IME Life
GBIME

सूचक प्रकाशनद्धारा दश साहित्यकार एकसाथ सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिर्जनाको खोजी र प्रतिभाको सम्मानलाई मूल मन्त्र बनाएको सूचक प्रकाशनले आफ्नो १५औं वार्षिकोत्सव भव्यरूपमा सुसम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र वरिष्ठ सञ्चारकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित संयुक्त रुपमा समर्पण गरिएको छ ।

त्यस्तै सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डाड्ड रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डाड्ड सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ ।

Crest

त्यसरी नै पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री नदीलाई कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा शिक्षाविद् एवम् समाजसेवी केदारनाथ श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीन कारणले उक्त कार्यक्रम विशेष रहेको दाबी गरे एक, कार्यक्रमको शुभारम्भ र समापन तोकिएको समयमा भएको दुई, सम्मानित अनुहारहरूमा युगौँ दलनमा राखिएका आधा आकाश धानेका महिलाहरूको बाहुल्यता र तीन, वक्ताहरूको सङ्क्षिप्त र सान्दर्भिक मन्तव्य । प्रभावहीन, बोझिलो र वाक्कलाग्दो मन्तव्य श्रवण गर्न नपरेकोमा उनी सन्तुष्ट देखिन्थे ।

राईले थपे हामी समावेशी प्रज्ञा प्रतिष्ठान बनाउने एक सूत्रीय अभियानमा दत्तचित्त छौँ भने सूचक प्रकाशन पनि समावेशिताको चाक्लो राजमार्गमा यात्रारत । तसर्थ कुनै न कुनै कुइनेटोमा हाम्रो भेट अवश्य हुन्छ भन्नेमा म विश्वस्त छु । कार्यक्रमका सहजकर्ता युवा कवि तथा गजलकार प्रकाश समीरको आग्रहको जवाफ दिँदै राईले विशुद्ध साहित्यिक कार्यक्रमका निम्ति प्रज्ञाका दुई सभाकक्ष लेखनाथ र पारिजात प्रेक्षालयको हलभाडाका हकमा पचास प्रतिशत सहुलियत दिने उद्घोष गरे ।

पुरस्कृत व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै साहित्यकार इल्या भट्टराईले लेखन पुरस्कारका निम्ति नभए पनि पुरस्कृत हुँदाखेरि गौरवान्वित अनुभूत भएको उल्लेख गरिन् । लेखकको नाउँमा स्थापित पुरस्कार ग्रहण गर्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

कार्यक्रम सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्ने सिलसिलामा सपना लामिछानेले उपस्थित, पुरस्कृत र सम्मानित सबैप्रति आभार ज्ञापन गरिन् ।अर्का कवि वसन्त नकर्मीले आफूभन्दा अग्रज साहित्यकारसामु उभिएर दुई शब्द राख्न पाएकामा सूचक प्रकाशनप्रति आभार व्यक्त गरे । सम्मानित साहित्यकारद्वय गीता कार्की र रेणुका सोलुले एकेक वटा कविता वाचन गरे ।

उपस्थित अतिथिहरूलाई स्वागत गर्ने सिलसिलामा प्रकाशनका अध्यक्ष दीपक भेटुवाल दीपसागरले आफूहरूले स्तरीय सिर्जना र सकारात्मक योगदान भएका स्रष्टाहरूलाई ओझेलमा पारी पहुँचवाला स्रष्टालाई उत्प्रेरित गर्ने सिन्डिकेटको सदा विरोध गरेको जिकिर गरे ।

राम्रोलाई राम्रो भन्न आँट गर्नुपर्ने बताउँदै उनले सत्ता र शक्तिको आडमा साहित्य, साहित्यिक सिर्जना र स्रष्टालाई अतिरञ्जित गर्ने प्रवृत्ति विरूद्ध खबरदारी गर्नु आफूहरूको अभीष्ट भएको अभिमत राखे । नेपाली समाजको परम्परागत संस्कृति, मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै जुनसुकै धर्म, पेसा, व्यवसाय र क्षेत्रका प्रतिभावान् व्यक्तिहरूको खोजी र प्रतिभाको यथोचित सम्मान गर्ने कार्यलाई सूचक प्रकाशनले आफ्नो दायित्वका रूपमा बुझेको उनको कथन थियो । तमाम साहित्यकार र साहित्यानुरागीको गरिमामय उपस्थितिप्रति उनले हार्दिक कृतज्ञता ज्ञापन गरे । साहित्यकार हिरण्यकुमारी पाठकको अध्यक्षतामा उक्त पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS