काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलले वैशाख १९ गते मंगलबार बिहान बाँडफाँड गर्ने जनाएको छ ।
कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता नागरिक लगानी कोष रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ईक्राएनपी आईआर डबलबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुनिश्चतता रहको जनाउँदछ ।