काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न मुद्दति निक्षेपमा गर्ने लगानीमाथि नेपाल बीमा प्राधिकरणले अग्राधिकार सुरक्षित गरेको हुन्छ। बीमा कम्पनीहरुले बीमितबाट संकलित बीमाशुल्क रकम र आम्दानीबापतको रकमलाई उचित प्रतिफल प्राप्त हुने गरी लगानी गर्छन्।
बीमा कम्पनीले लगानी गरेको मुद्दति निक्षेपको रकम अन्य कुनै प्रयोजनमा हुन नपाओस् र बीमकले आफ्नो वित्तीय दायित्व बहन गर्ने गरी कोष व्यवस्थापन र तरलता कायम गर्न सक्षम होस् भन्ने सुनिश्चित गर्नका लागि बीमा नियामकले ‘इयर मार्क’ सम्बन्धी प्रावधान लागू गरेका हुन्छन्। बैंक तथा वित्तीय संस्थामा लगानी गरिएको निक्षेप रकम प्रयोगमा एक तहको अंकुश वा चुकुल लगाउने काम नै इयर मार्क हो।
किसानले आफ्नो गाईवस्तुको पहिचानका लागि चौपायाको कान डामेर बनाउने संकेत चिह्नबाट इयर मार्क शब्दको प्रादुर्भाव भएको हो। अचेल बीमा गरिएको चौपायाको पहिचानका लागि बीमा कम्पनीले चौपायाको कानमा प्लास्टिकको पट्टा (ट्याग) लगाइदिने गरेका छन्। गाउँघरमा छाडा साँढेको पहिचानका लागि साँढेको पिठ्यूँमा डाम्ने चलन छ। यस्तो संकेतले सम्बन्धित चौपाया संरक्षित वा विशेष वर्गको हो भन्ने पहिचान दिलाउँछ।
बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा तोकिएको सीमाभित्र मुद्दति निक्षेपमा लगानी गरि सकेपछि प्राधिकरणको नियन्त्रण रहने गरी बैंक वित्तीय संस्थालाई जानकारी गराउँछन्। यसरी आफ्नो नियन्त्रणमा आएको मुद्दति निक्षेपलाई प्राधिकरणले बीमकको निवेदनका आधारमा समय–समयमा खुला गरिदिन्छ। मुद्दति निक्षेपमाथिको नियन्त्रण छुटाउनका लागि प्राधिकरणलाई बीमकले उचित कारणसहित अनुरोध गर्नुपर्छ। बीमकले आफूसँग रहेको जोखिम खाम्न सक्ने गरी पर्याप्त सुरक्षण, निक्षेप लगायतको व्यवस्था गरिएको सुनिश्चित गरिसकेपछि प्राधिकरणले निक्षेपमाथिको नियन्त्रण खुकुलो पारिदिन्छ।
इयर मार्क गरिएको कोष सम्बन्धित बीमकको नाममा नै बैंक खातामा जम्मा गरिएको हुन्छ। तर। त्यसमाथि प्रथम् नियन्त्रणको अधिकार नेपाल बीमा प्राधिकरणमा निहित हुन्छ। प्राधिकरणले इयर मार्क सम्बन्धमा एकपाने निर्देशनलाई अहिले परिमार्जित गर्दै पाँचपाने ‘बीमकको मुद्दति निक्षेपमा लगानीको एयर मार्कसम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ। पहिले कागजी रुपमा इयरमार्क हुँदै आएकोमा अहिले अनलाइन विद्युतीय माध्यमबाट गर्नका लागि प्राधिकरणले निर्देशनमार्फत अह्राएको छ।
प्राधिकरणले निम्न पक्षहरुलाई विचार पुर्याएर इयरमार्क गर्न मार्गदर्शन, २०८१ मार्फत बीमकलाई निर्देशन दिएको छः
क) विविधीकरणः बीमकले नेपाल बीमा प्राधिकरणद्वारा जारी प्रचलित लगानी निर्देशनद्वारा तोकिएको सीमाभित्र रहेर अधिक केन्द्रित जोखिम कम गर्नका लागि मुद्दति निक्षेपहरुमा आफ्नो लगानी विविधीकरण गर्नुपर्नेछ।
ख) तरलता व्यवस्थापनः बीमकले बीमितको दायित्व पूरा गर्न र सञ्चालन खर्चहरु पूरा गर्नका लागि तरलता व्यवस्थापन रणानीति अपनाई पर्याप्त तरलता कायम गर्नुपर्नेछ।
ग) जोखिम व्यवस्थापनः बीमकले आफ्नो मुद्दति निक्षेप लगानीका लागि नियमित जोखिम मूल्यांकन गरी उक्त जोखिमहरु न्यूनीकरण गरी पर्याप्त जोखिम व्यवस्थापनका उपायहरु अवलम्बन गर्नुपर्छ।
घ) नियमनकारी परिपालनाः बीमकको मुद्दति निक्षेपमा भएका लगानीहरु नेपाल बीमा प्राधिकरणबाट जारी भएको प्रचलित लगानी निर्देशिकाद्वारा तोकिएको सीमाभित्र हुनुपर्छ।
ङ) पारदर्शिताः बीमकले आफ्नो वित्तीय निर्णयहरुमा आफ्नो मुद्दति निक्षेप लगानीहरु उल्लेख गर्दा पारदर्शिता कायम गर्नुपर्छ र लगानी निर्देशिका तथा वित्तीय विवरणसम्बन्धी निर्देशनद्वारा निर्देशन भएबमोजिम प्राधिकरणलाई नियमित रुपमा जानकारी उपलब्ध गराउनुपर्नेछ।
च) सम्पत्ति दायित्व व्यवस्थापनः मुद्दति निक्षेपमा भएको लगानी बीमकको सम्पत्ति दायित्व व्यवस्थापन रणनीतिसँग मेल खाने हुनुपर्छ।