काठमाडौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ‘सञ्चित बज्राचार्य’। उनीसँग बीमा क्षेत्रको करिब दुई दशकको कार्यानुभव रहेको छ। विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि लामो समय काम गरेको अनुभव बज्राचार्यसँग रहेको छ। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका बज्राचार्य बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यवस्थापकका रुपमा चिनिन्छन्। उनै सीईओ बज्राचार्यसँग निर्जीवन बीमा क्षेत्रको व्यवसाय, चुनौती र आगामी कार्यदिशासँग सम्बन्धित रहेर ‘इन्स्योरेन्स टक’मा गरिएको कुराकानी संक्षेपः
प्रभु इन्स्योरेन्स, पुँजी पुर्याउनु भएको छैन क्यारे अझै। कोही मर्जरमा गएर, कोही पैसा थपेर र कोही के गरेर ठूल्ठूलो पुँजीसहित आइसके। तपाइँहरुको योजना चाहिँ किन पूरा नभएको हो ?
हामी लक्ष्यमा अगाडि बढिरहेकै छौँ। अब छिट्टै नै हामी पुँजी पुर्याउँदैछौँ।
सानो पुँजीमा व्यापार गर्नु र ठूलो पुँजीमा व्यापार गर्नुको भेद(फरक) चाहिँ के हो ?
यस्तो हो, जे चिज पनि सानो र ठूलोमा फरक हुन्छ। इन्स्योरेन्सको सेक्टरमा चाहिँ अब यो रिस्क बिजनेस भएको कारणले गर्दाखेरी अब पुँजी वृद्धि भएको खण्डमा वा पुँजी बढी भएको खण्डमा रिस्क पनि बढी लिन सकिन्छ भन्ने एउटा मान्यता हो।
त्यतिमात्रै हो ?
मान्यता त त्यही नै हो।
तर, त्यो पुँजीलाई जस्टिफाई गर्ने बिजनेस पनि तान्नुपर्ने होला नि फेरि ?
होइन, त्यो त निश्चय नै हो नि। त्यो त वृद्धि गर्नु नै पर्छ।
तपाइँहरुको आजको दिनमा हेर्ने हो भने झट्ट हेर्दा जुन पुँजीमा सञ्चालनरत हुनुहुन्छ, त्यो पुँजीलाई जस्टिफाई गर्ने व्यापार पनि गरिरहनु भएको छैन कि क्या हो जस्तो देखिन्छ। साढे २०० करोड पुगेपछि त्यसलाई जस्टिफाई गर्न रिटर्न के दिने अब भन्ने चिन्ता चाहिँ छैन ?
होइन, यस्तो हो। जहिले पनि सोच त ठूलै लिनुपर्यो। उद्देश्य भनेको ठूलो नै हुन्छ। त्यसमा चाहिँ लागिपर्नुपर्यो। आजको दिनको कुरा गर्ने हो भने हामीले आजको दिनमा गरेको व्यापारले पनि मुनाफा चाहिँ राम्रै दिइरहेका छौँ। त्यसले गर्दाखेरी अझ बढाउन सक्थ्यौँ भने त योभन्दा अझ राम्रो हुन्छ होला भन्ने सोच छ हाम्रो।
त्यसकारण पुँजी बढाउनुपर्छ। तपाइँहरु चाहिँ किन हुनुभएको हो ? क्यापिटल प्लान त पटक–पटक बुझाउनु भयो क्यारे ?
यो चाहिँ यस्तो भयो। रेसमा हामी सबैसँगै थियौँ। अलि कति प्राविधिक कारणले गर्दाखेरी चाहिँ हामी यसमा अलि पछि पर्न गयौँ। अब यो सबैलाई जानकारी भएकै कुरा हो। हामीले पनि मर्जरमा जानका लागि प्रयास गरेकै हौँ। हामीले कोसिस पनि गर्यौं। तर, संसारमा सबै चिज भनेजस्तो र सोचेजस्तो हुँदैन। हाम्रो सन्दर्भमा पनि त्यही हुन गयो।
मर्जर पनि त सफल हुन सकेन ?
हुन सकेन।
तपाइँहरु कहाँ त विदेशी साझेदार पनि आउँदैछन् भन्ने गाइँगुइँ थियो बीचमा ?
हो। जब यो मर्जरको प्रक्रिया बीचमा टुंगियो, त्यसपछाडि चाहिँ अब पुँजी वृद्धि त गर्नुपर्यो। त्यसका लागि चाहिँ हामीले विदेशी साझेदार भित्र्याउने हो कि भनेर प्रयास गरेका थियौँ।
को थियो ?
दुई–तीन ठाउँमा हाम्रो कुरा भएको थियो। माथिल्लो चरणसम्म पुग्यो पनि। तर, पनि हुन सकेन।
भनेको के ? नेपालमा लगानीमैत्री वातावरण छैन भन्ने हो या तपाइँहरुकोमा लगानी गर्ने गाइडलाइन वा समझदारी नमिलेर हो ?
यस्तो भयो, अब सबैको आआफ्नो सोच हुन्छ। हामीले हाम्रो प्रस्ताव राख्यौँ। उहाँहरुले सुरुमा त्यसमा चाहिँ आफ्नो इच्छा देखाउनुभयो र अन्त्यमा गएर अहिलेका लागि चाहिँ हामीले गर्न सक्ने अवस्था रहेन भन्नेमात्रै जानकारी दिनुभयो। त्यसले गर्दाखेरी हामीले किन भएन भनेर त्यहाँ पनि भन्न सकेनौँ।
गर्ने–गर्ने भन्ने थियो। अन्तिममा भएन।
त्यही भएर उहाँहरुले फेरि के भन्नुभयो भने यो नै अन्त्य होइन। हामी फेरि पनि अगाडि बढ्न सक्छौँ भनेर चाहिँ भन्नुभएको छ।
त्यो भनेको चाहिँ कहिलेतिर हो फेरि ?
