नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी तथा १४ वटा निर्जिवन बीमा कम्पनी कार्यरत रही आफ्नो कारोबार गर्दै आईरहेका छन् । जीवन बीमा होस कि निर्जिवन बीमा त्यस कम्पनीमा रहने मध्यस्तकर्ता अभिकर्ताले कम्पनीलाई व्यवसाय ल्याउनमा ठूलो भूमिका खेलेको हुन्छ । अझ जीवन बीमामा अभिकर्ताको भूमिका धेरै नै महत्वपूर्ण हुन्छ ।
तत्कालिन श्री बीमा समिति हाल नेपाल बीमा प्राधिकरणले कुनै व्यक्ति कुनै कम्पनीको अभिकर्ता हुन चाहेमा कम्तीमा प्रवेशिका तहको परिक्षा उतीर्ण गरेको व्यक्तिले बीमा कम्पनीले दिने १७ घण्टाको तालिम (साधारणतया ४ दिने तालिम) मा सहभागीता जनाए अभिकर्ता इजाजत पत्र प्राप्त गर्ने प्रावधान छ । अभिकर्ता इजाजत पत्र सम्बन्धी परिक्षा र इजाजत शुल्कमा परिमार्जन गर्दै नियामकले तीन वर्षे अवधि र तीन हजार रुपैयाँ शुल्क निर्धारणको तयारी गरेको छ ।
हालसम्म अधिकांश बीमा कम्पनीले आफ्ना कर्मचारी र अनुभवी अभिकर्तामार्फत् अभिकर्तासम्बन्धी तालिम प्रत्यक्षरुपमा सञ्चालन गर्दै आएका छन् । केही बीमा कम्पनीले स्वचालित प्रणाली प्रयोगमा ल्याएर सूचना प्रविधिको माध्यमबाट भौतिक उपस्थिति बिना नै तालिम सञ्चालनको अभ्यास समेत शुरु गरिसकेका छन् । यी तालिमहरुमा अभिकर्ता भएर फिल्डमा खटिंदा सामना गर्नुपर्ने व्यवहारिक चुनौतीका विषयमा बिरलै प्रशिक्षण दिइन्छ । यसरी अभिकर्ताहरुलाई दिदैं आएको तालिममा धेरैजसो किताबी ज्ञान मात्रै समेटिएको छ । जबकि अभिकर्ता बीमा क्षेत्रमा अव्वल हुनको लागि बजारको व्यवहारिक पक्षको बारेमा प्रायः जसो कम्पनीले तालिममा समेटिएको पाइदैन ।
जीवन बीमा गर्ने बीमक तथा जीवन बीमा गराउने अभिकर्ताहरुले अझै पनि जीवन बीमा व्यवसायलाई पेशागत व्यवसायमा परिणत गर्न र गराउन सार्थक प्रयास गर्न नसकेको अनभूती हुन्छ । बीमा इजाजत पत्र जारी गरिएका र नविकरण गरिएका बीचको संख्यात्मक भिन्नताले यसको पुष्टी गर्छ । प्रायःजसो अभिकर्ता पेशालाई अंगाल्ने भन्दा पनि घरपरिवारका सदस्यको बीमा गर्दा प्राप्त हुने कमिशनवापतको रकमबाट लाभ लिनेमा ध्येय बोकेको पाइन्छ । यसो हुनुका पछाडी बीमा कम्पनी र अभिकर्ता स्वयम्ले पनि दीर्घकालीन लाभको सोंच राख्न नसक्नु मुख्य कारण हो ।
अभिकर्ता पेशाबाटै जीविका चलाउन सकिन्छ भन्ने विश्वासका साथ पूर्णकालीन अभिकर्ता भएर लाग्नेहरुको संख्या सीमित छ ।
