काठमाडौं । निजी हवाई उडान सेवा प्रदायक यति एयरलाइन्सले बंगलादेशबाट भित्र्याउन लागेको दुईवटा एटिआर ७२ विमानलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले दर्ता नम्बर उपलब्ध गराएको छ। प्राधिकरणबाट यति एयरले ‘नाइनएन–एओएफ’ र ‘नाइनएन–एओएच’ दर्ता नम्बर पाएको एभिएशनइननेपाल अनलाइनले उल्लेख गरेको छ ।
हालै मात्र एशियन लाइफ इन्स्योरेन्सलाई मुख्य साझेदारका रुपमा भित्र्याएको यति एयरलाइन्सले हवाई सेवा बिस्तारको योजना सहित बंगलादेशी हवाई सेवा कम्पनी नोभो एयरले प्रयोगमा ल्याएको दुईवटा विमान खरिदको सम्झौता गरेको थियो । नोभो एयरले आफ्ना दुई वटा विमान बेलायतको एयरस्ट्रिम इन्टरनेशनलमार्फत् बिक्री गरेको हो।
नोभो एयरले बिक्री सम्झौता गरेका दुई एटिआर ७२ अन्तर्गतको ५०० सिरिजका विमानहरुको एमएसएन अर्थात् उत्पादकको श्रृखला नम्बर ८०५ र ८१६ भएको यी S2AHG र S2AHH दर्ता नम्बरमा बंगलादेशमा उडान गर्दै आएको थियो । यीमध्ये ८०५ को पहिलो उडान २००८ को नोभेम्बर २० तारेख अर्थात् १५ वर्ष २ महिना अघि भएको थियो । यसैगरी ८१६ ले सन् २०१० को अप्रिल २२ मा पहिलो उडान भरेको थियो । यो विमानको १३ वर्ष ७ महिना पुरानो हो ।एयरस्ट्रिम इन्टरनेशनलको आधिकारिक वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले यी दुई जहाजमध्ये एमएसन ८०५ विमान अझै पनि बिक्रीका लागि उपलब्ध छ।