिजन लाइफमा कर्मचारी माग गरेको रहेछ, के हो कुरा ?’ भनेर मनीषाले सोधिन्। विष्णु सरले पनि ‘भेटौँ, चिया खाऔँ’ भनेर मनीषालाई प्रस्ताव गरे। ‘त्यसपछि म माछापोखरी अफिसमा गएँ’, मनीषाले भनिन्, ‘अनि विष्णु सरले काम गर्ने हो त ? भन्नुभयो।’ टिचिङ पेसाबाट बिट मार्न खोजिरहेकी मनीषालाई त ‘ढुंगा खोज्दा देवता मिलेझैँ’ भयो। अनि मनीषाले ‘हुन्छ’ भन्ने जबाफ दिइन्।
सिटिजन लाइफको बालाजु शाखामा मनीषालाई सामान्य अन्तर्वार्ता लिइएको थियो। त्यसपछि मनीषालाई सिटिजन लाइफको हेड अफिसमा बोलाइयो। मनीषाले कम्पनीको हेड अफिसमा पनि अन्तर्वार्ता दिइन्। अन्तर्वार्तामा उनी पास पनि भइन्। यो नै उनको सफलताको एक दरिलो खुड्किलो थियो। अन्ततः मनीषाले २०७७ साल भदौबाट बालाजु शाखाको प्रमुखको भूमिकामा रही काम गर्न थालिन्।
मनीषाले सुरुआती दिनबाट नै इन्योरेन्स क्षेत्रमा राम्रो प्रदर्शन गर्न सफल भइन्। मनीषाले सुरुआती महिनामा नै राम्रो व्यापार गरिन्। ‘इच्छा गरेको र रुचाएको पेसा भएर पनि होला मैले राम्रो काम गरेँ’, उनले भनिन्, ‘जे पेसा अपनाए पनि आफूले चाहेको र सोचेको पेसा गर्नुपर्छ। मलाई शिक्षक पेसाभन्दा इन्स्योरेन्स क्षेत्र साह्रै मन पर्ने भएकाले पनि मैले छिट्टै सफलता पाएँ। मैले कामलाई मनोरञ्जन गर्दै गर्ने गर्छु। त्यही भएर पनि होला म ब्रान्च म्यानेजर भएको १ महिनामै मैले १०८ जना अभिकर्ता बनाएर सिटिजन लाइफको स्वरोजगार अभियानमा सफल भएकी थिएँ।’
उनले कम्पनीको लागि धेरै मेनहत र संघर्ष गरेकी छिन् । आर्थिक मन्दीको समयमा महिनामा ६० /७० वटा बीमा पोलिसी विक्री गर्न पनि मानिसहरुलाई असहज भइरहेको समयमा मनिषाले आफ्नो शाखाबाट भने एक दिनमा नै ११० वटा बीमा पोलिसी विक्री गर्न सफल भइन् । शाखा प्रमुख भएको केही महिनामै मनीषा बालाजुबाट जरङ्खु शाखामा सिफ्ट भइन्। त्यहाँ गएपछि पनि मनीषाले राम्रो व्यापार गरी उच्च व्यवस्थापकको मन जित्न सफल भइन्।
चुनौती कतिको छ महिला भएर शाखा प्रमुख पदलाई सम्हाल्न भन्ने इन्स्योरेन्स खबरको प्रश्नमा मनीषाले जबाफ दिइन्, ‘चुनौती त पक्कै पनि छन्। क्लेम सेटलमेन्ट, पोलिसी सरेन्डर गर्न आउनुहुन्छ, त्यसको व्यवस्थापन, अभिकर्ता धेरै सोच–विचार भएका हुन्छन्, उनीहरुलाई मिलाउन, टिमबीचको मनमुटावलाई मिलाउनलगायतका थुप्रै चुनौतीलाई झल्दै अगाडि बढ्नुपर्छ। तर, मैले चुनौतीलाई अझै चुनौतीका रुपमा लिन्छु। परिस्थिति कस्तो भन्ने कुरा आफूमा भर पर्छ। परिस्थिति कहिले पनि समस्या बन्दैन र समय आफ्नो बशमा पनि हुँदैन, त्यसकारण आफू मजबुद बन्नुपर्छ। सफलताले आफैँलाई पछ्याउँछ।’