त्यो त आवश्यकताअनुसार र समय–परिस्थितिअनुसार हुन्छ।
अब चाहिँ भन्नदिनुहोस् त पुँजी कसरी पुर्याउने हो ? समय पनि धेरै छैन क्यारे।
अब त यो कस्तो हो भने मैले भनिराख्नुपर्ने अवस्था पनि छ कि छैन। तर, कस्तो छ भने अहिले चाहिँ हामीले पुँजी पुर्याउनका लागि नेपाल रिमा रहेको आफ्नो इक्विटी बेचिसक्यौँ। त्यो तपाइँहरुलाई पनि थाहा छ। मैले भनिराख्नुपर्दैन। अब हाम्रो अहिलेको वित्तीय विवरण पनि पेस गरिसकेका छौँ। अब त्यो दुइटैलाई मिलाएर के–कति पुँजी नपुगेको हो, हामी नियमनकारी निकायलाई जानकारी गराउँछौँ। त्यसपछि उहाँहरुको निर्देशनअनुसार हामी अगाडि बढ्छौँ।
भनेको अबको १ वर्ष नपुग्दै प्रभु इन्स्योरेन्स २५० करोड रुपैयाँको पुँजीमा पुगिसक्छ ?
त्यो त निश्चय नै पुग्छ। त्यो त पुग्छ नै।
भन्न त पहिले बुझाउँदा पनि हामी तोकिएको समयमा पुर्याउँछौँ भन्नुभएकै हो।
हामीले काम त गरेकै हौँ नि। हामी चुप लागेर बसेको होइन। हाम्रो कामको विवरण यहाँहरुलाई पनि थाहा छ। देखिएकै हो। हामीले चाहिँ सबै कुराको निर्देशनहरु अथवा सबै कार्यहरु समयमा नै गरेका हौँ। तर, अब कहिलेकाहीँ सोचेजस्तो नभएको मात्रै हो।
तपाइँहरु सानो पुँजीमा व्यापार गरिरहनुभएको छ। यद्यपि तोकिएको पुँजी पुर्याउँछु भन्नुभएकै छ। ठूल्ठूला पुँजीमा आइसकेकाहरुसँग प्रतिस्पर्धा गर्दा कति अन्तर हुँदो रहेछ ? हिजो उहाँहरु पनि तपाइँहरुकै साइजमा हुनुहुन्थ्यो।
यो त मैले भन्नुभन्दा पनि हामीले जुन त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छौँ नि त। त्यसले नि बताइनै रहेको छ। मलाई लाग्छ, त्यति गाह्रो हुन्छ जस्तो त लाग्दैन। किन भन्दाखेरी व्यापारको साइजमात्रै ठूलो भएर हुँदैन। प्रोफिटेबल हुनुपर्यो। प्रोफिटको रेसियोमा यहाँहरुले हामीलाई मूल्यांकन गर्नुहोस्।
भन्नेहरु भन्छन्, यो ननलाइफ बिजनेसमा चाहिँ धेरै प्रतिस्पर्धा गर्ने ठाउँ हुँदैन। किनभने रेटहरु फिक्स्डजस्तै हुन्छ। सर्भिस मोटिभबाट अलिकति ग्राहकलाई प्रभावित पार्ने हो। त्योबाहेक रेट कटिङ गरेर बिजनेस बढाउने हो भन्छन् नि, त्यस्तो हो ?
खास भन्ने हो भने ननलाइफ इन्स्योरेन्समा चाहिँ ट्यारिफ र ननट्यारिफ दुइटै हुन्छ। ट्यारिफमा त चल्नै पाइएन। सर्भिस नै हो। उत्कृष्ट सेवा नै हो। ननट्यारिफमा चाहिँ प्रकृति र जोखिमअनुसार रेट निर्धारण हुन्छ। त्यही गर्छौं हामी।
त्यसका आधारमा प्रतिस्पर्धा गर्ने हो। होइन भने त फ्ल्याटमा सबै कम्पनी बराबर नै हो ?
बराबर नै हो।
कोरोना बीमा दुःख दिएको छैन, ग्राहककोमा जाँदा ?
त्यो त छ नि। निश्चित नै कुरा उठ्छ। अब जहाँ जाँदा पनि र कुनै कार्यक्रम हुँदा पनि अहिले पनि कुरा उठिरहेकै हुन्छ।
के भनेर टार्ने ?
यसमा त वास्तविक जे हो, त्यही नै हो नि। किन भन्दाखेरी, त्यो हामीले मात्रै चाहेर भएको होइन।
तपाइँहरुले वाकओभर दिनुभएकै थियो ?
हामीले त बीमा रोकेकै हो। सकिँदैन भन्ने कुरा हामीले भनेकै हो।
कोरोना बीमाको प्रोजेक्ट चाहिँ ‘मोर और लेस फेलियर’ भन्ने लेसन नै हो ?
अब महामारीको बीमा संसारमै हुँदैन। नहुनुपर्ने हो। तर के भने अब यदाकदा कहिलेकाहीँ केही हुन्छ कि भनेर प्रयास हुन्छ नि। सायद त्यही भयो त्यो बेलामा। र, त्यसले असर गर्यो।
यो कृषि र बालीको विषय पनि पेचिलो रहेछ हैन ? सरकारले ठूलो अमाउन्ट दिएको छैन। त्यो त यता फेरि प्रोभिजन पनि गर्नुपर्ने होला ? ब्यालेन्ससिटमा पनि हिट गर्ने नै भयो। त्यसो भयो भने त नयाँ पोलिसी बेच्न पनि समस्या होला ? आजको दिनमा चाहिँ तपाइँहरुले पन्छी र कृषिबालीको पोलिसी बेच्न छाडिदिनु भएको हो पूरै ?
होइन। हामीले गरिरहेकै छौँ। हामीले सञ्चालन गर्न अनुमति पाएको चिजमा त हामीले गरिरहेकै छौँ। त्यसका साथसाथै त्योमात्रै होइन, हामीले त्योभन्दा बाहेक पनि गरिरहेका छौँ।
त्यस्तो के–के गर्नुभयो ?
