काठमाडौं । हालै भारतमा बजाज एलियान्ज जनरल इन्स्योरेन्सले ठूला उड्डयन कम्पनीका पाइलटले आफ्नो अशक्ततासम्बन्धी नक्कली प्रमाणपत्र पेस गरी भारु २ करोडको बीमा रकम लिन खोजेको भन्दै एफआईआर दर्ता गरेको थियो। यसबीच दिल्ली पुलिसको आईएफएसओले विगत ८ वर्षदेखि नक्कली कागजातहरु मार्फत बीमा पोलिसीहरु ठगी गर्ने ६ जनाको गिरोहलाई पक्राउ गरेको छ। कुल भारु ४० करोडको ठगी भएको खुलासा पनि भएको छ।
गत बुधबार भारतको सीबीआईले जम्मु कश्मीरका पूर्वगभर्नर सत्यपाल मलिकसँग सम्बन्धित केही कर्मचारी बसोबास ८ सहरमा छापा मार्यो। यो छापा मार्ने समूह मेडिकल बीमा कभरेज प्रदान गर्न सम्बन्धित छ।
माथिका तीनवटा उदाहरणले बीमा क्षेत्रमा ठगी र जालसाजी कति हदसम्म पुगेको छ भन्ने देखाउँछ। बाली बीमा होस् वा स्वास्थ्य बीमा होस् वा मोटर बिमा होस् वा सामान्य जीवन बीमा होस्, ठगी गर्नेहरुको चहलपहल बढेको छ र अहिलेसम्म नियामक निकाय भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) यसलाई रोक्न सफल भएको छैन।
फेब्रुअरी २०२३ मा डेलोइटले आफ्नो वार्षिक प्रतिवेदनमा खुलासा गरेको छ कि सर्वेक्षण गरिएका ६० प्रतिशत कम्पनीहरुले भारतमा बीमा ठगी तीव्र गतिमा बढ्दै गएको उल्लेख गरेका छन्। तेस्रो पक्षसँग मिलेर गलत सूचना दिएर बीमा बिक्री गर्नेजस्ता परम्परागत ठगीका घटना बढे पनि डाटा र डिजिटलाइजेसनका कारण नयाँ ठगीका घटना पनि हुन थालेकाले चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ।
अहिले भारतमा कुल प्रिमियम रकमको १० देखि १५ प्रतिशतसम्म ठगीको सिकार भइरहेको बीमा उद्योगसँग आबद्ध व्यक्तिहरु बताउँछन्। वर्ष २०२१ मा गरिएको एक अध्ययनले भारतमा बीमा कम्पनीहरुलाई ठगीका कारण वार्षिक भारु ४५ हजार करोड घाटा हुने र अधिकांश ठगी नक्कली कागजातमार्फत भइरहेको खुलासा गरेको थियो।
बजाज एलायन्स जनरल इन्स्योरेन्सका सीएफओ रमनदीप सिंह साहनीले यसको असर सम्पूर्ण बीमा क्षेत्रले व्यहोर्नुपरेको बताउँछन्। ‘नक्कली ग्राहकबाट हुने नोक्सानी वास्तविक ग्राहकबाट मात्रै असुल हुने भएकाले बीमा कम्पनीहरुले आर्थिक नोक्सानी व्यहोरेमा ग्राहकले बढी प्रिमियम तिर्नुपर्ने हुन्छ’, उनले भने, ‘साथै, सर्वसाधारण ग्राहकले पनि दाबी पाउन निकै संघर्ष गर्नुपरेको छ।’ शिक्षित व्यक्तिबाट बीमा ठगीका बढ्दो घटनाप्रति साहनीले बढी चिन्ता व्यक्त गरे।
आईसीआईसीआई लोम्बार्डका सीएफओ तथा सीआरओ गोपाल बालचन्द्रनले बीमा क्षेत्रमा ठगी ठूलो समस्या बनेको छ बताए। ‘जसका कारण ठूलो आर्थिक नोक्सान भइरहेको छ’, उनले भने, ‘बीमाको कुनै पनि भाग छैन, जहाँ ठगहरु पसेका छैनन्।’
‘स्वास्थ्य क्षेत्रमा महँगो एन्टिबायोटिकको प्रयोग बढाएर उपचार खर्च ३५ प्रतिशतसम्म बढेको देखिरहेका छौँ’, बालचन्द्रनले भने, ‘यस्ता ठगी गर्ने टोली देशैभर काम गरिरहेका छन्। त्यस्तै मोटर थर्ड पार्टी दावीहरु हाम्रो लागि ठूलो चिन्ताको कारण हुन्।’
बालचन्द्रनले भने, ‘भारतका धेरै ठाउँमा सवारीसाधन चोरीमा संलग्न गिरोहले बीमा कम्पनीलाई ठगी गर्ने गरेको हामीले थाहा पाएका छौँ। क्षतिपूर्तिका लागि साना तथा मझौला उद्योगले आफ्नै पसल, कलकारखाना आदिमा आगो लगाएर बीमा रकम असुल्ने प्रयास गरेको पनि देखिरहेका छौँ।’
यो समस्याको समाधान नहुँदा बीमा कम्पनीहरु पनि चिन्तित छन्। वास्तवमा भारतीय कानुनमा बीमा धोकाधडीविरुद्ध कुनै कानुनी प्रावधान छैन। भारतीय दण्ड संहिता र भारतीय अनुबन्ध कानुनमा बीमा ठगीविरुद्ध कडा कारबाही गर्ने कुनै प्रावधान छैन।
आईआरडीएआईले सन् २०१३ मा बीमा ठगीलाई ३ वर्गमा विभाजन गरेको भए पनि यसलाई रोक्नका लागि जुन कदम चाल्नुपर्ने थियो, त्यो भने चालिएको छैन। विगतमा धेरैपटक भारत सरकारलाई बीमा ऐन, १९३८ लाई परिमार्जन गर्न माग गरिएको भए पनि त्यो हुन सकेको छैन। त्यसैले ठगीहरु प्रहरीको चंगुलबाट सजिलै उम्कन्छन्। –एजेन्सी