बीमक र अभिकर्ताबीच निरन्तर सम्पर्क, संवाद, समन्वय, अन्तरकृया, पुनरताजगी तालिमको अभावमा व्यवसायीक अभिकर्ताको उत्पादन संभव हुँदैन ।बीमकले पनि प्रत्येक पटक बीमाशुल्क आम्दानी गरेर ल्याउने अभिकर्तालाई मात्र चासो, सम्मान् र प्रोत्साहन दिने प्रवृत्तिले पनि अन्यौलमा रहने नवप्रवेशीहरुलाई निरुत्साहित गरेको हुन्छ । अभिकर्ता इजाजत पत्र लिएकाहरुमध्ये अधिकांशले एक पटक मात्र व्यवसाय ल्याउने र त्यसपछि निष्कृय रहने प्रवृत्तिले निरन्तरता पाउने हो भने पेशागत रुपमा लागेको अभिकर्ता नै पलायन हुने अवस्था समेत आउन सक्छ ।
कम्पनीले हालसम्म पनि अभिकर्ता तालिमको विषयलाई गम्भीरतापूर्वक लिएकै पाइदैन । कम्पनीेले दिने १७ घण्टाको तालिम (४ दिने तालिम) र बेला बखतमा दिइरहने पुर्नताजगी तालिम बाहेक केही गरेको पाइएको छैन । कम्पनीले आफ्नो सबै खाले अभिकर्ताहरुलाई दिने एकैनासको तालिमले गर्दा पनि कोही कोही मात्र यस पेशालाई आफ्नो जीविकापार्जनको पेशा बनाउन सफल भएको देखिन्छ । अभिकर्ता तालिम पनि अभिकर्ताहरुले दिएको व्यवसायको मूल्याङ्कनको आधारमा र पाठ्यक्रम बनाई दिनुपर्ने अपरिहार्य भएको देखिन आएको छ । यसो नहुँदा अभिकर्ताले हाल गरिरहेको व्यवसाय अभिकर्ताहरुले व्यवहारिक भोगाई तथा सिकाईमा भर पर्न बाध्य भएको देखिन्छ । अझ भन्ने हो भने जुन अभिकर्ताको बजारमा राम्रो चिनाजानी तथा भोगाई धेरै छ त्यही मध्ये केही अभिकर्ताहरुले कम्पनीमा व्यवसाय दिन्छन् र अन्य पलायन वा अन्य रोजगारमा पलायन हुन्छन् ।
अभिकर्ता पेशालाई अझै सम्मानित तथा पेशागत बनाउनको लागि कम्पनीले अभिकर्ता तालिम दिने अभ्यासमा परिवर्तन गर्नुपर्ने देखिन्छ साथै सो तालिमलाई विशेष पाठ्यक्रम बनाई तालिम संचालन गर्ने देखिन्छ । कम्पनीले पनि अभिकर्ताहरुलाई दिने तालिमलाई ४ भागमा विभाजन गर्नुपर्ने आवश्यता मैले महशुस गरेको छु ।
- प्राथमिक तह अभिकर्ता तालिम
- माध्यमिक तह अभिकर्ता तालिम
- एडभान्स लेभल अभिकर्ता तालिम
- सुपर एडभान्स लेभल अभिकर्ता तालिम
बीमकले यो बाहेक पनि आफ्ना अभिकर्ताहरुलाई कम्पनी र बीमित प्रति किन र कसरी उत्तरदाीित्व हुने र बीमकको व्यवसायलाई अझ कसरी बिस्तार गर्न सकिन्छ त्यस विषयमा कम्पनीको उच्च व्यवस्थापन तथा राम्रो काम गरेका र राम्रो सुझाव दिन सक्ने अभिकर्ताहरुसँग निरन्तर सल्लाह र अन्तरकृया गर्नु अपरिहार्य हुन्छ । बीमितसग प्रत्यक्ष भेटेर र समाजसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले अभिकर्तासँगको अन्तरकृयाले विद्यमान र भावी चुनौतीको पहिचान गरेर समाधानका उपाय खोज्न सघाउँछ ।