काठमाडौं । अर्थविद् प्राडा अच्युत वाग्लेले आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नरहेको बताएका छन्।
इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अर्थविद् वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘यो बजेट महत्वाकांक्षी छैन। यसमा सबैले प्रशंसा गरेका पनि छन्’, उनले भने, ‘तर, यो खुसीको कुरा हो कि होइन भन्ने विषयमा छलफल गरौँला। कार्यान्वयन गर्न सकिने हिसाबले यो बजेट महत्वकांक्षी छैन।’
अर्थविद वाग्ले सरकारले ल्याएको बजेटले मन्दीमा रहेको अर्थतन्त्र उकास्ने खालको नयाँ उपाय नसुझाएको पनि बताए । अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेटले नसकेको उनको भनाइ थियो । ‘अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेट सकेको छैन’, उनले भने।
राजस्व लक्ष्य हेर्दा अहिलेको दरमा अलिकति महत्वकांक्षी देखिने वाग्लेले बताए। ‘महालेखाको वेबसाइटमा हेर्दा ६३ प्रतिशत राजस्व लक्ष्यको उठेको देखिन्छ। त्यसरी हेर्दा ८० प्रतिशत भेट्न पनि गाह्रो छ’, उनले भने, ‘आगामी वर्षको लक्ष्य चाहिँ राजस्वका नयाँ स्रोतहरु के फेला पर्छन् र त्यसले कति बढाउँछ भन्ने प्रश्न आफ्नो ठाउँमा छ।’
बजेटले राजश्वको अतिरिक्त स्रोत पहिचान गर्न चुकेको वाग्लेको भनाइ थियो । यसका साथै कर प्रस्तावहरु कार्यान्वयन नहुने सम्भावन आंशिक मात्र रहेको बताए । ‘राजश्वको उल्लेख्य आकारका अतिरिक्त स्रोतहरु पहिचान गर्न बजेट चुकेको र कर प्रस्तावहरु कार्यान्व्यन पनि नहुने सम्भावना आंशिक मात्र छ’, उनले भने ।
राजश्व आम्दानीले साधारण खर्च धान्न नपुग्ने स्थिति निन्तर रहने उनको भनाइ छ । सुशासनको प्रत्याभुति मार्फत दातृनिकायको विश्वास जितेर ठुलो वैदेशिक सहायता भित्र्याउन पनि सहज नभएको वाग्लले बताए ।
यद्यपि, आगामी बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिको लक्ष्य लिएको उनको भनाइ छ । स्रोत, साधानलाई सन्तुलित र व्यवहारिक ढंगले परिचालन गरि आर्थिक असमानत र गरिबी न्यनूकरण, कृषि क्षेत्रमा रुपान्तरण, उर्जा क्षेत्रमा विकास, सूचना प्रविधि विकास, पर्यट प्रवद्र्धन र उद्यमशीलता र आद्योगिकत विकासको लक्ष्य लिएको वाग्लेले जानकारी गराए ।
त्यसैगरी सूचना प्रविधि क्षेत्र र क्षेत्रीय अर्थतन्त्र विकासमा सूचना प्रविधिमा ३० खर्बको बजेट विनियोजित गरिएको उल्लेख गर्दै वाग्लेले भने, ‘कम्तीमा लक्ष्य चाहिँ राखिएको छ। किनकि सूचना प्रविधि अबको भविष्य हो। त्यसलाई पोजिटिभ रुपमा लिनुपर्छ।’
क्षेत्रीय अर्थतन्त्रहरुको कम्तीमा सिद्धान्तमै भए पनि नगरपालिकाहरुमा डाउन–डाउन र एउटा प्रदेशलाई एउटा फोकस्ड प्रडक्टिभी एरियाका रुपमा इडेन्टिफाई गरौँ भन्ने कुरा बजेटमा रहेको वाग्लेले बताए। ‘त्यसलाई पनि पोजिटिभ रुपमा लिन सकिएला’, उनले भने।
‘अर्को नयाँ कन्सेप्ट मलाई मनपरेको छ। पोखरा–बुटवल–नारायण जसरी चाहिँ एउटा भाइब्रेन्ट एरियाका रुपमा भइरहेको छ, एउटा नयाँ ट्रयांगलका रुपमा विकास गरौँ, करिडोर–करिडोर हामीले भनिरहेका छौँ, यो ट्रयांगल भन्ने नयाँ शब्द इन्भेन्टिभ नै लाग्यो’, अर्थविद् वाग्लेले भने, ‘यसलाई पनि पोजिटिभ रुपमा लिनुपर्छ।’
आफूहरुले जति मच्चिएर कमेन्ट गरे पनि आइसकेको बजेटमा त्यति तात्विक परिवर्तन नहुने वाग्लेको भनाइ थियो। ‘कर्मचारीतन्त्रले र अर्थमन्त्रीज्यूहरुले ठीकै छ नि त्यति भइसकेको भए अलि–अलि शीर्षकबाट तानेर मिलाउँला भनेर भन्ने परम्परा बसालेको हुनाले बजेटमा टिप्पणी गर्न आवश्यक छैन तर यो मेरो केही व्यक्तिगत धारणा हुन सक्छन्’, उनले भने, ‘त्यसैले यो कार्यक्रमलाई एउटा छलफलको बिउका रुपमा लिइदिन म आग्रह गर्छु।’
‘टिप्पणीकारका रुपमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्दै हुनुहुन्थ्यो यो सुरुमै चाहिँ तपाइँले नेटेटिभबाट सुरु गर्नुभएछ’, अर्थविद् वाग्लेले भने, ‘१० वटा सूचकांकमा नेपाल चाहिँ १०० औँभन्दा तलतल राख्नुभएछ। यो के भनेको हो भने सबै सरकार आउँदा, सबै अर्थमन्त्री फेरिँदाखेरी मैले अर्थतन्त्र चाहिँ भयंकरै राम्रो गर्या थिएँ भन्ने अनि नेपाल चाहिँ कुनै पनि सूचकांकबाट माथि नै आउन नसक्ने, यो के भइरहेको हो ? भनेर कम्तीमा १०–१२ वटा सूचकांक चाहिँ देखाउन खोजेको हो।’
वाग्लेले थपे, ‘लोकतान्त्रिक, भ्रष्टाचार नहुनेजस्ता सूचकांकमध्ये एउटा चाहिँ ९८ प्रतिशत रहेछ नभएदेखि हामीले गरेको र हामीले देखाएको योग्यता, देशको शासन व्यवस्थाले देखाएको आर्थिक सुशासनको प्रगतिको योग्यता चाहिँ यहाँनेर रिजल्ट भएको रहेछ भनेर देखाउन खोजेको मात्रै हो।’
आगामी आर्थिक वर्षको बजेटमा ५ वटा उद्देश्य लिइएको छ। ‘हरेक पटक बजेट आउँदा यस्तै–यस्तै नै आउने गरेको छ’, वाग्लेले भने, ‘उही अर्थमन्त्री फेरिँदा तल–माथि हुने मात्रै हो। यसमा छलफल गर्नुपर्ने आवश्यकता नै छैन। गर्नुपर्ने र गर्न सकिने कुरा यिनै हुन्।’