काठमाडौं । चुक्ता पूँजी वृद्धिका लागि बीमा कम्पनीहरुबीच मर्जरका कारण मर्जर अघि २० वटाको संख्यामा रहेका निर्जीवन बीमा कम्पनीहरु मर्जर पछि १४ वटामा सीमित भएका छन् । मर्जरकै कारण जीवन बीमा कम्पनीहरुको संख्या १९ बाट १४ मा झरेको छ।
बीमा कम्पनीहरु आपसमा गाभिएसँगै शाखा उपशाखा सञ्जालहरुमा पनि संकुचन देखिएको छ। बीमकले एउटै भूगोल क्षेत्रलाई लक्षित गरी सञ्चालनमा ल्याइएका शाखा उपशाखा कार्यालयलाई प्राथमिकताका आधारमा आपसमा गाभेका छन् । व्यवसायीक रुपमा कमजोर प्रमाणित भएका क्षेत्रको कार्यालयहरु बन्द गरेका छन् ।
मर्जरका कारण शाखा सञ्जाल खुम्चिएकै समयमा देशको आर्थिक अवस्थामा देखिएको शिथिलताले पनि शाखा सञ्जाल खुम्च्याउन दबाब सिर्जना गरेको छ। बीमा व्यवसायको वृद्धि दर २० देखि २५ प्रतिशत रहँदासम्म कमजोर शाखा उपशाखाको खर्चलाई वृद्धि दरले थेगेको थियो । अहिले वास्तविक व्यवसाय वृद्धिदर ऋणात्मक अवस्थामा छ। यस्तो अवस्थाले बीमकलाई खर्च कटौतीको विकल्पबारे सोच्न बाध्य बनाएको छ। खर्च कटौतीको विकल्पका रुपमा व्यवसायीकरुपमा कमजोर शाखा र उपशाखा कार्यालयहरु परेका छन् । तिनमा कार्यरत कर्मचारी पनि सँगसँगै व्यवस्थापनको निशानामा परिरहेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत पौष मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीका समेत गरी देशभर कूल २ हजार ८६८ शाखा उपशाखा सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा कूल ३ हजार २४८ शाखा उपशाखा सञ्चालनमा थिए । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९।८० को पौषसम्मको तुलनामा चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा शाखा सञ्जाल संख्या ११.७ प्रतिशतले घटेको छ। २०७६।७७ को पौष मसान्तमा कूल २ हजार ८४६ वटा शाखा रहेकोमा आव २०७७।७८ को पौषसम्मा १५.२१ प्रतिशतले बढेर ३ हजार २७९ पुगेको थियो । यो संख्या २०७८।७९ को पौष महिनामा आइपुग्दा करिब १ प्रतिशतले घटेर ३ हजार २४८ वटा कायम रहेको थियो ।
मर्जरमा गएका कम्पनीले शाखा आपसमा गाभेकै छन्, मर्जरमै नगएका कम्पनीले पनि सञ्चालन खर्च कटौती गर्ने उपायका रुपमा शाखाहरु बन्द गरिरहेका छन् । यी दुबै कारणमध्ये जुनसुकै कारणले शाखाहरु बन्द भएपनि यसको प्रत्यक्ष असर त्यस क्षेत्रका बीमित, अभिकर्ता र त्यहाँ कार्यरत कर्मचारीमा पर्न गएको छ।
प्राधिकरणका अनुसार आव २०७७।७८ को समीक्षा अवधिमा बीमा कम्पनीले कूल ११ हजार ७०३ जनालाई प्रत्यक्ष रोजगारी दिएकोमा चालू आवको पौषसम्ममा आइपुग्दा यो संख्या ११ हजार ४९८ मा सीमित हुन पुगेको छ। समग्रमा जनशक्तिको संख्या दुई वर्षको अवधिमा जनशक्ति २०५ ले घटेको छ। कूल कार्यरत जनशक्ति जम्मा १.७ प्रतिशतले खुम्चिए पनि स्थायी र मध्यम तथा उच्च तहका कर्मचारीको संख्या घटेको र तल्लो तहका कर्मचारीको संख्या थपिएकाले संख्यात्मक रुपमा थोरै प्रभाव देखिएको छ। मर्जरका कारण अधिक जनशक्तिको समस्या समाधानका लागि केही कम्पनीले स्वेच्छिक अवकाश योजना लागू गरेकोमा केही कम्पनीले कर्मचारीलाई निरुत्साहन गर्दै राजीनामा दिन बाध्य बनाउने नीति लिएका छन् ।