कृषि र बाली बीमा हामीले गरिरहेकै छौँ। विभिन्न स्थानबाट गरेकै छौँ। त्यो त हाम्रो विवरणबाटै थाहा हुन्छ।
तपाइँहरु उधारो बीमा गर्न किन राजी हुनुभयो ?
यस सन्दर्भमा मेरो अलि फरक धारणा छ। म उधारो बीमा गर्दिनँ।
सरकारले दिनुपर्ने प्रिमियत उधारो नै हो नि ?
यही एउटा कुरा समस्या छ। त्यसलाई उधारो भन्ने कि नभन्ने ?
प्रिमियम खातामा आइसकेको थियो। देऊ है भन्दा इन्भेस्मेन्ट गर्न पनि पाउनुहुन्थ्यो ?
त्यतिमात्रै होइन। त्यो बीमाका लागि प्रिमियम नआईकन दाबी पनि तिर्नुपरेको अवस्था छ। त्यो एउटा ठूलो चुनौती नै हो नि। तर के भन्दाखेरी सरकारले घोषणा गरेको र सरकारले नै गर भनेको अवस्थामा हामीले गर्नैपर्यो। र, आउँछ भन्ने आशमा हामीले गरिरहेका छौँ।
आउला ?
आउनुपर्ने हो।
निर्जीवन बीमा कम्पनीहरुको बिजनेस चाहिँ मूलतः सरकारले सुनिश्चित गरिदिएको जस्तो देखिन्छ। थर्ड पार्टी एउटा होला। ऋण लिएपछि घरको बीमा अनिवार्य गर्नुपर्यो, यावत क्षेत्रमा। त्योबाहेक अन्य कहाँ–कहाँ ठाउँ छन्, जहाँ सरकारले अलिकति सघाउँदा केकको साइज बढोस्। हेर्नुभएको होला नि ?
निश्चित नै एउटा कुरा के हो भने यसलाई सम्बन्धित निकायबाट प्रमोट हुनु नै पर्ने हो। किनभने हामीमा बीमाको चेतना छैन। फोर्सफुल्ली नै भइरहेको छ नि। आज चाहिँ कस्तो भन्दाखेरी बीमा गर्ने बीमितहरु बीमकको धाउनुपर्ने हो तर बीमक धाइरहेका छन्। उल्टो भएको छ। केही हदसम्म सवारीसाधनको बीमामा चाहिँ तेस्रो पक्ष बीमामा मात्रै अनिवार्यता छ। त्यो पनि केही प्रमोट चाहिँ गरेको हो। मत भन्छु त्यो मात्रै होइन ‘कम्प्रिहेन्सिभ’मै अनिवार्यता हुनुपर्छ। साथसाथै, अब तपाइँ हामी सबैलाई थाहा छ नि आजको दिनमा पनि यहाँले भनेकै जस्तो यो बैंकमा चाहिँ लोन भएको हकमा मात्रै चाहिँ बीमा बढी भएको छ। अरु त छैन। त्यो पनि सही कुरो हो। यो अट्मोसफियरमा गरिने कुरा हो। हामीलाई त जति समएस्युर चाहिँ क्लाइन्टले तोक्छ, हामीले त्यही आधारमा गर्ने हो। त्यसले गर्दाखेरी हामीलाई त्यो बेलामा अन्डरइन्स्योरेन्स छ कि छैन भन्ने पनि थाहा हुँदैन थियो। जब क्लेम हुन्छ अनि इस्यु हुन्छ फेरि। त्यस्तो अवस्था छ। त्यसैले गर्दाखेरी बीमाको अनिवार्यता भनेको अहिले प्रपर्टी इन्स्योरेन्समै छ। सम्पूर्ण घरहरुलाई बीमा गर्नुपर्छ भन्ने अनिवार्यता भयो भने यो एकदमै राम्रो हुन्छ। कसका लागि ? भन्दाखेरी इन्स्योरेन्स कम्पनीका लागि अथवा बीमितका लागिमात्रै होइन राष्ट्रका लागि नै हुन्छ। यो त अर्थतन्त्रसँग सम्बन्धित छ नि त। हामी यो नसोचौँ कि भूकम्प पनि ८० वर्षपछि आउँछ वा ९० वर्षपछि आउँछ भन्ने होइन। भूकम्पले मात्रै क्षति गर्ने होइन नि त। नेचुरल डिजास्टर भनेको त जे पनि हुन सक्छ। आगलागी हुन सक्दैन ? कुनै कारणले क्षति हुन सक्दैन र ? त्यो कसलाई घाटा ? राष्ट्रलाई घाटा हो नि। त्यो चिजलाई सोचेर यसलाई अनिवार्य नै गर्नुपर्छ। त्यो भयो भने कस्तो हुन्छ भने राष्ट्र अथवा सरकारले यसको क्षति व्यहोर्नुपर्दैन। त्यसैले बीमाको अनिवार्यता छ।
सम्पत्ति बीमा स्थानीय तहहरुमार्फत अनिवार्य गरिनुपर्यो होइन ?
अनिवार्य गरिनुपर्छ।
मास स्केलमा बिजनेस आउने भएपछि ट्यारिफ पनि घटाइदिनुहुन्छ होला नि ?
निश्चित रुपमा घट्छ। तपाइँ हामी कुनै एउटा सामान किन्न जाँदाखेरी होल्सेल र थोकमा फरक पर्छ नि। निश्चय नै पर्छ किनकि क्षति भनेको त एकैचोटी सबैको हुने होइन नि त। बीमा भनेको के ? सबैबाट उठाएर एउटालाई तिर्ने होइन नि।
कति प्रतिशतसम्म ट्यारिफ घटाउन सकिन्छ ? मानौं, ए भन्ने स्थानीय तहले मेरो क्षेत्राधिकारभित्रका सबै घरको बीमा अनिवार्य गराउँछु। त्यस्तै परे प्रिमियममा म पनि सहभागी भइदिन्छु भन्यो भने त त्यो एरियामा तपाइँहरुले अहिले ‘एग्जिस्टिङ पोलिसी’हरु बेचिरहनुभएको थियो भने लार्ज स्केलमा बिजनेस आउँछ। कति प्रतिशत घटाइदिन सकिन्छ ?
निश्चित नै अहिले तपाइँ हेर्नुहोस् न हाउसहोल्डमा एउटा घरको प्रिमियम कति नै छ र ? एक करोडसम्मको घरको प्रिमियम कति नै छ र ? ५ हजार रुपैयाँ छ। अझ त्योभन्दा कम समएस्युर राखियो भने त अझ कम हुन्छ। अझ यदि मासमा गयो भने प्रतिशतमा ठ्याक्कै नसकिएला तर मोटामोटी १०–१५ प्रतिशत घट्न सक्ला नि।
त्यो भयो भने ठूलो बिजनेस पनि आउने भयो र रिस्क पनि बढ्ने भयो ?
यो मेरो अनुमान हो। किनभने यसलाई क्याल्कुलेट त गर्नैपर्छ। तर मैले भने भोलुममा आयो भने घट्छ। आज हामी त्यही ठाउँमा चाहिँ विभिन्न किसिमले बिजनेसको प्रमोसन गरिरहनुपरेको छ भने त्यो खर्च बच्छ नि त। होइन र ? त्यो खर्चका आधारमा हो नि त यसको क्यालकुलेसन हुने त।
तपाइँहरु स्थानीय तह तिर दौडधुप गरिरहनुभएको छ। सचेतनाका नाममा वा अरु नाममा बिजनेसको केक साइज बढाऔँ भन्दै। त्यहाँको रेस्पोन्स चाहिँ कस्तो आइरहेको छ ?
यस्तो छ, अहिले रेस्पोन्स चाहिँ राम्रै छ। तर, त्यो रेस्पोन्सको इम्प्लिमेन्ट चाहिँ भएन, भइरहेको छैन। सबै हुन्छ भन्छन् तर गरिरहेको चाहिँ पाइरहेको छैन।
बोध गरेपछि त त्यसलाई इम्प्लिमेन्टेसन लैजान अहिले सजिलो होला ?
त्यो त निश्चय नै हो नि।
नेपाल सरकारले केही समयअगाडि मात्रै सबै सार्वजनिक संरचनाहरुको बीमा गराउँछौँ भनेर अध्ययन समिति बनाएको छ। मानौँ त्यो समितिले रिपोर्ट दिएपछि सरकारले देशभरका सबै सार्वजनिक संरचनाहरुको बीमा गराइदिन्छौँ भन्यो भने तपाइँहरुको तयार के हो ?
हामी त पहिले नै तयार छौँ नि।
पोलिसीको हिसाबले, रिस्कको हिसाबले ?
सबै हिसाबले, टेक्निकल सबै हिसाबले त हामी तयार छौँ। आजको दिनमा हामी त योमात्रै बिजनेस लिन्छौँ भनेर आएका होइनौँ। निश्चित नै भोलुम बढ्ला। भोलुम बढ्दाखेरी बढ्ने भनेको र बढाउनुपर्ने भनेको हाम्रो एउटै मात्रै क्षेत्र के हो भन्दा मानवस्रोत। अरु चिज त हामीसँग छ त।
जोखिम बोक्नसक्ने पूरै क्षमता छ ?
एकदमै छ।
सिंहदरबारको बीमा गर्छु भनेर सरकारले भन्यो भने त्यो कसरी एक्जिक्युट हुन्छ ठ्याक्कै ?
त्यसको त पहिलो कुरा त पोलिसीमै हुन्छ। हामीले पोलिसी इस्यु गरिसकेपछि त्यो त स्वतः कार्यान्वयनमा आइहाल्छ नि। एक्जिक्युट हुनलाई त पहिलो कुरा प्रस्ताव आउनुपर्यो। त्यो प्रस्ताव फाराम हामीकहाँ आइसकेपछि अनि हामी जोखिमको मूल्यांकन गर्छौं।
आजका दिनमा तपाइँहरुले बेच्ने पोलिसीहरुमध्ये सर्वाधिक प्रोफिटेबल पोलिसी चाहिँ कुन प्रकृतिका छन् ? अनि यो चाहिँ समाज सेवा धेरै नभए पनि अपरेसन कस्ट धान्छ वा घाटामा पनि फलानो छ भने केही छुट्याइएको हुन्छ ?
आजसम्म हामीले गरेको, गरिराखेको वा भनौँ न अझ विशेषगरी मेरो आफ्नै कम्पनीको आधारमा भन्नुपर्छ। प्रोफिटेबलभन्दा पनि क्लेम कम पर्ने, हुन्छ छ नि कुनै पनि डिजास्टर आएर होला, अर्कै कुरा हो। सम्पत्ति बीमा हो। त्यो पनि नाफामूलक नै छ। र, अर्को मोटर बीमा गर्छाैं हामी। त्यो पनि नाफामूलक नै छ। यदि नाफा नहुँदो हो त हामीले इन्स्योरेन्स कम्पनी सञ्चालन गर्न नै कठिन हुन्थ्यो।
अहिलेको अवस्थामा मोटर बीमा नै बढी प्रोफिटेबल हो ?
हो, मोटरकै छ त। अहिले हेर्ने हो भने नेपालमा मोटर बीमा नै बढी छ। थेगेकै उसैले हो। सबैको पोर्टफोलियो हेर्नुहोस् न। पोर्टफोलियो त मोटरको नै बढी छ नि त।
तर, तपाइँहरुचाहिँ ठूल्ठूला प्रोजेक्ट हाइड्रो वा कता आउँछ अलि–अलि कटिङ गरेर झ्याप्प पैसा उठाउनतिर बढी दौडिनुहुन्छ भन्ने सुनिन्छ नि ?
त्यस्तो होइन। हामी क्लेमलाई पनि ध्यान दिन्छौँ। आज रिस्क लिएरमात्रै हुँदैन। किनभने प्रिमियम त कति नै हुन्छ र ? समएस्योर हेर्नुहोस् त। त्यसलाई सोचेर कहिले–काहीँ सुत्ने हो भने सुत्नै सकिन्न। अनि बिजनेस क्षणिक ल्याएर हुन्छ र ? भोलि त्यो दायित्व बोकेको हो नि त। त्यही सबै दायित्व त लिन सकिँदैन। पुनर्बीमामा पठाउनै पर्यो। हामीले स्वीकार गरेर हुन्छ र ? पुनर्बीमाले भोलि स्वीकार गर्दैन।
हाइड्रोमा त धेरै त्यही समस्या आयो है ?
त्यही नै छ। यहाँको अवस्था सबै तपाइँ हामीले स्वीकार गरेर हुँदैन क्या।
हाइड्रोवालाहरुसँग तपाइँहरुको ट्यारिफको लफडा पनि टुंगिएको छैन क्यार अझै ?
त्यो टुंगिने प्रक्रियामै छ। कुरा भइरहेको छ। ट्यारिफ त एउटा निर्धारित छ नै।
अनि यो आन्दोलन, धर्ना, ज्ञापनपत्र बुझाएर ट्यारिफ निर्धारण गर्ने हो कि प्रिन्सिपलमा टेक्ने हो भन्ने प्रश्न पनि उठ्यो नि ?
त्यो त सही कुरा हो। मैले भनेँ नि जोखिम र क्षमताका आधारमा गर्ने हो। मैले अघि नै भनेँ नि इन्स्योरेन्स गर्छु मात्रै भनेर हुँदैन नि त। आज त्यो पोलिसी हामीले स्वीकार गरेर के गर्ने ? भोलि दाबी भुक्तानी गर्न सक्नुपर्यो नि। त्यो क्षमता हुनुपर्यो नि त। त्यो क्षमताको आधारमा पो त इन्स्योरेन्स हुने हो त। आज कुनै काम सजिलै गर्छु भनेर भएन। उसले दायित्व व्यहोर्न सक्नुपर्यो। कारण त्यो हो नि। नत्र त कि आफ्नै हुने हो भने त १० प्रतिशत माथि १० प्रतिशत तल होला। यदि नाफा हुने हो भने त गर्न सकिहालिन्छ नि।
त्यसकारण हाइड्रो चाहिँ अलि पेचिलो भयो ?
जटिल छ।
चाँडै टुंगिन्छ ?
टुंगिहाल्छ नि। समस्या हो नि। समाधान भइहाल्छ नि।
तर, लामो समय भयो नि त उछलकुद गरेको ?
भइरहेको छ। साथीहरु सबै छलफलमा छन्। चाँडै टुंगिएला।
आजको दिनमा यहाँ मेडिकल इन्स्योरेन्सको मार्केट चाहिँ कस्तो हो ?
यो चाहिँ तपाइँले गज्जबको प्रश्न गर्नुभयो। इन्स्योरेन्स एकदम आवश्यक हो र भइरहेको पनि छ। तर, इन्स्योरेन्स कम्पनीहरु चाहिँ ‘लस’मा छन्।
किन ‘लस’को प्रडक्ट बेचेको हो, त्यसो भने ?
यस्तो हो, इन्स्योरेन्स गरिसकेपछि प्रफिटमात्रै हेरेर पनि हुँदैन। लसलाई पनि व्यहोर्न सक्नुपर्छ।
मास स्केलमा गर्न नसकेर लस भएको हो ?
सम्भवतः त्यो हो या टेक्निकल्ली कहीँ कतै कमजोरी भयो।
त्यो भनेको फ्रड क्लेम धेरै आयो ? क्यास पेमेन्ट धेरै गर्नुहुन्छ क्यारे ?
त्यो पनि हो। म फ्रड क्लेम छैन भन्दिनँ। तर, त्यसलाई चाहिँ पहिचान गर्न गाह्रो छ।
संयन्त्र छैन ?
छैन नि, संयन्त्र।
अनि तपाइँहरु करोड करोडको बीमा गराइदिनुहुन्छ। अनि एसिस्मेन्ट अन्डरराइटिङ गर्नुपर्दैन, यो मान्छे पहिल्यै रोगी थियो कि भनेर ? हस्पिटलबाट आएका बिलहरु मिलेमतोमा आए कि भनेर हेर्नुपर्ला नि त ?
हाम्रोमा हेल्थ इन्स्योरेन्स गर्दाखेरी त्यस्तो किसिमको वातावरण हुँदैन। हामीले सोध्नुपर्ने र गर्नुपर्ने सबै गर्छौं। पहिले नै क्रमशः चेकअप गराएर प्राक्टिकल्ली त्यो सम्भव हुँदैन। मैले भनिहालँे नि इन्स्योरेन्स अल्मोस्ट गुड फेथका आधारमा गर्ने हो। को मान्छे रोगी थियो ? को मान्छे रोगी थिएन ? सबैलाई क्रमशः चेकअप गराएर इन्स्योरेन्स गराएर साध्यै हुँदैन। कस्ट पनि थोरै हुन्छ। प्रिमियम पनि कति छ र ? तर, त्यो रेसियोमा अब मैले भनिहालेँ नि कसैलाई दोष लगाउने कुरा हुँदैन, क्लेमको रेसियो हाई भइदियो क्या। त्यो भएर सोच्नुपर्ने भयो।
यो एकदम पोटेन्सियल देखिँदै गरेको हाम्रो मार्केट, किनभने हाम्रो जीवनशैली, रहनसहन र खानपान यो एरियामा तपाइँहरुका लागि ठूलो स्कोप छ भनेर देखाउँछ। तर, आजका दिनसम्म यो प्रडक्ट लस मेकिङ प्रडक्ट हो भनिसकेपछि यसको यो अपरच्युनिटीलाई ग्रयाब गर्ने उपाय पनि त होला ?
अब बीमालाई चाहिँ बुझाउन जरुरी छ पहिलो कुरा। यो मुख्य कुरा हो। बुझाउन जरुरी छ भने बुझ्न पनि जरुरी भयो। र, यसलाई चाहिँ एउटा मेकानिजम बनाउनु पर्यो क्या। समाजमा चेतना फैलाइसकेपछि दक्ष जनशक्तिहरु चाहिँ उत्पादन गर्न सक्नुपर्यो। मुख्य चुनौती त त्यो हो नि। दक्ष जनशक्ति उत्पादन हुन सक्यो र मेकानिजम बनायो भने त्यही आधारमा यसलाई प्रचार–प्रसार गर्न सक्यो र सत्यतथ्य कुरा चाहिँ ल्याउन सकियो। यदि कसैले गलत गर्यो भने गल्ती गर्नेलाई कारबाही पनि हुनुपर्यो, दुवै पक्षलाई। यदि कम्पनीले गरेको छ भने कम्पनीलाई र यदि व्यक्ति वा संस्थाले गल्ती गर्यो अथवा दाबीकर्ताले गल्ती गर्यो भने उहाँहरुलाई पनि कारबाही हुनुपर्यो।
सञ्चित सर ! बिल बुझेर क्यास पेमेन्ट गर्ने प्रणालीका कारणले अलि बढी क्लेम आयो कि ? त्यसो हो भने त्यो हस्पिटललाई नै तपाइँहरुले पेमेन्ट गरिदिने, स्वाथ्य बीमाको मोडल (पेमेन्टको मोडल)मात्रै। त्यो भयो भने अलि सजिलो हुन्थ्यो होला कि ?
त्यो हामीले समएस्योरका आधारमा अहिले पनि गरिरहेका छौँ। हामीले क्यासलेस भनेर विभिन्न हस्पिटलहरुसँग एग्रिमेन्ट गरेर गरिरहेका पनि छौँ। त्यो ठीकै गइरहेको छ तर त्यतिले पुगेन क्या।
के–के पुगेन ?
मैले अघि नै भनिहालेँ नि। एउटा मेकानिजम बनाउनुपर्यो। कार्यविधि पनि हुनुपर्यो र सेक्टर एउटा तोक्नुपर्यो। अनि दक्ष जनशक्ति पनि उत्पादन गर्न सक्नुपर्यो। अनि त्यही आधारमा प्रचार–प्रसार गरेर अगाडि बढ्नुपर्यो।
भविष्य चाहिँ स्वास्थ्य बीमाको छ ?
त्यो छ नि। जरुरी पनि छ नि। हाम्रो देशमा पो छैन। अरु देशमा त स्वास्थ्य र शिक्षा निःशुल्क छ नि। अनि यहाँ किन हुन नसक्ने ?
निर्जीवन बीमा कम्पनीहरुका लागि पनि व्यापार गरेर कमाउने ठूलो ठाउँ, त्यो हुने भयो ?
त्यसले सबैलाई फाइदा गर्छ। निष्पक्ष भयो भने सबैलाई फाइदा गर्छ।
तर, स्वास्थ्य बीमा बोर्डमार्फत सरकारले अर्को प्रडक्ट चलाइरहेको छ। ईपीएफ र सीआईटीका आ–आफ्ना प्रडक्ट छन्। ठूलो व्यापार त्यता गएको छ, तपाइँहरु हेरेर बसिरहनुभएको छ ?
कसैले आ–आफ्नो तरिकाले वा कसै हिट नगरीकन सर्भिस दिइरहनु भएको छ भने हामी त को हौँ र बोल्नलाई ?
तर, बीमा भनेपछि बीमा कम्पनीहरुमार्फत आउने पर्यो र त्यहाँ हुने फ्रडहरु रेगुलेटरले हेर्नु पनि पथ्र्यो होला ?
हुनुपर्ने त्यही हो। तर, कतिपय अवस्थामा बीमा नभनीकन उहाँहरुले स्वास्थ्य उपचार खर्च भनेर दिइरहनुभएको छ भने बोल्न मिलेन।
गुड फेथबाट कुरा गर्दा त्यो बिजनेस पनि यता ल्याउन सकिन्थ्यो होला ?
त्यो सही कुरा, बीमा भनेर आइसकेपछि यता आउनु नै पर्यो। त्यो भयो भने उहाँहरुलाई बर्डन हुँदैन नि त।
तपाइँहरुले सरकारको स्वास्थ्य बीमाको जुन प्रोजेक्ट छ, त्यसलाई जस्ताको तस्तै टेकओभर गरेर यस्तै सर्भिस दिने अवस्थामा हुनुहुन्छ कि हुनुहुन्न ?
स्वास्थ्य बीमा त हामीले गरिरहेकै छौँ नि।
होइन, सरकारले जुन प्रडक्ट, जति प्रिमियम लिएर र जुन तहको सेवा दिएको छ, त्यही चिज सर्लक्कै ट्रान्सफर गरी बजेट पनि आयो बीचमा। आजको दिनमा सम्भव छ त ?
मैले भनेको त्यसका लागि चाहिँ हामीलाई दक्ष जनशक्तिको पनि आवश्यकता पर्छ। विभिन्न नियमहरुको पनि आवश्यकता पर्छ। मेकानिजम पनि बनाउनुपर्छ। त्यो भयो भने सकिन्छ।
त्यही प्रिमियममा त्यही तहको सेवा दिन तपाइँहरु तयार ?
प्रिमियममा सकिन्छ। यसका लागि फियरनेस चाहिन्छ। तपाइँ हाम्रै परिवारमा वर्षमा कतिजना बिरामी पर्नुहुन्छ ? कहिले काहीँ कोही अलिकति क्रिटिकल हुन्छन् तर कमै हुन्छन् नि। त्यही त मैले भने नि मेकानिजम बनाउनुपर्छ।
मेकानिजम चाहिँ कस्तो बनाउँदा त्यसले प्रभावकारी ढंगले काम गर्न सक्छ ?
