काठमाडौं । मधेश प्रदेशमा परम्परागत बीमा योजनामा मात्र नभएर स्वास्थ्य बीमा योजनामा समेत आमनागरिकको पहुँच अन्य प्रदेशको तुलनामा एकदमै कमजोर देखिएको छ। स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा मधेशको सहभागिता कर्णाली प्रदेशको भन्दा पनि खराब अवस्था छ।
भौगोलिक अवस्थिति काठमाडौंसम्मको दूरी शिक्षामा पहुँचका हिसाबले कर्णाली प्रदेशको तुलनामा मधेश प्रदेश धेरै गुणा अघि छ। मधेश प्रदेशमा पहाडी हिस्साको भूभाग नगण्यमात्र भएकाले सडकमार्गबाट आवागमन पनि पहाडी र दुर्गम हिमाली क्षेत्रमा जस्तो असहज छैन।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार स्वास्थ्य बीमा कार्यक्रममा मधेश प्रदेशको पहुँच सबैभन्दा न्यून १४.९ प्रतिशतमात्र छ। कार्यक्रममा सहभागी घरधुरी संख्याका आधारमा औसत २४.७ प्रतिशत घरधुरी यो कार्यक्रमअन्तर्गत समेटिएका छन्। योमध्ये गण्डकी र कोशी प्रदेशको घरधुरी सहभागिता संख्या राष्ट्रिय औसतभन्दा माथि क्रमशः ३७.२ प्रतिशत र ३६.६ प्रतिशत रहेको छ।
भारतसँग सीधा सडक सम्पर्क, सस्तो रेल यात्रा र सस्तो उपचार सेवाका कारण टाठाबाठाहरु सामान्य उपचारका लागिसमेत सीधै नजिकको ठूलो भारतीय सहरमा उपचार गर्न जान रुचाउँछन्। त्यहाँका अस्पतालका चिकित्सक नेपाली चिकित्सकभन्दा तुलनात्मक रुपमा धेरै बिरामी जाँच गर्ने अवसर पाउने र प्रविधिका हिसाबले पनि उपकरणहरुबाट सुसज्जित हुने भएकाले विशेषगरी मधेश प्रदेशका बासिन्दाका लागि पहिलो रोजाइ भारतीय स्वास्थ्य संस्था नै हुने गरेको छ।
मधेश प्रदेशको सिराहादेखि पर्सासम्म देशभरमै नाम चलेको वा बिरामीका लागि लोकप्रिय गन्तव्य कहलिएको कुनै अस्पताल छैन। वीरगन्जको नेसनल मेडिकल कलेज भौतिक पूर्वाधार र उपकरणले सुसज्जितजस्तो देखिए पनि त्यहाँको उपचार सेवाबाट वीरगन्जवासीकै पनि मन जित्न सकेको छैन। सरकारी स्वामित्वको नारायणी अस्पताल अव्यवस्थाको सिकार हुँदै आएको छ।
बारादेखि महोत्तरीसम्मको ५ वटा जिल्लामा उल्लेख गर्न लायकको कुनै ठूलो अस्पताल नै सञ्चालनमा छैन। प्रदेश राजधानी धनुषामा प्रदेश सरकारले प्रादेशिक अस्पतालको अवधारणा ल्याए पनि अत्ति राजनीति र भ्रष्टाचारका कारण अनुभवी चिकित्सक र दक्ष जनशक्ति नहुँदा बिरामीले अपेक्षित सेवा पाउन सकेका छैनन्। सिराहा र सप्तरी जिल्लामा प्रादेशिक अस्पतालको स्थापना गरिए पनि पूर्वाधार र विशेषज्ञ सेवा सीमितताका कारण बिरामीहरु अन्यत्रको गन्तव्य रोज्न बाध्य हुन्छन्। सीधै धरानको खोपा क्याम्प बीपी कोइराला मेमोरियल अस्पताल वा काभ्रेको धुलिखेल अस्पतालतिर हानिन्छन्।
यसबाहेक सुत्केरी हुनुअघि स्वास्थ्य संस्थामा उपचार र परामर्शका लागि जाने गर्भवती महिलाहरुको संख्यामा पनि मधेश प्रदेशमा देशभरकै सबैभन्दा न्यून रहेको छ। स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार जम्मा ७२ प्रतिशत महिलाले मात्र गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा पुगेर परामर्श र उपचार सेवा लिने गरेका छन्।
प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे पनि यो संस्था चिकित्साशास्त्र अध्ययन र बिरामीको सेवाको उद्देश्यले भन्दा पनि राजनीतिक नियुक्तिको अखडा र भ्रष्टाचारको माध्यम बनाइने सम्भावना सुरुआतमै देखिएको छ।
यसैगरी बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार मधेश प्रदेशमा बीमाको पहुँच जम्मा ८.६१ प्रतिशतमा सीमित देखिएको छ। त्यसभन्दा धेरै दुर्गम मानिने कर्णाली प्रदेशमा बीमामा पहुँच १२.४२ प्रतिशत रहेको छ। प्रदेशको कुल जनसंख्या र प्रदेशअन्तर्गत बिक्री भएको बीमालेख संख्याको अनुपातका आधारमा बीमामा पहुँचको गणना गरिएको हो।