काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले आज मंसिर ८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसेरा रिसेप्सन्समा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सो सभाले १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९ /८० मा कम्पनीले कमाएको मुनाफाबाट ३ करोड रुपैयाँ अर्थात् चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशत करसहितको बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी,सोही सभाले डाइनामिक हाइड्रो इनर्जीको नाममा रहेको चेपेखोला हाइड्रोपावर क्यासकेड आयोजना खरीद गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।