१. सुशासन
संस्थागत क्रियाकलापहरु सञ्चालन गर्ने क्रममा अवलम्बन गरिने असल अभ्यासहरुको प्रक्रिया नै संस्थागत सुशासन हो । कुनै पनि संस्था एक कानुनी व्यक्ति हो। यसर्थमा यसले कानुनी उद्देश्य र कानुनले तोकेभन्दा बाहिर गएर कुनैपनि क्रियाकलाप गर्न सक्दैन। यसर्थ संस्थागत रुपमा कानुनी परीधिभित्र रहेर सञ्चालन गर्न र सरकार, समाज, सेवाग्राही अपेक्षित रुपमा पारदर्शिता, जबाफदेहीता, जनसहभागितासहितको कानुनी प्रणालीलाई समेट्दछ । संस्थागत सुशासनले संस्थामा हुने क्रियाकलापलाई कुनै अवरोधबिना उचित ढंगले सञ्चालन गर्न मद्दत गर्दछ ।
२. सुशासनका विशेषता
-जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था ।
-विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ ।
-राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जबाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु ।
-सेवाग्राहीलाई अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट शासनको सुखद अनुभूति गराउनु ।
-असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ ।
-शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली ।
-कार्यालय, व्यवसाय तथा संगठन सञ्चालन गर्ने क्रममा अवलम्बन गरिने असल अभ्यासहरुको प्रक्रिया ।
-विकेन्द्रीकरण, जनसहभागिता, पारदर्शिता, जबाफदेहिता एवं असल कानुनी प्रणाली ।
-संस्थामा हुने क्रियाकलापलाई कुनै अवरोधबिना उचित ढंगले सञ्चालन गर्न मद्दत गर्दछ ।
-संस्थागत सुशासन कायम गर्न विभिन्न नीति,नियम, कार्यविधी, योजना, निर्देशिका ।
३. संस्थागत सुशासनका सिध्दान्त
-संस्थागत स्वच्छता कायम गर्न,
-पारदर्शिता र उत्तरदायित्वपूर्वक कार्य गराउन
-असल व्यवस्थापकीय अभ्यास,
-कानुनी प्रक्रिया तथा पालना,
-उच्च नैतिक मूल्य र मान्यता,
-सार्वजनिक दायित्व र दिगो सांगठनिक विकास,
-बीमित हित संरक्षणका लागि गरिने संस्थागत व्यवस्थापन,
-लगानीकर्ताको हित
-लगानीमा विविधता
-पुँजी व्यवस्थापन
-स्वच्छ र प्रतिस्पर्धी व्यवसाय
४. बीमा कम्पनीमा संस्थागत सुशासनको आवश्यकता
बीमा कम्पनीहरु सरकारको नियमन क्षेत्रभित्र पर्ने सार्वजनिक संस्था हुने र पव्लिक लिमिटेड कम्पनीका रुपमा मात्र सञ्चालन हुन पाउने हुँदा प्रबन्धपत्र, नियमावली र नियमनकारी निकायहरुको निर्देशन भित्र रही व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न पाउने र जनताको प्रत्यक्ष लगानी तथा सांयोगिक र लामो समयपछि दायीत्व भुक्तानीको पाउने विश्वासमा बीमालेख खरिद गर्ने हुँदा सोमा संस्थागत सुशासनका औजारहरु प्रयोग गरी सुशासन कायम राख्न आवश्यक हुन्छ । यसका लागि बीमकहरुले कार्यविधि समेत निर्माण गरी आफ्ना सेवा प्रवाह र भौतिक तथा व्यावसायिक कार्यहरुको व्यवस्थापनमा अन्य निकायहरुलाई समेत परिचालन गरी सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण र सामाजिक परीक्षण गरे गराएको पाइन्छ । मुख्यतः बीमकहरुमा देहायका सन्दर्भमा सुशासनको आवश्यकता महसुस गरिएको हुन्छ ।
-बीमकमा सम्पादन गर्नुपर्ने कार्यहरु व्यवस्थित रुपले सञ्चालन गर्न,
-आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक जाँचबीच समन्वय कायम गर्न,
-सरोकारवालाहरुलाई आवश्यक वित्तीय सूचना एवं तथ्यांक उपलब्ध गराउन,
-आवश्यक स्रोत तथा साधनहरु पूर्ण रुपमा परिचालन गर्न,
-नियमनकारी निकायको निर्देशन पालनामासशक्त भूमिका निर्वाह गर्न,
-परिपालनाको व्यवस्थापन गर्न,
-वित्तीय जबाफदेहीता प्रवर्द्धन गर्न,
-ग्राहकहरुलाई विश्वसनीय बीमा सेवा प्रदान गर्न,
-कोषको परिचालन गर्न
-व्यवस्थापनका कार्यहरु व्यवस्थित रुपले कार्यान्वयन गर्न,
-भर्ना, तालिम, विकास, वृत्ति, सामाजिकीकरण लगायतका विषयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न,
-कर्मचारीहरुमा दायीत्व र कर्तव्यबोध गराउन ।
५. सुशासन कायम गराउने साधनहरु
-आचारसंहिता
-सूचना प्रणाली र अधिकारी
-सञ्चार र सूचनामा पहुँच
-नागरिक बडापत्र
-गुनासो सुनुवाइ
-विधि प्रक्रिया निर्देशन
-नियमनकारी निकाय,
-प्रतिवेदन प्रणाली,
-अधिकारको प्रत्यायोजन
-सावर्जनिक सुनुवाइ
-आन्तरिक नियन्त्रण प्रणाली
-ई–गभर्मेन्स
६. बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८०
