IME Life
GBIME

बजारबाट पैसा तानेको तान्यै गर्दा माघदेखि निक्षेपसँगै कर्जाको ब्याजदर सस्तिँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंकिङ प्रणालीमा अझै पनि लगानीयोग्य रकम (तरलता) थुप्रिएकै अवस्थामा रहेको छ। कर्जा प्रवाह सुस्त गतिमा बढ्नु र निक्षेप बढ्दै जानुले बैंकिङ प्रणालीमा अधिक तरलता फालफाल रहेको छ। तरलता थुप्रिनुले बैंकहरुमा निक्षेप तान्ने उत्साह नदेखिँदा माघमा निक्षेप र कर्जा दुवैको ब्याजदर घट्ने प्रस्ट संकेत देखिएका छन्।

पछिल्लो समय कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन केही बढेकोले बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशतभन्दा तल आएको छ। नेपाल राष्ट्र बैंककै पछिल्लो तथ्यांक हेर्ने हो भने पुस २२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.९६ रहेको छ। ‘कर्जाको माग पछिल्लो समय केही बढे पनि निक्षेप बढेको अनुपातमा कर्जाको माग बढ्न सकेको छैन’, राष्ट्र बैंकका एक अधिकारीले भने।

Crest

ती अधिकारीका अनुसार हाल बैंकिङ प्रणालीमा १०० अर्ब अधिक तरलता रहेको छ। ‘बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ माथि हुँदा अधिक तरलता हुँदा स्थिति सामान्य हुन्छ’, ती अधिकारीले भने, ‘तर, अधिक तरलता १०० अर्ब हुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको र सोचेअनुसार कर्जा प्रवाह हुन नसकेको मान्न सकिन्छ। त्यसैले तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर पैसा तान्ने गर्छ।’

अर्कोतर्फ अन्तरबैंक ब्याजदर पनि ३ प्रतिशत आएपछि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले तरलता प्रशोचन गर्नुपर्ने नियम नै रहेको ती अधिकारीले बताए। ‘पछिल्लो १–२ दिन अन्तरबैंक ब्याजदर ३ प्रतिशत माथि पुगेको थियो तर फेरि अहिले ३ प्रतिशत तल झरेको छ’, ती अधिकारीले भने, ‘त्यसैले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पैसा तान्दैछ र तान्नेछ।’

माघमा निक्षेप र कर्जाको ब्याजदर घट्ने संकेतहरु मिलिरहेको पनि ती अधिकारीले बताए। ‘मुख्य कुरा आधारदर हो। आधारदरलाई प्रभाव पार्ने भनेको कस्ट अफ फन्ड अर्थात निक्षेपकर्तालाई दिने रेट हो’, ती अधिकारीले भने, ‘अहिलेको अवस्थामा बैंकहरु कस्ट अफ फन्ड बढाउने पक्षमा देखिँदैन।’

तरलता प्राप्त भएकोले निक्षेप तान्ने पक्षमा पनि बैंकहरु नदेखिएको ती अधिकारीले बताए। ‘त्यसैले निक्षेपको ब्याजदर पनि घट्ने देखिन्छ’, ती अधिकारीले भने, ‘यसको प्रभाव कर्जाको ब्याजदर पर्छ। त्यसैले कर्जाको ब्याजदर पनि घट्ने प्रस्ट संकेतहरु आइरहेका छन्।’

अहिले वाणिज्य बैंकहरुको औसत बेस रेट ९.७ प्रतिशत रहेको ती अधिकारीले बताए। ‘अघिल्लो महिना औसत आधारदर ९.९४ प्रतिशत थियो’, ती अधिकारीले भने, ‘अहिले घटेर ९.७ प्रतिशतमा झरेको छ। अब माघमा आधारदर अझै घट्ने सम्भावना छ।’

आधारदरमा २–३ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण हुने भएकोले अहिले कर्जाको ब्याजदर सिंगल डिजिटमा आउन सक्छ भन्नु निकै हतार हुने ती अधिकारीको भनाइ छ। ‘सरकारले तोकेको प्राथमिक क्षेत्रमा बैंकहरुले २ प्रतिशतभन्दा बढी प्रिमियम लिन पाउँदैनन्’, ती अधिकारीले भने, ‘तर, अन्य कर्जाको प्रिमियम बैंकहरुको छुट्टाछुटै हुन्छ।’

पुसको तुलनामा भने माघमा निक्षेप र कर्जाको ब्याजदर दुवै घट्ने सम्भावना रहेको ती अधिकारीले बताए।

एक वाणिज्य बैंकका सीईओले माघमा निक्षेप र कर्जाको ब्याजदर घटाउनै पर्ने अवस्था रहेको बताए। ‘निक्षेपकर्ताको लागत घटाउनुपर्ने अवस्था छ किनकि कर्जा लगानीले गति लिन सकेको छैन, सस्तैमा राष्ट्र बैंकलाई पैसा दिनुपर्ने अवस्था छ’, ती सीईओले भने, ‘त्यसैले ब्याजदर घट्छ।’

बैंकका सीईओहरुबीच अनौपचारिक रुपमा ब्याजदर घटाउने छलफल भइरहेको ती सीईओले बताए। ‘अधिकांश सीईओहरु ब्याजदर घटाउने पक्षमा छन्’, ती सीईओले भने।

त्यसो त माघमा ब्याजदर घटाउने सुरुआत एनआईसी एसिया बैंकले गरेको छ। यो बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशतमा झारेको छ। संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत कायम गरेको छ । पुस महिनामा संस्थागत निक्षेपमा ब्याजदर ६.६७ प्रतिशत थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS