काठमाडौं । नियम, सांस्कृतिक मान्यता, आर्थिक अवस्था र बीमा बजारको संरचनामा भिन्नताका कारण बीमा अभ्यासहरु विश्वव्यापी रुपमा नै भिन्न छ । तथापी, केही सामान्य अभ्यासहरु र सिद्धान्तहरु छन्, जुन अधिकांश देशहरुमा अनुशरण गरिन्छ ।
नियमन
सामान्यतया बीमा क्षेत्रमा उपभोक्ता संरक्षण, सोल्भेन्सी र निष्पक्ष अभ्यासहरु सुनिश्चित गर्नको लागि सरकारले बीमा नियमन गर्न एउटा छुट्टै संगठनको स्थापना गरेको हुन्छ । यस्ता संगठनले बीमा क्षेत्रमा पूँजीको आवश्यक्ता इजाजतपत्र र बीमाका उत्पादनहरुको स्वीकृति प्रदान गर्ने सन्दर्भमा नियमहरु देश अनुसार फरक हुन सक्छन् ।
बीमाका प्रकार
बीमा जीवन, निर्जीवन र पुनर्बीमा गरी तीन प्रकारका हुन्छन् ।
बीमाशुल्क गणना
बीमाशुल्कको गणना बीमितको उमेर, स्वास्थ्य स्थिति, व्यवसाय, स्थान र चाहेको रक्षावरणको प्रकार र मात्रा जस्ता जोखिम मूल्याङकन कारकहरुका आधारमा गरिन्छ ।
दाबी प्रक्रिया
बीमकहरुले क्षतिपुर्तिको रकम निर्धारण गर्न बीमितहरुले पेश गरेको दाबीहरुको मूल्याङ्कन गर्छन् । ग्राहकको विश्वास कायम राख्नको लागि समयमै र निष्पक्ष दाबी प्रक्रिया महत्वपूर्ण हुन्छ ।
पुनर्बीमा
बीमकहरुले ठूला नोक्सानीबाट जोखिमबाट सुरक्षित रहनका लागि पुनर्बीमा खरिद गर्छन् । पुनर्बीमा कम्पनीले प्राथमिक बीमकलाई रक्षावरण प्रदान गर्दछ । बीमा कम्पनीहरुले आफूले बहन गर्ने जोखिम निश्चित गरी बाँकी जोखिमको पुनर्बीमा गर्छन् । यसरी बीमा कम्पनीले गर्ने बीमालाई पुनर्बीमा भनिन्छ ।
प्रविधिको प्रयोग
प्रविधिले बीमा अभ्यासहरुमा महत्वपुर्ण भूमिका खेल्छ । जसमा अनलाइन बीमालेख व्यवस्थापन, डिजिटल जोखिमाङ्कन प्रकृयाहरु, दाबी स्वचालन, जोखिम मूल्याङ्कन र मूल्य निर्धारणको लागि तथ्यांकको विश्लेषण समावेश हुन्छ ।
बीमा शिक्षा र संरक्षण
सरकार र बीमा क्षेत्रमा संलग्न संस्थाहरुले बीमा शिक्षालाई प्राथमिकता दिन्छन् । जसले उपभोक्तालाई बीमा उत्पादनहरु, रक्षावरणका विकल्पहरु, बीमितहरुको अधिकार तथा जिम्मेवारीहरु बुझ्न मद्दत गर्दछ ।
अन्तर्राष्ट्रिय सहयोग
धेरै जोखिमहरुको विश्वव्यापी प्रकृतिलाई ध्यानमा राख्दै बीमकहरुले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरी जोखिम व्यवस्थापन गर्न र बीमा उद्योगमा वित्तीय स्थिरता सुनिश्चत गर्न एक अर्कासँग सहयोग र समन्वय गर्छन् ।
दक्षिण एसियामा बीमा
भारतमा बेलायती शासन भएको समयमा बेलायतीहरु आफ्नो सम्पत्तिको बीमा बेलायती बीमा कम्पनीहरु मार्फत गर्ने गर्दथे । बेलायतीहरुले भारतमा आई बसेका बेलायती विधुवाहरुको लागि सर्वप्रथम सन् १८१८ मा ओरिएण्टल इन्स्योरेन्स सोसाइटीको स्थापना भएको थियो । भारतीय स्वतन्त्रता अघि भारतीयको लागि यूरोपेलीको लागि भन्दा बढी बीमा दर कायम गरी भारतीय माथि विभेद गर्ने गरिन्थ्यो । सन् १९०६ मा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भयो । सन् १९१२ मा भारतमा जीवन बीमा कम्पनी ऐन जारी भयो । उक्त ऐन अाएपछि बीमाङ्कीबाट जीवन बीमाको आवधिक मूल्याङ्कन गर्नुपर्ने र बीमाशुल्कदरको तालिका हुनुपर्ने व्यवस्था भयो ।
सन् १९३९ मा भारतमा बीमा ऐन जारी भयो । जुन ऐन भारत, पाकिस्तान र बंग्लादेशमा हालसम्म पनि लागूको अवस्थामा छ । भारतीय स्वतन्त्रता पश्चात नयाँ बनेको देशहरु भारत र पाकिस्तानले आ–आफ्नो बीमा नीति अख्तियार गरे भने नेपाल, श्रीलंका, अफगानिस्थान लगायतका देशहरुमा बीमा सुसुप्त अवस्थामा नै थियो ।