काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कात्तिक ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासनको मिति भने तय हुन बाँकी छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड छ । हकप्रद शेयर निष्काशन बाँडफाँडपश्चात चुक्ता पूँजी १ अर्ब ६५ करोड पुग्नेछ ।