फियरली हुनुपर्यो। हरेक कुरालाई टु दि प्वइन्ट छुट्याउनुपर्यो। कस्तो प्रकृतिको बीमा हुन्छ, त्यसलाई पनि आधार मान्नुपर्यो। मुख्य कुरा त त्यो हो नि त। त्यसलाई छुट्याएर, त्यसलाई पहिचान गर्न सक्ने गरी गरियो भने किन हुन सक्दैन ? सकिहाल्छ नि।
त्यो चिज जस्ताको तस्तै गर्न सकिन्छ ?
मुख्य कुरा फियरनेस हुनुपर्यो।
यता पट्टि कि उता पट्टि ?
दुवै पक्षमा हुनुपर्यो।
तपाइँ आफू चाहिँ फियर हुन तयार ?
हामी फियर नै छौँ। नत्र भने हामीले क्लेम किन त्यत्रो तिर्थ्यौं र।
फेरि पनि गाली त खानु भएकै छ ?
यही गज्जब लाग्छ क्या। यो ननलाइफ इन्स्योरेन्स कम्पनीमा चाहिँ एउटा कुरा साँच्चिकै गज्जब लाग्छ। हामीले क्लेम पनि तिरेकै छौँ। अपजस पनि भोगेकै छौँ।
तपाइँको कम्पनीको क्लेम सेटलमेन्ट रेसियो दिनमा कति हो ? भन्दिनु त ? इन्डस्ट्री एभरेजमा त्यो हायर हो कि लोअर हो वा मिडियम हो ?
मिडियम छ हाम्रो।
कति प्रतिशत ?
सेटलमेन्ट त हाम्रो ८०–९० प्रतिशत नै छ। सेटलमेन्टमा हाम्रो समस्या नै छैन।
बाँकी १०–१२ प्रतिशत चाहिँ किन रह्यो ?
त्यो बाँकी रहनुको कारण भनेको डकुमेन्टेसनको पार्ट हो। जुन हाम्रो कारणले होइन। ग्राहकले पनि समयमै डकुमेन्ट त उपलब्ध गराउनै पर्यो नि। त्योबाहेक हाम्रोमा छैन।
मनौँ ए भन्ने बीमितले क्लेम हाल्यो र सबै डकुमेन्ट पूरा गर्यो। सेटलमेन्टको समय चाहिँ तपाइँहरुको कति हो ?
सात दिनभित्र।
स्क्रिनिङ सबै गरेर ?
एकदम सबै भइसकेपछि त्यो सात दिन पनि मैले किन राखेको भने कहिले बिदा पर्ला ? त्यसैले बढीमा सात दिन। कतिपय क्लेममा सञ्चालक समितिको बैठक बस्नुपर्छ। त्यसले गर्दामात्रै हो। सबै डकुमेन्ट आइसकेपछि त रोकिँदै रोकिन्न नि।
तपाइँ बीमा कम्पनीवालाहरु साना–साना क्लेम सेटलमेन्टका लागि पनि केन्द्रमा पठाउँछन्। सीईओदेखि बोर्डसम्म सबैलाई मुछ्छन। साना–साना त तल दिइए चाँडो हुन्थ्यो भन्ने पनि छ नि ?
यस्तो हो। हामीले डिसेन्ट्रलाइज्ड त गरिसकेका छौँ। अब आजका दिनमा त्यो किसिमको अवस्था छैन। एउटा कुरा हो भने जहाँबाट सेटलमेन्ट भए पनि के फरक पर्यो र ?
चाँडो हुन्थ्यो नि त ?
होइन, चाँडो र ढिलो कसरी हुन्छ ? आजको यत्रो आईटीको युगमा, सूचना प्रविधिले यत्रो फड्को मारेको अवस्थामा केही सेकेन्डमै पैसा पेमेन्ट हुन्छ भने ढिला कसरी हुन्छ ? डकुमेन्ट उपलब्ध गराएपछि त भइहाल्न नि। जस्तो मैले यहाँलाई कुनै डकुमेन्ट मागे भने तपाइँले मलाई तत्काल भाइबरमार्फत तत्कालै उपलब्ध गराउन हुन्न।
तर, चेक बुझ्नुपर्ने होला फेरि ?
पर्दैन। डिस्चार्ज भौचर साइन गरे भइहाल्यो नि। त्यो परिपाटी त छँदैछ नि।
तपाइँ तल चाहिँ क्लेम सेटलमेन्टका लागि सर्टेन अमाउन्ट सीमा छ ?
त्यो त छ अहिले पनि। त्यो त भन्नेमात्र हो। ठूलो केसका लागि अनुसन्धान हुनैपर्छ। अनुसन्धान गर्नका लागि मैले भनिहालेँ नि आजको दिनमा नेपालगन्जमा घटना हुन्छ भने काठमाडौंबाट मात्रै सर्भेयर जानुपर्छ भन्ने छैन नि नेपालगन्जमै पनि हुन्छ नि। अखिर कुरा त्यही डकुमेन्टेसनको आयो होइन। एउटा कुनै कुरियरबाट अहिले हालिदियो भने बेलुका पुग्छ नि।
त्यसो हो भने ए भन्ने कम्पनी, बी भन्ने कम्पनी, सी भन्ने कम्पनी र अन्तिम डी भन्ने कम्पनी प्रभु इन्स्योरेन्स। यो छान्न चाहिँ बीमितले के हेरेर छान्ने ?
मैले भनिहालेँ नि सर्भिस।
जम्मा ?
सर्भिस नै हो नि। त्यो सर्भिसकै आधारमा छान्ने हो। किनकि ननलाइफको प्रडक्ट एउटै हुन्छ। ट्यारिफ एउटै। सबै कुरा उस्तै छ भनेपछि अब त्यसमध्ये पनि उत्कृष्ट त छान्नुपर्यो नि। उत्कृष्ट भनेको सर्भिस नै हो। भनेको उसले चाहेको बेला कम्पनीले सेवासुविधा दिएको छ कि छैन। जसले पनि खोज्ने त त्यही त हो नि। आज मलाई यहीँ बसेर कसैले सामान ल्याइदिन्छ भने त्योभन्दा अलिकति राम्रो लिन तर म कुनै ठाउँमा जानुपर्छ तर उसले मलाई यहीँ ल्याइदिन्छ भने म सन्तुष्ट हुन्छ नि। सन्तुष्टिको कुरा हो नि त।
सभिर्सकै कारणले प्रतिस्पर्धा हुन्छ भन्ने मान्ने हो भने त तपाइँ डोर टु डोर पुग्नुपर्यो ?
पर्यो। त्यो त गर्नु नै पर्यो। आजकलको सोसल मिडियाहरु प्रयोग गर्नुपर्यो, इन्स्योरेन्सका लागि। यहाँहरुजस्तो मिडियालाई पनि हामीले सदुपयोग गर्नुपर्यो। यहाँहरुको पनि भूमिका रहन्छ। किनकि हामी डोर कम पुग्छौँ। तर, जस्तो अहिले हामीले यहाँ बोल्यौँ। यो त संसार पुग्छ नि त। डोर डोर, घर–घरै सबै ठाउँ पुग्छ। त्यो महत्वपूर्ण कुरा हो।
तपाइँ अझै प्रस्टताका साथ भन्नुहोस्। यत्तिका च्वाइसहरुमध्ये एउटा बीमितले म मेरो घरको बीमा गर्छु। सम्पत्ति बीमा गर्छु, ऋण लिएबापत होइन। भोलि भूकम्प आउला ? ऊ दौडेर चाहिँ किन आउने तपाइँकोमा ?
ऊ निर्धक्क रहनका लागि। त्यसै भएर हाम्रो स्लोगन नै छ नि ‘प्रभुमा बीमा गरौँ, निर्धक्क रहौँ’। त्यसैले निर्धक्क रहन। यहाँ बीमा गरिसकेपछि बिना झन्झट यदि क्षति भएको खण्डमा क्षतिपूर्ति पाइन्छ। एउटा कुरा। उहाँलाई बीमा गराउन पनि सहजता दिन्छ। केही सेकेन्डमै। हाम्रो मोबाइल एप छ। कार्यालयमै आइराख्नुपर्दैन अहिले। हिँड्दाहिँड्दै मोबाइलबाटै हाम्रो पोलिसीहरु इस्यु हुन्छ। त्यतिसम्म सुविधा छ। प्रविधिको हामीले भरपूर प्रयोग गरेका छौँ। तपाइँलाई अहिले कुनै चिजको बीमा गर्नुपर्यो भने तपाइँले अहिले हाम्रो प्रभुको मोबाइल एपबाटै सबै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तपाइँले केको बीमा गर्न खोजेको हो ? त्यसको प्रिमियम कति पर्छ ? तपाइँलाई चाहिएको के हो ? सबै उपलब्ध छ।
त्यो त बीमा गर्ने बेलाको कुरा भयो। क्लेम गर्ने बेलामा नि ?
त्यसमा पनि छ नि।
जको दिनमा कुनै सानो–सानो क्लेम मैले मोबाइलबाटै पोलिसी किनेको थिएँ, भोलि क्लेम गर्दा त्यसैगरी मेरो खातामा खुत्रुक्क पैसा आयो भन्ने अवस्था छ ?
त्यो त भइहाल्छ नि। मैले भनिहालेँ नि डकुमेन्ट चाहिँ चाहियो। किनकि प्रमाणित चाहिँ जे पनि हुनुपर्छ। भोलि हामीले हचुवाको भरमा दियौँ र कहीँकतै गल्ती भयो भने फेरि त्यसको जबाफदेही त हामी नै हुनुपर्छ। यो त पब्लिक कम्पनी हो। पब्लिकको पैसा हो नि। पब्लिकले हामीलाई सोध्छ नि त। त्यो चिजलाई हामी बिर्सिनु हुँदैन। हामीले त्यो पनि त सोच्नुपर्यो नि। त्यही भएर प्रमाण चाहिँ चाहियो।
त्यति भयो भने भौतिक रुपमा कार्यालयमा उपस्थिति हुनु परेन ?
पर्दैन। किनकि भोलि त त्यही ठाउँमा नियमनकारी निकायदेखि विभिन्न सरोकारवाला संस्थाहरु त आउँछन्। अनि त्यही चिज हामीले सजिलो दियौँ भने फेरि त्यही कुरा उठ्छ। ए यो तैंले कसरी दिइस् ? त्यो चिज चाहिँ हामीले बोल्न सक्नुपर्यो, जबाफ दिन सक्नुपर्यो।
अन्त्यमा अझै केहि कुरा थपौँ भन्ने छ भने भन्नुहोस्।
जुन कुरा मैले यहाँ आएर भन्न पाएँ, यो मेरा लागि र बीमा क्षेत्रका लागि ठूलो कुरा हो। त्यसका लागि तपाइँहरुलाई धन्यवाद। मैले हरेक अन्तर्वार्तामा भन्दै आएको एउटा कुरा छ, त्यो के हो भने बीमालाई शिक्षामा समेट्नुपर्छ। शिक्षामा पनि युनिभर्सिटी लेभलमा मात्रै होइन। युनिभर्सिटीमा मात्रै भयो भने निश्चित व्यक्तिले मात्रै बीमाबारे बुझ्छ। त्यो होइन। प्राथमिक तहदेखि नै बीमाका बारेमा बुझाउनका लागि बीमा शिक्षा जरुरी छ। त्यो चाहिँ एकदमै जरुरी छ र म अनुरोध पनि गर्छु।