काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिन २ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार वाणिज्य बैंकमा एकै दिन २ अर्बले निक्षेप वृद्धि हुँदा समस्त बैंकिङ प्रणालीमा निक्षेप वृद्धि भएको हो ।
चैत २५ गते बैंकिङ प्रणालीमा ५४ खर्ब ३५ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् चैत २६ गते निक्षेप बढेर ५४ खर्ब ३७ अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४७ खर्ब ९६ अर्ब रहेको छ ।
त्यस्तै कर्जा प्रवाह सामान्य बढेको छ । एक दिनको अवधिमा कर्जा प्रवाह १ अर्बले वृद्धि हुँदै ४८ खर्ब २४ अर्ब पुगेको छ जसमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ७८ अर्ब रहेको छ । वाणिज्य बैंकमा कर्जा प्रवाह सो दिन स्थीर हुँदा विकास बैंक र फाइनान्समा भने १ अर्बले कर्जा प्रवाह बढेको हो ।
सिडी रेसियो ८५ दशमलव ४५ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । यी दुवै सूचक अघिल्लो दिनको तुलनामा परिवर्तन भएको देखिएन ।