काठमाडौं । नेपालमा संचालित सबै बीमा कम्पनीहरुले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पारी नेपाल बीमा प्राधिकरणमा पेश गर्ने आज अन्तिम दिन रहेको छ। प्राधिकरणले ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’ लाई संसोधन गर्दै अनिवार्य रुपमा वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पारी पेश गर्नै पर्ने व्यवस्था थप गरेको थियो ।
बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी संचालक समितिबाट स्वीकृत गराउनु पर्नेछ । यसरी सञ्चालक समितिबाट स्वीकृत भएको १५ दिन भित्रमा बीमा प्राधिकरणमा पेश गर्नु पर्ने भनिएको छ ।
सञ्चालक समितिले बनाएको वार्षिक नीति तथा कार्यक्रम र बजेटको प्रत्येक त्रैमासिक अवधिमा समिक्षा गर्नु पर्ने छ । यस्तो त्रैमासिक समिक्षा भएको मितिले ७ दिन भित्रमा बीमा प्राधिकरण समक्ष पेश गर्नु पर्ने छ ।
बीमा कम्पनीले वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसार आफुलाई सञ्चालन गर्नु पर्नेछ । जसमा क्यापिटल प्लानदेखि लिएर कर्मचारी भर्ना, नियुक्ति, बढुवाको योजना बनाउनु पर्नेछ । कम्पनीले प्रचलित निर्देशन र निर्देशिका अनुसार योजना बनाउनु पर्नेछ । कम्पनी व्यवस्थित रुपमा अगाडी बढ्न नीति तथा कार्यक्रमले मदत पुग्ने प्रधिकरणको तर्क छ।