बीमा व्यवसाय आर्थिक क्षेत्रको उच्च नियमनअन्तर्गत मानिएकोले सम्बन्धित ऐन तथा नियमानकारी निकायले यसका लागि निर्देशिका लागू गरेको पाईन्छ । बीमा ऐन २०७९ तथा सँस्थागत सुशासनसम्बन्धी निर्देशिकामा रहेका बीमाक्षेत्रमा रहेका सँस्थागत सुशासनसम्बन्धी व्यवस्थाहरु निम्नबमोजिम देखिन्छन् । नेपाल बीमा प्राधिकरणबाट हालै जारी भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० मा भएका मुख्य प्रावधानहरु उल्लेख गर्न सान्दर्भिक हुने देखिन्छ ।
१. विशेषताहरु
-बीमकको सञ्चालक समिति व्यवस्थापन तथा कर्मचारीको उपयुक्ताको परीक्षण
-शेयरधनी तथा व्यवस्थापनको सम्बन्ध तथा
-जिम्मेवारी निर्धारण
-बीमित हित संरक्षण गर्ने बृहत्तर प्रयोजनका लागि
-बीमकको संस्थागत सुशासन कायम गर्न
२. सञ्चालक समितिको गठन, काम र कर्तव्य
सञ्चालक समितिको गठनः –बीमकमा स्वतन्त्र विज्ञ सञ्चालकसहितको कम्तीमा ५ र बढीमा ७ जना रहने
–कार्यकाल बढीमा ४ वर्ष । पुनः नियुक्त वा मनोनित हुन सक्ने तर,
–स्वतन्त्र सञ्चालक एक कार्यकालका लागिमात्र नियुक्त हुन सक्ने,
–विदेशी बीमकको व्यवस्थापन समूहसम्बन्धी व्यवस्था रहेको ।
–सञ्चालक समितिको बैठकः –वर्षमा कम्तीमा ६ पटक बस्नुपर्ने,
–दुईवटा बैठकको बीचको फरक ३ महिनाभन्दा बढी नहुने,
–कम्तीमा एक चौथाइ सञ्चालकले लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत,
– गणपूरक ५१ प्रतिशत
उपयुक्तताको परीक्षण गर्नुपर्नेः –बीमकले वार्षिक साधारणसभाबाट सञ्चालक नियुक्ति प्रक्रिया सुरुगर्नुअघि सञ्चालक पदमा उम्मेदवार भएको व्यक्ति सञ्चालक पदमा रहन ऐनको दफा ४९ र दफा ५० बमोजिम योग्य रहे÷नरहेकोबारे उपयुक्तताको परीक्षण (फिट एन्ड प्रोपरटेस्ट) गर्नुपर्नेछ।
– बीमकले कार्यकारी प्रमुख, उपकार्यकारी प्रमुख र विभागीय प्रमुखको नियुक्ति प्रक्रिया सुरुगर्नुअघि र नियुक्तिपछि आवधिक रुपमा निज कानुनबमोजिम योग्य रहे ÷नरहेको सम्बन्धमा उपयुक्तताको परीक्षण गर्नुपर्नेछ।
२) सञ्चालकको योग्यता
– बीमक, बैंक वा वित्तीय संस्था संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल –सरकारी वा सगठित सस्थाको अधिकृत स्तरमा कम्तीमा ५ वर्ष काम गरेको/स्नातक भए अनुभव ३ वर्ष,
–बीमा, व्यवस्थापन, वित्त, लेखा, प्रशासन, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित,
–तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर ।
–स्वतन्त्र विज्ञ सञ्चालकको उल्लिखित विषयमा स्नातकोत्तर गरी सरकारी वा संगठित सस्थाको अधिकृतस्तरमा कम्तीमा ५ वर्षको कार्य अनुभव हासिल गरेको ।
सञ्चालकको अयोग्यताः
–२५ वर्ष उमेर पूरा नभएको,
–मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको,
–नेपालभित्र वा विदेशमा कर्जा तिर्न नसकी साहुको दामासाहीमा परेको,
–नेपालभित्र वा विदेशमा बीमक, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूची वा डिफल्टरमा परी सो कालोसूची वा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा ३ वर्ष पूरा नभएको,
–बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर धारण गरेको बहालवाला सञ्चालक वा कर्मचारी,
–बीमकको बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको ठेक्कापट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति, फर्म र कम्पनी,
–धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकर
–बीमकको सञ्चालकको पदमा बहाल रहेको व्यक्ति,
–बीमकको नियमावलीबमोजिम सञ्चालक हुन न्यूनतम शेयर नलिएको व्यक्ति,
–नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण वा बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी,
तर, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमक वा बैंकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।
–प्रचलित कानुनबमोजिम तिर्नुपर्ने कर चुक्ता नगरेको,
–चोरी, ठगी, कीर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर, बीमा कसुर वा बैंकिङ कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको,
–प्रचलित कानुनबमोजिम नियमनकारी निकायले कानुन विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको ५ वर्ष अवधि व्यतित नभएको,
–स्वतन्त्र सञ्चालकको हकमा निज सम्बन्धित बीमकको संस्थापक आधारभूत शेयरभन्दा बढी शेयर स्वामित्व रहेको,
–अदालतको फैसलाबमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको ।
–प्राधिकरणको निर्देशन पालना नगरेको कारणबाट कारबाही गरेको मितिले ३ वर्ष नपुगेको ।
–संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल,
