काठमाडौं । भारत र कतारबीच मंगलबार महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौता आगामी २० वर्षका लागि भएको र यसको कुल लागत ७८ अर्ब डलर रहेको छ।
कतारले सन् २०४८ सम्म भारतबाट तरल प्राकृतिक ग्यास (एलएनजी) खरिद गर्नेछ। भारतको सबैभन्दा ठूलो एलएनजी आयात गर्ने कम्पनी पेट्रोनेट एलएनजी लिमिटेड (पीएलएल)ले कतारको सरकारी कम्पनी कतार इनर्जीसँग यो सम्झौता गरेको छ। यो सम्झौताअनुसार कतारले प्रत्येक वर्ष ७५ लाख टन ग्यास भारत निर्यात गर्नेछ।
यो ग्यास बिजुली, मल बनाउन र सीएनजीमा परिणत गर्न प्रयोग गरिन्छ। गोवामा चलिरहेको इन्डिया इनर्जी विक २०२४ को पहिलो दिन मंगलबार यो सम्झौतामा हस्ताक्षर भएको हो। यो सम्झौता अहिलेको सम्झौताभन्दा निकै कम मूल्यमा भएको हुनाले पनि यो सम्झौता निकै महत्वपूर्ण रहेको बताइएको छ।
पेट्रोनेट एलएनजीले आफ्नो विज्ञप्तिमा दुई देशबीच सन् १९९९ जुलाई ३१ मा ग्यास आयात गर्ने सम्झौता भएको थियो। जुन सन् २०२८ सम्मका लागि थियो। अब यो सम्झौता २० वर्षको लागि गरिएको छ। जुन २०२८ देखि सुरु हुनेछ। ग्यास कति मूल्यमा खरिद गरिने भन्नेबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन तर हालको सम्झौताभन्दा यसको मूल्य कम हुने बताइएको छ।
अंग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’का अनुसार यो नयाँ सम्झौताले आगामी २० वर्षमा करिब ६ अर्ब डलर बचत गर्नेछ। पेट्रोनेटले दुईवटा सम्झौताअन्तर्गत कतारबाट वार्षिक ८५ लाख टन एलएनजी आयात गर्छ।
दुई देशबीच पहिलो सम्झौता २५ वर्षअघि भएको थियो जुन सन् २०२८ सम्म मान्य थियो। यसलाई २०४८ सम्म थप २० वर्ष विस्तार गरिएको छ। एक एमटीपीएका लागि अर्को सम्झौता २०१५ मा हस्ताक्षर गरिएको थियो।
कतार विश्वको सबैभन्दा ठूलो एलएनजी निर्यातकर्ता हो। तर हालै अमेरिकाले उछिनेको छ। कतारले वार्षिक ७७ एमटीपीए ग्यास उत्पादन गर्छ। जसलाई सन् २०२७ सम्ममा १२६ एमटीपीएमा पुर्याउन चाहन्छ। ता कि अमेरिका प्रवेश गर्न खोजिरहेको एसिया र युरोपमा आफ्नो पकड बलियो बनाउन सकोस्।
भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता हो। भारत सन् २०७० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको छ। जसमा प्राकृतिक ग्यासले महत्त्वपूर्ण भूमिका खेल्छ। यस प्रयासअन्तर्गत भारत सरकारले २०३० सम्ममा देशमा प्राकृतिक ग्यासको प्रयोगको अंश ६.३ प्रतिशतबाट १५ प्रतिशतमा पुर्याउन चाहन्छ।
भारत र कतारबीच एलएनजीसम्बन्धी यो सम्झौता एक्स सिप बेसिस (डीईएस) मा भएको हो। जुन जहाजबाट बन्दरगाहसम्म पुग्नेछ। सन् १९९९ मा भएको सम्झौता फ्री अन बोर्ड (एफओबी) आधारमा भएको थियो भने सन् २०२८ देखि सुरु हुने सम्झौता डीईएसको आधारमा भएको थियो।
डीईएसअन्तर्गतको सम्झौताले यसको लागत घटाउँदैछ किनकि एफओबीमा ग्यास खरिदकर्ताले ढुवानीका लागि प्रबन्ध गर्दछ। जब कि डीईएसमा जिम्मेवारी बिक्रेताको हुन्छ।
भारतीय ग्यास आयात गर्ने कम्पनी पीएलएल ओएनजीसी, इन्डिया आयल, गेल र भारत पेट्रोलियमको संयुक्त लगानी हो। पीएलएलको गुजरातको दहेजमा टर्मिनल छ। जहाँ जहाजबाट ग्यास आउँछ र त्यसपछि विभिन्न पेट्रोलियम कम्पनीहरुमा वितरण गरिन्छ।
पेट्रोनेट एलएनजीले कतार इनर्जीसँगको सम्झौताले उर्वरक, शहरी ग्यास वितरण, रिफाइनरी र विद्युत उत्पादनजस्ता उच्च उपभोग गर्ने क्षेत्रहरूमा ग्यासको निर्वाध आपूर्ति सुनिश्चित गर्ने जनाएको छ। –एजेन्सी