काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।
त्यसैगरी जारी पूँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँड पश्चात बाँकी रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
उक्त आइपीओमा साढे ८ लाख बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ९५ लाख ८६ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व भुक्तानी सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।