–गाउँ वा नगरपालिका वा प्रदेशसभा वा संघीय संसद र सरकारका पदाधिकारीहरु उक्त पदमा बहाल रहुन्जेल ।
–एकाघरको परिवारको एकभन्दा बढी व्यक्ति एकै बीमकको वा समान किसिमको बीमकको सञ्चालक हुन सक्ने छैन ।
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
बीमकको साधारणसभाबाट हुने बाहेक ऐन, प्रचलित कानुन तथा प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बीमकले गर्नु पर्ने सबै काम र प्रयोग गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिमा निहीत हुनेछ ।
सञ्चालकको जबाफदेहीता र दायित्व
–सञ्चालकले आफ्नो अधिकार क्षेत्र नाघी गरेको कुनै कामकारबाहीप्रति व्यक्तिगत रुपमा जबाफदेही हुनेछ ।
–कुनै सञ्चालकले बीमकबाट वा बीमकको कामको सिलसिलामा व्यक्तिगत फाइदा लिने कुनै काम गर्नु हुँदैन ।
–बीमकको सञ्चालकले प्राधिकरणले समयसमयमा तोकेबमोजिमका विवरण सार्वजनिक गर्नुपर्नेछ ।
–सञ्चालकले प्राधिकरणले समय–समयमा दिएको निर्देशनको पालना गर्नुपर्नेछ ।
–कुनै सञ्चालकले बीमकको लोगो, छाप वा लेटरप्याड आफ्नो व्यक्तिगत प्रयोजनको प्रयोग गर्न पाउने छैन ।
–बीमकबाट वा बीमकको कारोबारको सिलसिलामा कुनै सञ्चालकले व्यक्तिगत फाइदा वा आर्थिक सुविधा लिएको पाइएमा सोबरावरको रकम बीमकले त्यस्तो सञ्चालकबाट ऋणसरह असुलउपर गर्नुपर्नेछ ।
–बीमकको कार्यकारी प्रमुखले गरेको कार्यको जबाफदेही बीमकको सञ्चालक समिति हुनेछ ।
सञ्चालकको सुविधा
–सञ्चालकले बैठकमा उपस्थित भएबापत पाउने बैठक भत्ता तथा अन्य सुविधा कम्पनीसम्बन्धी प्रचलित कानुनबमोजिम बनाइएको बीमकको नियमावलीमा तोकिएबमोजिम हुनेछ ।
विनियमावली तथा दिग्दर्शन (म्यानुअल) तथा कार्यविधि तयार गर्नुपर्ने
कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली तथा जोखिमांकन (अन्डरराइटिङ), बीमा दाबी, पुनर्बीमा, बजारीकरण, सूचना प्रविधि दिग्दर्शन (म्यानुअल) र प्राधिकरणले निर्देशन गरेबमोजिमका आवश्यक अन्य विनियमावली तथा दिग्दर्शन बनाउनुपर्नेछ ।
तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्नुपर्नेः सञ्चालक समितिले बीमकको कार्य सञ्चालन, कारोबार, व्यावसायिक योजना, नेटवर्थ, दाबी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, व्यवस्थापन खर्च तथा नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा, मुद्रास्फीति दरलगायत अन्य परिसूचाकंका आधारमा कार्यकारी प्रमुख तथा बीमकका कर्मचारीको तलव भत्ता तथा अन्य सुविधा निर्धारण गर्नुपर्नेछ ।
अधिकार प्रत्यायोजनः सञ्चालक समितिले आफ्नो रेखदेख वा निर्देशनमा रही काम गर्न सोको औचित्य र कारण खुलाई आफूमा निहित अधिकारहरुमध्ये केही अधिकार सञ्चालक समितिले गठन गरेको समिति वा उपसमिति वा कार्यकारी प्रमुख वा बीमकको कार्यकारी प्रमुख वा बीमकको कार्यकारी प्रमुख भई कार्य गर्ने व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्नेः सञ्चालक समितिले ऐन, नियमावली, प्रचलित कानुन, प्राधिकरणबाट समय–समयमा जारी गरिएका निर्देशन, सञ्चालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन (म्यानुअल), परिपत्र वा कार्यविधि पालना भए नभएको सम्बन्धमा आवश्यक कार्यविधि बनाई कम्तीमा प्रत्येक ३–३ महिनामा अनुगमन तथा सुपरिवेक्षण गरी त्यसको अद्यावधिक अभिलेख राख्नुपर्नेछ।
सञ्चालकको आचरणसम्बन्धी व्यवस्थाः –प्रत्येक सञ्चालकले लिखित जानकारी गराउनुपर्ने,
–बीमकसँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सोको विवरण,
–निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले बीमक वा सो बीमकको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,
–कुनै संगठित संस्थाको शेयरधनी वा सञ्चालक भए त्यसको विवरण,
–निजको एकाघर परिवारको कुनै सदस्य बीमकमा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहको भए त्यसको विवरण, र
–सञ्चालक समितिलाई जानकारी गराउनुपर्ने तोकिदिएको अन्य विवरण ।
–सञ्चालकले बीमकको कामको सिलसिलामा विदेशको भ्रमण गर्नु परेमा प्राधिकरणको स्वीकृति लिनुपर्नेछ ।
बीमकको हितविपरीत कार्य गर्न नहुनेः –सञ्चालक प्रत्यक्ष वा अप्रत्यक्ष रुपले बीमकको हितविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुनुहुँदैन,
–सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न हुनुहुँदैन,
