काठमाडौं । निजी क्षेत्रकाे पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत पदबाट अप्रत्यासितरुपमा राजीनामा गरेका भारतीयमूलका चन्द्रशेखरण रामामुर्थीले अझैसम्म कुर्सी र कार्यकक्ष दुबै छाडेका छैनन् । बाहिर मिडियामा नायब प्रमुख कार्यकारी अधिकृत उपासना पाैडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएकाे जानकारी सार्वजनिक गरिए पनि सिइओकाे हैसियतमा रामामुर्थीले नै कम्पनी हाँकि रहेका हुन् ।
हिमालयन रिइन्स्याेरेन्सकाे नायब प्रमुख कार्यकारी अधिकृत पदमा पाैडेलभन्दा अनुभवी नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुर रहेपनि सञ्चालक समितिले उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेकाे थियाे । नियामक नेपाल बीमा प्राधिकरणले उपासना पाैडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिकाे स्वीकृती दिएर पाैडेलले असोज १५ गते पदभार ग्रहण गरेकाे सार्वजनिक जानकारीमा ल्याइए पनि काम भने रामामुर्थीले नै गरिरहेका हुन्।