काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो ।
बीमा कम्पनीहरुले ट्रिटी पुनर्बीमा, ऐच्छिक पुनर्बीमा ‘फ्याकल्टेटिभ पुनर्बीमा’ र बीमा पुलको पुनर्बीमा गर्न पाउने छन् । कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफुले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउनु पर्नेछ । यसरी जोखिम बहन गर्दा आफूले पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमाको व्यवस्था गर्नु पर्ने भएको छ ।
बीमकले पुनर्बीमा गर्दा जोखिमको विविधिकरण गर्नु पर्नेछ । बीमकले प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नु पर्नेछ । बीमकले प्रत्ये बीमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बीमाको व्यवस्था नगरी बीमालेख जारी गर्नु हुँदैन । बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउनु हुँदैन ।
बीमकले आफ्नो धारण निर्धारण गर्दा जोखिमको प्रकृति अनुसार आफ्नो खुदधारण न्युन गर्न सक्नेछ । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नु पर्नेछ र पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौवीस घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ ।
बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्नेछ । बीमले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख/प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बीमकको हकमा शुन्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुनु हुँदैन । जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिनेछ ।
निर्देशिकामा ट्रिटी पुनर्बीमा अन्तर्गत बीमकले प्रत्यक्ष हिस्सा पाँच वर्ष पछि शुन्यमा झार्नु पर्नेछ । बीमा कम्पनीले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरे पश्चात बाँकी रहेको हिस्साकव कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ ।
बीमा कम्पनीहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिवुटी बीमा तथा विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ बीमा बाहेक) बीमालाई दफा १८ को अधिनमा रही स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नु पर्नेछ । र त्यसरी प्रपात पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन ।
नेपाली नागरिकको बीमायोग्य हित रहेको विदेश स्थित सम्पत्तीको पनि नेपाली बीमा कम्पनीले बीमा गर्न पाउने भएका छन् । यसरी गरिएको बीमाको दाबी भुक्तानी स्वदेशी मुद्रामै हुनेछ । यस्तो बीमाको पुनर्बीमा समेत गर्न सकिनेछ । विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल प्राधिकरणमा सूचिकृत हुनुपर्नेछ । उनिहरुले प्राधिकरणले तोके अनुसार विवरण पेश गर्नु पर्नेछ ।
बीमा कम्पनीले नेटवर्थ, पुनर्बीमा जोखिमांकन, जोखिम खुद धारण क्षमता तथा समग्र वित्तीय क्षमता बमोजिम उपयुक्त पुनर्बीमा नीति तयार गरी लागु गर्नुपर्नेछ । बीमकले प्रत्येक आर्थिक वर्षको लागि गर्ने पुनर्बीमा सम्झौता (पुनर्बीमा ट्रिटी) को सुरक्षण पत्र (साइन स्लिप वा कभर नोट) को प्रमाणित सम्झौता क्रियाशिल भएको ६० दिन भित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ । तर फ्याकल्टेटिभ पुनर्बीमाको हकमा यो व्यवस्था लागु हुने छैन ।
बीमा कम्पनीले पुनर्बीमा गराउँदा जोखिमको पर्याप्त मात्रामा विविधिकरण हुने गरी पुनर्बीमा विविधिकरणको व्यवस्था गर्नु पर्नेछ । पुनर्बीमा विविधिकरण गर्दा जुनसुकै अवस्थामा निर्जीवन बीमकको हकमा सम्पुर्ण पोर्टफेलियो र प्रति पोर्टफेलियो दुबैको अधिकतम ६० प्रतिशत भन्दा बढी हुने गरी एउटै पुनर्बीमक सँग पुनर्बीमा गराउनु हुँदैन ।
पुनर्बीमाको विविधिकरणको लागि मुख्य लिडर पुनर्बीमकलाई कुल पुनर्बीमाको बढिमा ४० प्रतिशत सम्म र अन्य सहभागी पुनर्बीमकको हकमा प्रत्ये पुनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिनेछ ।
बीमकले आफुले जारी गर्ने प्रत्येक बीमालेख अन्तर्गत आफुले धारण गरेको अंशको जोखिम तथा वा पुनर्बीमा व्यवस्था अनुसार हुन आउने अधिक जोखिमको पर्याप्त मात्रामा महाविपत्ती पुनर्बीमा सम्बन्धी व्यवस्था गर्नु पर्नेछ ।
बीमकले पुनर्बीमा व्यवस्था गर्दा आफै वा पुनर्बीमा दलाल मार्फत पुनर्बीमा गर्न सक्नेछ । पुनर्बीमा दलाल मार्पत पुनर्बीमा गराउँदा त्यस्तो दाललको ख्याती क्षमता र अनुभवलाई समेत मध्यनजर राखी छनौट गर्नु पर्नेछ ।
बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताव लेनादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्नेछ । बीमकले पुनर्बीमा व्यवसाय समबन्धमा प्राधिकरणले तोके बमोजिम ढाँचामा प्रत्येक त्रैमास समाप्त भएको मितिले १५ दिन भित्र प्राधिकरणले तोकेको बमोजिम प्रणाली मार्फत विवरण तथा तथ्याङ्क पेश गर्नु पर्नेछ । बीमा कम्पनीले आफ्नो आन्तरिक लेखापरीक्षण गर्दा पुनर्बीमा सम्बन्धी लेखापरीक्षण गराउन पर्नेछ ।