–सञ्चालकले आफ्नो वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य मेनेजिङ एजेन्ट भएको वा हिस्सेदार भएको कुनै पनि संगठित संस्थासँगको बीमा कारोबारमा संलग्न हुनुहुँदैन,
–सञ्चालकले बीमकको कुनै पनि प्रयोजनको लागि वित्तीय स्वार्थ रहेका शेयरधनी वा निजको एकाघर परिवारको स्वामित्वमा रहेको वा निजहरुको फर्म तथा कम्पनीसँग घर भाडामा लिई कारोबार गर्न पाउने छैन,
–सञ्चालक पदमा बहाल रहुन्जेल त्यस्तो व्यक्ति बीमकको लेखापरीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी, बीमा सर्भेयर, बीमा दलाल, बीमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न पाउने छैन,
–सञ्चालकले पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको १ वर्षसम्म सोही बीमकको कुनै पनि प्रकारको शेयर, डिबेन्चर खरिद–बिक्री गर्न पाउने छैन,
पदको दुरुपयोग गर्न नहुनेः –नाम तथा पदको दुरुपयोग गरी कुनै किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाउने छैन ।
गोपनीयता कायम राख्नुपर्नेः –सञ्चालकले बीमकको लेखा, बीमा अन्डरराइटिङ, पुनर्बीमा, बीमा दाबी भुक्तानी, प्रशासनिक कागजात, सञ्चालकसमितिबाट पारित भएका निर्णय (माइन्युट), बीमा व्यवसाय सम्बन्धमा सञ्चालक समितिसमक्ष पेस भएका विवरण तथा अन्य महत्वपूर्ण कागजातहरुको गोपनीयता कायम राख्नुपर्नेछ ।
निष्पक्ष र समान व्यवहार गर्नु पर्नेः –सञ्चालकले बीमितसँग कुनै पनि सम्बन्ध वा मित्रवत् व्यवहारबाट प्रभावित नभई निष्पक्ष एवं समानताका आधारमा व्यवसायिक व्यवहार गर्नुपर्नेछ ।
खबरदारी नीति बनाउन सक्नेः –सञ्चालक समितिले बीमकको सस्थागत तथा व्यावसायिक सुशासन कायम गर्ने प्रयोजनका लागि बीमकको व्यवस्थापन तथा पदाधिकारी वा कर्मचारीबाट अनियमित तबरले भए गरेका वा हुन सक्ने काम–कारबाहीहरुको गोप्य रुपमा जानकारी प्राप्त गर्न आवश्यक नीति बनाउन सक्नेछ ।
३) बीमकको आन्तरिक नियन्त्रणसम्बन्धी व्यवस्था
–संगठनात्मक संरचना तयार गर्नुपर्नेः–बीमकले कार्यबोझ तथा लागतको विश्लेषण गरी आफ्नो संगठन संरचना तयार वा अद्यावधिक गर्नुपर्नेछ,
–बीमकले पद सोपान तयार गरी प्रत्येक तहको पद नाम कायम गर्नुपर्नेछ,
–बीमकले आफूलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी तय गरी त्यस्तो दरबन्दीअनुरुप ६ महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने,
उत्तराधिकार योजनाः –बीमकले आफ्नो उत्तराधिकार योजना (सक्सेसन प्लान) तयार गर्नुपर्नेछ,
– बीमकका विभागीय प्रमुखको अनुपस्थितिमा सो पदको कार्यभार सम्हाल्न सक्ने गरी निजको उत्तराधिकारीको क्षमता विकास गर्नुपर्नेछ।
परिपालन अधिकृत नियुक्त गर्नुपर्नेः –बीमा, व्यवस्थापन, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातक वा सोसरहको उपाधि प्राप्त व्यवस्थापक तहका आफ्ना अधिकृत कर्मचारीमध्येबाट परिपालन (कम्प्लाइन्स) अधिकृत तोक्नुपर्नेछ ।
अधिकार तथा कर्तव्य निर्धारण गर्नुपर्नेः –कर्मचारीलाई नियुक्तिपत्र नदिई काममा लगाउनु हुँदैन,
–काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोक्नुपर्नेछ ।
अभिलेख अद्यावधिक तथा दुरुस्त राख्नुपर्नेः –बीमकले बीमकको लेखा, बीमा जोखिमांकन (अन्डरराइटिङ), पुनर्बीमा, बीमा दाबी भुक्तानी, प्रशासनिक कागजात, प्राधिकरणबाट स्वीकृति प्राप्त सम्पूर्ण कागजात तथा बीमालेख, सञ्चालक समितिबाट पारित भएका निर्णय (माइन्युट), सञ्चालक समितिसमक्ष पेस भएका कागजातहरु तथा अन्य महत्वपूर्ण कागजातहरु अद्यावधिक रुपमा पूर्ण एवं दुरुस्त राख्नुपर्नेछ ।
विस्तृत लेखापरीक्षण गराउनुपर्नेः –बीमकले प्रत्येक पाँच बर्षमा आफ्नो विस्तृत लेखापरीक्षण (डीडीए) गराउनुपर्नेछ ।
वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्नेः –बजेट स्वीकृत गराउनुपर्नेछ ।
५) कार्यकारी प्रमुख तथा बिभागीय प्रमुखसम्बन्धी व्यवस्था
कार्यकारी प्रमुख नियुक्त गर्नुपर्नेः –सञ्चालक समितिले बीमा ऐन, बीमा नियमावली, बीमकको प्रबन्धपत्र र नियमावलीको अधीनमा रही एक कार्यकारी प्रमुख नियुक्त गर्नुपर्नेछ,
–बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५, बैंक वा वित्तीय क्षेत्रमा भए भए ८ तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव भएका व्यक्तिहरुमध्येबाट नियुक्त गर्नुपर्नेछ,
–चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १२, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ तथा दुवै क्षेत्रमा भए बीमामा १ वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हासिल गरेको,
–निजको कार्य सम्पादनका आधारमा थप एक कार्यकालका लागि पदावधि थप गर्न सक्नेछ,
–एउटा बीमकको कार्यकारी प्रमुख उक्त बीमकको सेवाबाट निवृत्त भएको ६ महिनाको अवधि पूरा नभएसम्म अर्को बीमकको कार्यकारी प्रमुखका रुपमा नियुक्त हुन पाउने छैन,
–कार्यकारी प्रमुख बीमकको कम्पनी सचिवका रुपमा नियुक्त हुन वा बहाल रहन सक्ने छैन,
–बीमकको कार्यकारी प्रमुखका रुपमा नियुक्तिका लागि छनौट भएको व्यक्तिलाई नियुक्त गर्नुभन्दा २१ दिनपूर्व उक्त व्यक्तिसँग गरिएको करार तथा निजको योग्यता तथा अनुभवसम्बन्धी विवरण र निजले तयार पारेको व्यावसायिक योजना बीमकले बीमा प्राधिकरणसमक्ष पेस गर्नुपर्ने,
–कार्यकारी प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्नेछ,
–कार्यकारी प्रमुखले बीमकको कामको सिलसिलामा बिदेशको भ्रमण गर्नु परेमा सञ्चालक समितिबाट अनुमोदन गराई समितिको स्वीकृति लिनुपर्ने ।
६) विभागीय प्रमुख नियुक्त गर्नुपर्नेः –बीमांकीको परीक्षा उत्तीर्ण गरेको वा बीमांकीय विज्ञान विषयमा स्नातक उपाधि हासिल गरेको,
–मान्यता प्राप्त संस्थाबाट बीमा विषयमा फेलोसिप वा एसोसियटसिप उपाधि हासिल गरेको स्नातकतह उत्तीर्ण गरेको,
–चार्टर्ड एकाउन्टेन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भई बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा १ वर्ष कार्य गरेको,
–मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट बीमा विषयमा लाइसेन्सियटसिप उपाधि हासिल गरेको बीमा क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा ३ वर्ष कार्य गरेको,
–मान्यताप्राप्त विश्वविद्यालयबाट बीमा विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरी बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा रही कम्तीमा १ वर्ष कार्य गरेको,
–मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि हासिल गरी बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा रही कम्तीमा २ वर्ष कार्य गरेको, वा
–मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तहको उपाधि हासिल गरी बीमा तथा बैंकिङ क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा रही कम्तीमा ५ वर्ष कार्य गरेको ।
७) कर्मचारी सम्बन्धी व्यवस्थाः
कर्मचारी नियुक्त गर्नुपर्नेः बीमकले बीमकको प्रबन्धपत्र तथा नियमावली र कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी विनियमावलीको अधीनमा रही बढुवा प्रक्रियाबाट पूर्ति गर्नुपर्ने पद बढुवा प्रक्रियाबाट र अन्य पदहरु खुला प्रतियोगितात्मक परीक्षाबाट पूर्ति गर्नुपर्नेछ ।
८) बीमकको हितविरुद्धको गतिविधिमा संलग्न हुन नहुनेः –कर्मचारीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमकको हितविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुनुहुँदैन ।
पदको दुरुपयोग गर्न नहुनेः –कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाउने छैन ।
९) अभिलेख, प्रतिवेदन तथा कागजातहरु पूर्ण एवं दुरुस्त राख्नुपर्नेः –सम्बन्धित कर्मचारीले बीमकको लेखा, बीमा जोखिमांकन (अन्डरराइटिङ), पुनर्बीमा, बीमा दाबी भुक्तानी, प्रशासन, बजार व्यवस्थापन आदि सम्बन्धी भककतिक तथा अभककतिक अभिलेख, प्राधिकरणबाट स्वीकृति प्राप्त सम्पूर्ण कागजात तथा बीमालेखहरु, सञ्चालक समितिबाट पारित भएका निर्णय (माइन्युट), नीति तथा नियमहरु, सञ्चालक समितिसमक्ष पेस भएका कागजातहरु, प्रतिवेदन तथा अन्य महत्वपूर्ण कागजातहरु अद्यावधिक रुपमा पूर्ण एवं दुरुस्त राख्नुपर्नेछ,
–कर्मचारीले अनधिकृत ढंगले बीमकको आधिकारिक अभिलेख वा कागजपत्रमा व्यक्तिगत रुपमा कुनै थपघट वा संशोधन गर्न पाउने छैन,
गोपनीयता कायम राख्नुपर्नेः –कर्मचारीले बीमकको लेखा, बीमा जोखिमांकन (अन्डरराइटिङ), पुनर्बीमा, बीमा दाबी भुक्तानी, प्रशासन, बजार व्यवस्थापनसम्बन्धी कागजपत्रहरु, प्राधिकरणबाट स्वीकृति प्राप्त सम्पूर्ण कागजात तथा बीमालेखहरु, सञ्चालक समितिबाट पारित भएका निर्णय (माइन्युट), नीति तथा नियमहरु, सञ्चालक समितिसमक्ष पेस भएका कागजातहरु तथा अन्य महत्वपूर्ण कागजातहरुको सम्बन्धमा गोपनीयता कायम राख्नुपर्नेछ।
(२) कर्मचारीले ग्राहकको सूचना र कारोबारसम्बन्धी गोपनीयता कायम राख्नुपर्नेछ।
(३) कर्मचारीले कुनै ग्राहकसँग गरेको कुनै पनि प्रकारको कारोबारको सूचना वा जानकारी सेवा अवधिभरि वा कर्मचारी पदबाट निवृत्त भइसकेपछि समेत सार्वजनिक गर्न वा आफ्नो वित्तीय स्वार्थका लागि प्रयोग गर्न पाइने छैन।
(४) यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि प्रचलित कानुनबमोजिम बीमकको कागजात तथा ग्राहकको सूचना वा जानकारी तेस्रो पक्षलाई उपलब्ध गराउँदा गोपनीयता भंग भएको मानिने छैन।
११) लेखापरीक्षणसम्बन्धी व्यवस्था
लेखापरीक्षण समितिः –बीमकले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय लेखापरीक्षण समिति गठन गर्नुपर्नेछ ।
लेखापरीक्षकको नियुक्तिः –बीमकले प्रचलित कानुनबमोजिम लेखापरीक्षकको नियुक्ति गर्नुपर्नेछ ।
१२) बीमा गर्न नपाइने व्यवस्था
–बीमकले देहायका कुनै व्यक्ति वा संस्थाको कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गर्न सक्ने छैनः
–बीमक आफैँले व्यहोर्ने दायित्वको, वा
–बीमकको आफ्नो संस्थापक, सञ्चालक, परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक, कर्मचारी वा निजको एकाघरको परिवारको सदस्यको, वा
–बीमकको वित्तीय स्वार्थ भएको संस्था, फर्म, व्यक्ति वा निजको एकाघरको परिवारको सदस्यको, वा
–बीमकको सञ्चालक मनोनित वा नियुक्त गर्ने अधिकार पाएको फर्म, कम्पनी वा संस्थाको, वा
–सञ्चालकको वित्तीय स्वार्थ भएको वा सञ्चालक म्यानेजिङ एजेन्ट वा हिस्सेदार वा सञ्चालक भएको कुनै फर्म, कम्पनी वा संस्था निजको परिवारको सदस्यको, वा
तर, जीवन बीमा व्यवसाय गर्ने बीमकले खण्ड (क) देखि (ङ) सम्मका व्यक्तिहरुको एक करोड रुपैयाँसम्मको बीमांकको सीमाभित्र रही जीवन बीमा गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।
–बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन।
–बीमकले आफ्नोतर्फबाट सर्भे कार्य गरिरहेको बीमा सर्भेयर तथा आफ्नो व्यवसायसँग सम्बन्धित बीमा दलालको कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गर्न पाउने छैन।
बीमकले गर्न नहुने कामसम्बन्धी व्यवस्था
रकम जम्मा गर्न नहुनेः –बीमकले सञ्चालक तथा निजको एकाघरका परिवारको बित्तीय स्वार्थ भएको बैंक तथा वित्तीय संस्थामा बीमकको रकम निक्षेपका रुपमा वा अन्य कुनै पनि किसिमले जम्मा गर्न वा राख्न हुँदैन ।
साझेदारीमा सम्पत्ति जोड्न नहुनेः –बीमकले वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा आफ्नो कर्मचारी, सल्लाहकार, परामर्शदातासँग साझेदारीमा कुनै सम्पत्ति जोड्न हुँदैन ।
बीमकले गर्न नहुने कामः –बीमकले देहायको कुनै काम गर्न वा गराउन हुँदैन,
–व्यवसायका लागिबाहेक अन्य उद्देश्यले कुनै सम्पत्ति खरिद वा बिक्री गर्न,
– जीवन बीमालेखको सुरक्षणमा बीमितलाई कर्जा दिनबाहेक कुनै किसिमको कर्जा दिन,
–तर, कर्मचारी सेवा सर्त विनियमावलीमा व्यवस्था भएबमोजिम बीमकले आफ्नो कर्मचारीलाई सापटी र जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई बीमकको व्यवसाय प्रवर्द्धन गर्न सञ्चालक समितिको स्वीकृति लिई प्रोत्साहनबापत नगद र घर–जग्गा कर्जाबाहेक अन्य व्यवस्था गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,
–प्राधिकरणले स्वीकृत गरेको ढाँचामा बाहेक अन्य कुनै ढाँचामा बीमालेख जारी गर्न,
–इजाजत प्राप्त बीमा व्यवसायमा बाहेक अन्य कुनै पनि प्रकारको बीमालेख जारी गर्न,
–अन्य बीमक वा बीमा दलालको शेयर वा धितोपत्रमा लगानी गर्न,
–बीमा व्यवसायमा कुनै किसिमको एकाधिकार कायम गर्न वा अन्य कुनै किसिमले बीमा व्यवसाय नियन्त्रित गर्ने प्रकृतिको काम–कारबाही गर्न,
काम–कारबाहीमा पारदर्शिता हुनुपर्नेः बीमकले आफ्नो काम–कारबाही व्यावसायिक एवं पारदर्शी तवरले सञ्चालन गर्नुपर्नेछ ।
बीमाशुल्कसम्बन्धी व्यवस्थाः –बीमकले पूरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न हुँदैन ।
घोषणा गर्नुपर्नेः –सञ्चालक तथा कार्यकारी प्रमुखले निर्देशिकाको पालना गर्ने सम्बन्धमा स्वघोषणा गर्नुपर्नेछ ।
आचारसंहिता तयार गरी लागू गर्न सक्नेः –बीमकले प्रचलित कानुन तथा यस निर्देशिकाको अधीनमा रही सुशासनसम्बन्धी आचारसंहिता तयार गरी लागू गर्न सक्नेछ ।
–प्रत्येक बीमकले संस्थागत सुशासन इकाइको गठन गरी संस्थागत सुशासनको स्थितिबारे मासिक रुपमा अनुगमन गर्नुपर्नेछ ।
बीमकमा काम गर्न नहुनेः–बीमकको कार्यकारी प्रमुख आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले ६ महिनासम्म अन्य बीमकको सञ्चालक, सल्लाहकार तथा परामर्शदाताबाहेकका अन्य पदमा बहाल रही कार्य गर्न पाइने छैन।
कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्नेः –बीमकले आफ्ना कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कुल कर्मचारी खर्चको कम्तीमा २ प्रतिशत रकम तालिम तथा वृत्तिविकास शीर्षकमा खर्च गर्नुपर्नेछ।
–बमोजिमको कार्यक्रममा आफ्ना सबै कर्मचारीले दक्षता अभिवृद्धिमा समान अवसर प्राप्त गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ।
–बीमकको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुखको विदेश भ्रमणसम्बन्धी कुनै पनि खर्च तथा बीमकका तर्फबाट प्रतिनिधित्व गर्दै सभा, सम्मेलनमा सहभागी हुँदाको प्रतिनिधिको खर्च यस शीर्षकअन्तर्गत समावेश गर्न पाइने छैन।
–चालु आर्थिक वर्षमा कर्मचारीहरुको दक्षता अभिवृद्धिमा तोकिएअनुसारको खर्च गर्न नसकेमा त्यस्तो बाँकी रहेको रकमलाई कर्मचारी दक्षता अभिवृद्धि कोषमा जम्मा गरी आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ।
१३) संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्थाः –बीमकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको १ प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्नेछ।
–संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम वार्षिक योजना तथा कार्यक्रम बनाइ देहायको क्षेत्रमा खर्च गर्न सकिनेछः
– सामाजिक परियोजनाहरुमा हुने खर्चः शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा सीमान्तकृत वर्गको बीमासम्बन्धी कार्यक्रम आदिमा गरिने खर्च।
प्रत्यक्ष अनुदान खर्चः –अतिविपन्न तथा सीमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च।
गरिबी न्यूनीकरणः –नेपाल सरकारको गरिबी न्यूनीकरणसम्बन्धी रणनीतिअन्तर्गत अतिविपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्दा हुने खर्च।
–आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाका लागि चाइल्ड केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च।
–बीमकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेछ।
–सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा खर्च गर्दा सञ्चालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनीतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन।
–सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वका लागि यस व्यवस्थाअनुसार खर्च गर्ने क्षेत्र पहिचान गर्न, सो क्षेत्रमा खर्चका लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापनलगायतका विषयहरुसमेटी छुट्टै कार्यविधि बनाई लागू गर्नुपर्नेछ।
– कोषको व्यवस्था तथा सोबाट भएको खर्चसम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीअन्तर्गत खुलाउनुपर्नेछ।
– बीमकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यस्तो कार्यक्रममा भएको खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र प्राधिकरणमा पेस गर्नुपर्नेछ।
आचारसंहिता तयार गरी लागू गर्न सक्नेः–बीमकले प्रचलित कानुन तथा यस निर्देशिकाको अधीनमा रही सुशासनसम्बन्धी आचारसंहिता तयार गरी लागू गर्न सक्नेछ।
–प्रत्येक बीमकले संस्थागत सुशासन इकाइको गठन गरी संस्थागत सुशासनको स्थितिबारे त्रैमासिक रुपमा अनुगमन गर्नुपर्नेछ।
–बीमकले सञ्चालक, कार्यकारी प्रमुख तथा बीमकको अधिकृतस्तर वा सोभन्दा माथिको कर्मचारी र निजको परिवारको नाममा रहेको सम्पत्तिको तोकिएबमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र अद्यावधिक गरी राख्नुपर्नेछ।
७. निष्कर्ष
माथिका प्रकरणहरुमा उल्लेख गरिएबमोजिम बीमा व्यवसायमा संस्थागत सुशासन सुदृढ गराउने सम्बन्धमा नेपालमा बीमा नियमनकारी निकायको हैसियतले नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रियस्तरका उपयुक्त प्रावधानहरुको व्यवस्था गरेको छ । बीमा प्राधिकरणबाट बीमकहरुलाई जारी गरिएको संस्थागत सुशासनसम्बन्धी निर्देशन, २०८० मा व्यवस्था भएअनुसार सञ्चालकहरुले बीमकले आफ्नो वित्तीय स्वार्थ गाँसिएको ग्राहकसँगको कारोबारमा संलग्न हुन नहुने, दैनिक काम–कारबाहीमा हस्तक्षेप गर्न नहुने, आंशिक रुपमा काम गर्न नहुने, धितोपत्र दलाल, व्यवसायीका रुपमा धितोपत्र कारोबारमा संलग्न हुन नपाउने, एकभन्दा बढी बीमक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाइने, अभिलेख र प्रतिवेदन पूर्ण एवं दुरुस्त