मनीषाले अभिकर्तालाई प्रेसर नदिई हौसला दिँदै काम गराउने बताउँछिन्। उनले अभिकर्तालाई धेरै समय दिने गरेकी छन्। ‘हिजो म पनि त्यही फेजबाट आएकी हुँ। काम गर्नेलाई पोजेटिभ इनर्जीको जरुरत पर्दछ’, उनी भन्छिन्, ‘अभिकर्ता कम्पनीका मेरुदण्ड हुन्। उनीहरुले गर्दा नै कम्पनीको उचाइ सम्भव छ। त्यही भएर अभिकर्तालाई फकाएर, हौसला दिएर, ट्रेनिङ दिएर काम गरायो भनेमात्रै कम्पनी सफल बन्छ। अभिकर्तालाई मैले आफ्नो घरको परिवार सम्झिन्छु। काम गर्नेलाई खुसी बनायो भनेमात्रै उद्देश्य पूरा गर्न सजिलो हुन्छ।’
ग्राहकलाई जति धेरै बीमा बुझाउन सक्यो, त्यति नै बीमा आउनेमा मनीषा विश्वस्त छिन्। ‘मैले बीमा क्षेत्रमा काम गर्न लागेको सुरुआती अवस्थामा नेटवर्किङको समय थियो। बीमा कम्पनी भाग्छ भन्ने सोच्थे। बीमा गराउन गाह्रो थियो’, उनले भनिन्, ‘पहिको तुलनामा बीमा बुझाइमा अलि परिवर्तन त आएको पक्कै हो। तर, अहिलेको समयमा पनि बीमा बुझाइमा साँघुरो सोच त व्याप्त छ। बीमा गराउन जाँदा हाम्रा लागि आएको जस्तो गर्नुहुन्छ, त्यही पनि बुझाएर गर्न सक्दा पछि पोजेटिभ भएको पनि पाएको छु। मन्दी छ बीमा नगर्ने भन्नुहुन्छ। सहकारीसँग जोड्नुहुन्छ। तर, बीमा बुझाएर भिन्नता चिरफार गरायो भने बीमा गर्नु पनि हुन्छ।’
निम्न वर्गको मानिसलाई बीमा बुझाउँदा पैसा जुटाएर बीमा गर्ने गरेको पनि मनीषाको अनुभव छ। ‘पैसावालहरु भने हामीसँग पैसा छ, बीमा किन गर्नु ? जस्तो पनि गर्ने गर्छन्’, उनले भनिन्, ‘तर, बीमा पैसा हुने र नहुने दुवैले गर्नुपर्छ, पैसा र बीमामा धेरै फरक छ। पैसा केवल पैसामात्रै हो भने बीमा पैसा र रिस्क कभरेज दुवै हो। त्यसकारण बीमा सबैका लागि अतिआवश्यक रहेको छ। बीमा क्षेत्रमा बीमा शिक्षा र चेतनाको कमी नै बीमा बजार खस्कनुको प्रमुख आधार हो।’
अभिकर्ताहरुलाई सन्देश दिँदै मनीषाले भनिन्, ‘म आबद्ध भएको कम्पनी कुन हो, त्यो कम्पनीमा के–कस्ता खालका बीमा पोलिसी छन्, कुन व्यक्तिलाई कस्तो पोलिसी आवश्यक छ भन्नेलगायतका कुरामा जोसुकै अभिकर्ता जानकार भएर बीमा बजारमा जानुस्। इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान भएर काम गर्नस्, अवश्य सफल भइन्छ।’
बीमा क्षेत्रकी एक हस्ती महिलाका रुपमा आफ्नो परिचय बनाएकी मनीषा विभिन्न अवार्डबाट सम्मानित भएकी छन्। उनले स्वरोजगार अभियानअन्तर्गको अवार्ड, सतप्रतिशत टार्गेट मिट गरेको अवार्ड, एकदिनमा ११० वटा पोलिसी बिक्री गरेको अवार्डलगायत कम्पनीले दिने विभिन्न टार्गे मिट गरेबापत पाउने अवार्ड पाउन सफल भएकी छन्।