काठमाडौं । आज देशभर सार्वजनिक विदा दिने सरकारले घोषणा गरेको छ । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएसँगै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आज बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै शेयर बजार समेत बन्द हुनेछ । तर, कतिपय बैंक तथा वित्तीय संस्थाले आफ्नो केही शाखा कार्यालयहरु खोली सेवाग्राहीहरलाई सेवा प्रदान गर्नेछन् भने बीमा कम्पनीहरुले पनि बीमितहरुलाई सेवा भने प्रदान गर्नेछन् ।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको हो । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी इलाम २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।