राख्नुपर्ने, बीमकसँग साझेदारीमा संलग्न हुन नपाइने, व्यक्तिगत फाइदा हुने गरी पद र नामको दुरुपयोग गर्न नहुने, गोपनीयता कायम गर्नुपर्ने, निष्पक्ष र समान रुपमा व्यावसायिक व्यवहार गर्नुपर्नेजस्ता न्यूनतम आचरणहरु पालना गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, बीमा कम्पनीलाई दक्ष र व्यावसायिकरुपमा संचालन गर्न उपयुक्त किसिमको कर्मचारी विनियमावली तयार गरी योग्य तथा सक्षम उच्च पदाधिकारीहरुको नियुक्ति गर्ने, गैरकार्यकारी सञ्चालकको मातहतमा रहने गरी लेखापरीक्षण समिति गठन गरी लेखापरीक्षण गराउने, विवेकपूर्ण र सक्षम तरिकाले संस्थाको अनुगमन र सुपरिवेक्षण गर्ने, संस्थाको लगानी तथा कर्जा नीति, सम्पत्ति तथा दायित्व व्यवस्थापन, बजेटिङ, योजना र अन्य आवश्यक विषयमा लिखित नीति तर्जुमा गरी कर्मचारीहरुलाई पालना गर्न लगाउने, संस्थाको अवस्था, गतिविधि, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धीकरण नियन्त्रण र व्यवस्थापनले अख्तियार गरेका नीति सम्बन्धमा नियमित रुपमा जानकारी लिई आवश्यकताअनुसार सुधारात्मक उपाय अपनाउने, प्रचलित कानुनमा व्यवस्था भएअनुसार बैठक बस्ने, प्रचलित कानुन र बीमा प्राधिकरणबाट जारी भएका नीति निर्देशनको पूर्ण जानकार भई तिनीहरुको पालना संस्थाले गरेको छ वा छैन भन्ने नियमित अनुगमन समेत गर्नुपर्ने, बीमितको हकहितविपरीत कार्य गर्न नहुने, व्यावसायिक सञ्चालकले सो संस्थाको संस्थापक शेयर लिएको हुन नहुने, संस्थाको सञ्चालक समितिबाहेकका अन्य कुनै पनि आन्तरिक समिति वा उपसमितिमा सञ्चालक समितिका अध्यक्ष समावेश हुन नपाउने, पद तथा गोपनीयताको शपथ लिनुपर्ने, वित्तीय शिक्षाका लागि अभिमुखीकरण लिनुपर्ने आदि छन् । यसका अतिरिक्त बीमा ऐन, २०७९ ले पनि संस्थागत सुशासनको बारेमा विभिन्न बुँदामा उल्लेख गरेको छ । जस्तैः सञ्चालकको योग्यता, सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सञ्चालक समितिको बैठकलगायत सुशासन नियमित गर्ने सम्बन्धमा आवश्यक प्रावधानहरु राखेको छ ।
बीमकहरुले नियमनकारी निर्देशनहरु पालना गर्दा संस्थागत सुशासन निकै सुदृढ हुन्छ । ऐन, कानुन, निर्देशन कतिपय अवस्थामा अस्पष्ट भएको पनि हुन सक्छ । त्यस्तो अवस्थामा त्यसको मर्म, सकारात्मक सन्देशलाई आत्मसात गर्नु बीमा क्षेत्रको दीर्घकालीन हितका लागि आवश्यक छ । केही बीमकहरु यस सन्दर्भमा निकै सुदृढ पनि छन् । तर कतिपयमा बीमकमा संस्थागत सुशासन मजबुत देखिँदैन । वित्तीय स्थायित्व प्रभावकारी हुन बीमा प्रणालीकै संस्थागत सुशासन सुदृढ हुनुपर्छ किनकि एउटा मात्रबीमकमा देखिने संस्थागत सुशासनको कमीले सबै बीमा प्रणालीको साखमा असर पर्छ । संस्थागत सुशासन सुदृढ बनाउन बीमाक्षेत्र आफैंले सञ्चालक समिति र व्यवस्थापनको उत्तरदायित्व र जबाफदेहीता अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सुस्पष्ट रुपमा परिभाषित गर्ने, त्यसको अनिवार्य रुपमा पालना गर्ने, नियामकीय निर्देशनलगायत अन्य ऐन–नियमको अक्षरशः पालना गर्नु आवश्यक छ ।
अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये बीमा एउटा जटिल प्राविधिक विषय मात्र नभई जोखिम व्यवस्थापनसँग सम्बन्धित भएको अत्यन्तै संवेदनशील विषय पनि हो । यस उद्योगअन्तर्गत कार्य गर्ने बीमा कम्पनी, बीमा सर्भेयर, बीमाअभिकर्ता आदिको उचित सुपरिवेक्षण तथा नियमन गरी समग्र बीमा उद्योगलाई मर्यादित र स्वच्छ बनाई संस्थागत सुशासन कायम गराउन, बीमितको हकहित संरक्षण गर्न तथा बीमा बजारमा हुन सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सुशासनका आधारभूत मान्यतालाई बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० मा समावेश गरिएको पाइन्छ । सरोकार वर्ग तथा व्यवसायको अभ्यासबाट प्राप्त हुने सुझावअनुरुप समयसापेक्ष सुधार हुँदै जाने कुरामा विश्वस्त हुन सकिन्छ ।
सन्दर्भग्रन्थ
१) बीमा ऐन २०७९, कानुन किताब व्यवस्था कम्पनी लि., बबरमहल, काठमाण्डौ ।
२) बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८०– नेपाल बीमा प्राधिकरण, कुपन्डोल, ललितपुर ।
३) डा. निलम ढुङ्गाना तिमल्सिना– वित्तीय संस्थामा संस्थागत सुशासन, नागरिक दैनिक, २५ बैशाख, २०८१
४) संस्थागत सुशासनका सिद्धान्तहरु, युनिभर्सिटी अफ लिङ्कन, जर्नल अफ जुन २०२२
(समीक्षक थापा नेपाल बीमा प्राधिकरणमा कानुन सेवातर्फ सहायक निर्देशक पदमा कार्यरत छिन् ।)